बूढा मरै, भाषा सरै
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नुवाकोटको देवीघाटमा भाइभारदारलाई बोलाई भनेका थिए, ‘बूढा मरै भाषा सरै भन्छन्, सबैसामु सुनाएमा तिमीहरूले तिम्रा सन्तानलाई सुनाउला। तिम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउलान् र यस राज्यलाई थामेर खान सक्लान् भनी तिमीहरूलाई उपदेश दिन लागिरहेको छु।’ कान्तिपुर उपत्यका हान्नुअघिको गर्भरचनालाई पृथ्वी नारायणले भने, ‘हाम्रा मुमा तीनवटी हुन्। हामी तीन खोपीबाट पाँच पाण्डवका अवतार भएर जन्मेका थियौं। मेरो विवाह मकवानपुरमा भएको थियो। डोलालाई भने सुम्पिएको थिएन। एक दन्ताहाती र नौलाखी हिराको हार दिन्छौं भने डोलालाई लिएर जाऔंला दिन्न भने तरबार चलाएर पनि लिएर जाऔंला’ भनी उनलाई हाँक दिएर नेपाली राजाले चिन्लान् र पक्रलान् भनी स्याखुओडी राप्तीको तिरैतिर भानु ज्योतिषी र कुलानन्द ज्योतिषी र अरू घर थरहरू पनि साथै थिए। मैले चन्द्रागिरि आइपुगेपछि नेपाल कुन हो भनी सोध्दा पाटन, भादगाउँ र काठमाडौं भनेर देखाए। मेरो मनमा यी तीनै सहरको राजा हुन पाए हुन्थ्यो भन्ने आयो।’
पूर्वस्मृतिको आलोकमा उनले घतलाग्दा अर्ती दिएका थिए। त्यसमध्ये काजी अभिमानसिंह बस्न्यातले टिपेर राखेको १० पृष्ठको ‘दिव्योपदेश’ को जीर्ण पुस्तिका उनकै छोरा बखतबहादुरले जोगाएर राखेको भेटियो। त्यसैबेला नेपालमा प्रचारमा ल्याउन राणाहरूका आँखा छल्नुपर्दा इतिहासशिरोमणि बाबुराम आचार्यले सूर्यविक्रम ज्ञवालीमार्फत केही उपदेश नेपाली साहित्य सम्मेलन दार्जीलिङबाट १९९२ सालतिर छपाइदिएका थिए। २०१० सालमा पृथ्वीजयन्ती समिति बन्यो। बाबुराम आचार्य र योगी नरहरिनाथको सम्पादनमा दिव्योपदेशको आधिकारिक प्रति व्याख्यासहित प्रकाशन गरियो। तत्कालीन चल्तीबाट हराएकाले इतिहासशिरोमणिकै सुपुत्र पा. कृष्ण आचार्यले प्रचलित भाषामा परिष्कृत गर्नुभएको भाषामै दिव्योपदेशलाई उद्धृत गरिएको छ।
शाहवंशको अवसान भइसकेको छ, तर उनका उपदेश झन् सान्दर्भिक हुँदै आएका छन्। उनका देशभक्ति र राष्ट्रप्रेमले ओतप्रोत महावाणी नेपालको झन्डामा अंकित चन्द्र-सूर्यजत्तिकै अटल र अमर रहेका छन्। सानो गोरखाबाट सुरु भएको राज्य विस्तार पूर्वमा टिष्टादेखि काँगडा उत्तरमा दिगर्चादेखि गंगासम्म पुग्यो। यसले विशाल हिमाली राष्ट्रको निर्माताको सौर्य र पराक्रम, अनुभूति र अनुभवसिद्ध अर्ती मननयोग्य र श्रद्धायोग्य रहेको छ। ‘न्याय नपाए गोरखा जानू’ भनी प्रसिद्धि कमाएका रामशाहको सिद्धान्तअनुरूप ‘खुँडाले मात्र आर्जेको आफ्नो नठान्नू। जुन देशमा आफ्नो रीतिस्थिति चल्छ त्यो राष्ट्र स्थायी हुन्छ’ भनेर पृथ्वीनारायणले विस्तार गरेको राज्यको सभ्यता र संस्कृतिसमेत जगेर्ना गरे। त्यति मात्र होइन, दक्षिणका नौटंकी रागमा नभुलेर आफ्नै देशभित्रका खास गरेर उपत्यकाबाट नेवारी नाच मगाउनू भनी फरमान गरे।
हरेक पुस २७ ले एकता दिवसका रूपमा ‘सबै जातको फूलबारी हो।, चेतना भया’ को सन्देश छर्दै राष्ट्रकवि माधव घिमिरेको ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ जपिरहौं।
