बिरुवा बेचेर मनग्गे आम्दानी

बिरुवा बेचेर मनग्गे आम्दानी

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगामकी डिलमाया पुनले बिरुवा बेचेर विदेश गएका श्रीमानले भन्दा बढी आम्दानी गर्छिन्। एक रोपनी पाखोबारीमा सुन्तला र कागतीका बिरुवा उत्पादन गरेर ४० वर्षीया डिलमायाले मलेसिया गएका श्रीमान कुलप्रसादको भन्दा बढी आम्दानी गर्न थालेकी हुन्। ‘उहाँको कमाइले आफ्नै ज्यान पाल्न ठिक्कै छ’, डिलमायाले भनिन् ‘मैले बिरुवा बेचेर तीन जना छोराछोरी पढाउने, घरखर्च चलाउने र ऋण तिरेँ। श्रीमानलाई घर फर्किएर नर्सरी विस्तार गरांै भनेकी छु।’

करिब तीन वर्ष बेनीको कालीपुलमा डेरी पसल सञ्चालन गरेकी डिलमाया रोजगारीका लागि लेबनान गएकी थिइन्। दुई वर्षे वैदेशिक रोजगार र डेरी व्यवसायमा असफल भएपछि डिलमायाले चार वर्षअघि नर्सरी स्थापना गरेकी थिइन्। गत वर्ष ३० रुपैयाँका दरले आठ हजार बिरुवा बेचेकी उनको डिलमाया नर्सरीमा १५ हजार सुन्तला र पाँच हजार कागतीका बिरुवा उत्पादन भएका छन्। यसपालि बिरुवाको मूल्य बढेर ४० पुगेकाले आम्दानी पनि बढ्ने अपेक्षा छ।

बिरुवा बेचेर वार्षिक साढे दुई लाख रुपैयाँ आम्दानी गर्ने डिलमायाले छिमेकी जोगबहादुर विश्वकर्माको प्रेरणामा नर्सरी सुरु गरेकी हुन्। २०४८ देखि नर्सरी गर्दै आएका ५० वर्षीय विक परिवारले छोराछोरी पढाउन र घरखर्च चलाउने पैसा जुटाउन बिदेसिनु नपरेको बताउँछन्।

आधा रोपनीमा फैलिएको विश्वकर्माको सुमन नर्सरीमा हाल १० हजार सुन्तलाका बिरुवा छन्। गत वर्ष १२ हजार बिरुवा बिक्री गरेका थिए। ‘छोराछोरी पढाउने, घरखर्च चलाउनेदेखि बिरुवा बेचेरै घरघडेरी जोडेको छु,’ जोगबहादुरले भने, ‘नर्सरीको आम्दानीले सन्तुष्ट छु। विदेश जान परेको छैन।’

चितवनमा १४ कठ्ठा जग्गा र काठमाडांैमा ९ आनाको घडेरी बिरुवा बेचेर भएको आम्दानीले जोडेको उनले बताए। उनले नर्सरीका साथै ६ रोपनीमा व्यावसायिक तरकारी खेतीसमेत गरेका छन्। तरकारी र बिरुवा बेचेर वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनले बताए। बेनी–जोमसोम सडकको गुइठेदेखि करिब २० मिनेट उकालो हिँडेपछि पुगिने पूर्व फर्किएको पाखोमा फगाम गाउँ छ।

गाउँमा सडक सुविधा पनि पुगेकाले तरकारी र बिरुवा बिक्री गर्न सहज छ। समुन्द्री सतहदेखि एक हजार चार सय मिटरको उचाइमा अवस्थित फगाम गाउँ नर्सरीका लागि उपयुक्त देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ म्याग्दीका प्रमुख सूर्य बरालले बताए।

जगबहादुर र डिलमायाको प्रगतिले गाउँका अरुलाई पनि नर्सरी व्यवसायमा आकर्षित बनाएको छ। तेजेन्द्र थापाले पाँच हजार बिरुवाको नर्सरी तयार पारेका छन्। दुर्गादत्त सुवेदी, नगेन्द्र पुर्जाले पनि नर्सरी स्थापना गर्न लागेको बताए। बीउ जमाएको डेढ वर्षमा सुन्तला र कागतीका बिरुवा तयार हुन्छ। असार महिना सुन्तलाजात बिरुवा रोप्ने उपयुक्त सिजन हो।

एकाइका प्रमुख बरालले फगामलाई सुन्तलाजात बिरुवाको स्रोत केन्द्रको रूपमा विकास गर्न लागिएको बताए। पानीको मुहान नजिकै भएकाले फगाममा नियमित सिँचाइ सुविधा छ। कृषकलाई स्थलगत तालिम, नर्सरीसम्बन्धी तालिमका साथै अनुदानको सुविधा दिन सकिने उनले बताए। स्वस्थ बिरुवा उत्पादन गर्न बीउ प्रयोग गरिने बोटमा रोग लागे नलागेको विषयमा परीक्षण गराइएको छ। सुन्तलाको बोट स्वस्थ भएको प्रमाणित भएमा यहाँको बिरुवाको बजार विस्तार हुने राष्ट्रिय फलफूल विकास केन्द्रका बागबानी विकास अधिकृत विष्णुप्रसाद गिरीले बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुन्तला जोनमा फगाम समेटिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.