नेपाली सेनाका संस्थापक पृथ्वीनारायणको सैन्यकौशल कति उच्च कोटिको थियो भन्ने कुरा कामैले पुष्टि गरेको छ। उनले भनेका छन्, ‘लडाइँमा पनि प्रहार गर्ने तथा साथ दिने यी दुवै बराबर हुन्। जागिर दिँदा, बितलप दिँदा दुवैलाई बराबर दिनू। कदाचित ऊ मर्यो भने उसका छोरालाई खुँडा हान्ने नभएसम्म मरवट दिनू। खुँडा हान्ने भएपछि जागिर दिनू। राजाले विवेक राखिदिएमा देश-विदेशका सिपाहीहरू पनि आशा राखी आउने छन् र यसो भएमा तरबारिया सिपाहीलाई हात पार्न सकिन्छ।’ अझ थप्छन्, ‘सिपाहीलाई तिखारी राख्नू। तिखारी राखेका सिपाही कसैको मुलाहिजामा फस्दैनन् र आफ्नो काम फत्य हुन्छ।’ त्यसैगरी उनले ‘फलामको ढोका बनाई भञ्ज्याङ बन्द गर्ने किल्ला बनाएर रक्षा गर्न’ भनेका थिए।
त्यसैगरी उसैबेला ‘हिन्दुस्तान चतुर छ सतर्क बस्नू’ भनेका थिए। बरु जंगबहादुरले जंगे पिलर ठड्याएर सिमानाको रक्षा गर्ने प्रयास गरे। त्यसपछिका शासकहरूको हेलचक्रयाइँले सुगौली सन्धिको मूल प्रति नै गायब भएको छ। हिजोआज कालापानीलाई भारतको नक्सामा विलय गरेर नेपालको माटोमाथि धावा बोलेको छ। जुन कुराको भविष्यवाणी प्रकारन्तरले गरेका थिए भन्दा अर्घेलो हुँदैन। उनको अर्तीमा यसरी स्पष्ट छ, ‘यो नेपाल राज्य भनेको दुई ढुंगाबीचको तरुलजस्तो रहेछ। चीनका बादशाहसित ठूलो मित्रता राख्नू। दक्षिणका समुद्रका बादशाह चतुर छन्। हिन्दुस्थानलाई दबाइराखेको छ। हिन्दुस्थानीहरू जागे भने आफूलाई कठिन पर्ला भनी खोजी गर्न आउनेछ। सनिसर्पन हेरी गढी तुल्याई राख्नू भनी बाटाबाटामा भाँंजाहरू हाली राख्नू। एक न एक दिन त्यो बल आउनेछ।’
हाम्रै जीवनकालमा उनकै सन्तानका पालामा भएको राजतन्त्र पनि एउटा ज्वलन्त उदाहरण हो। पृथ्वीनारायणले लोकसम्मतिको सम्मान गर्दै ‘मेरो मनमा त विराज बखेतीलाई कज्याईं दिउँला भन्ने लागिरहेको थियो। तर ज्यादा बुद्धि कालु पाँडेकै ठहरियो र कालु पाँडेलाई कज्याएँ’ भनेका थिए। तर त्यसको ठीक विपरीत राजा ज्ञानेन्द्रले निर्वाचित सरकारलाई विघटन गरेर राजपाठ नै गुमाए।
उनले धर्मसंहितादेखि राष्ट्र निर्माण पद्धति राज्य सञ्चालन मात्र होइन, भ्रष्टाचार, राष्ट्रियता, परराष्ट्र, आर्थिक समृद्धि र भूउपयोगका सन्दर्भमा युगान्तकारी मार्गनिर्देशन दिएका छन्। जसको महत्व अपरिहार्य रहेको छ। ‘घुस दने र लिने दुवैथरी देशका महाशत्रु हुन्। कर्मचारीलाई धनदौलत कमाउन नदिनु’ त्यसै भनेका होइनन्। आज देशमा भ्रष्टाचारले यति गहिरो जरा गाडिसक्यो कि स्वयं अख्तियार निरूपण आयोगका अध्यक्षलाई नै संसद्ले महाअभियोग लागेको अवस्था छ। ‘भएका गाउँलाई हटाएर भए पनि खानी चलाउनू, अन्न फल्ने जमिनमा गाउँ नबसाल्नू डाँडामा सार्नू। राग तथा तानहरूको अभ्यास कसैले नगर्नू’ यस्ता थुप्रै उपदेशको मर्मलाई आत्मसात गर्न सकेको भए आज मुलुकले कसैको नाकाबन्दीबाट थर्कमान हुनुपर्ने थिएन। अन्नपात आयात गर्नुपर्ने थिएन। कहालीलाग्दो व्यापार घाटा व्यहोर्नुपर्ने थिएन।
कीर्तिपुरवासीको नाक काट्यो भनेर पृथ्वीनारायणको योगदानको नाक काट्ने कोसिस गरिएको छ त्यो पनि विदेशी लेखकबाट। नेपाली इतिहासकारले यो अतिशयोक्ति पूर्ण लाञ्छना चिर्दै केवल केहीलाई प्रतीकात्मक रूपमा नाकमा खत खोपेको भनेका छन्। उनी स्वयं युद्धमा घाइते भए। भाइ सुरप्रताप शाहका दुवै आँखा फोडिए। सेनापति कालु पाँडे मारिए। यतिविघ्न क्षति हुँदा पनि सामान्य प्रतिशोध हुनुलाई अनाहकमा निरपराधमा हजारौं जन मारिएको माओवादी जनयुद्धबाट पाठ सिक्न सकिन्छ। हरेक पुस २७ ले एकता दिवसका रूपमा ‘सबै जातको फूलबारी हो।, चेतना भया’ को सन्देश छर्दै राष्ट्रकवि माधव घिमिरेको ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ जपिरहौं।
प्रतिक्रिया दिनुहोस !