काठमाडौं विश्वविद्यालय दुई सातादेखि ठप्प
काठमाडौं : शिक्षक, कर्मचारी र व्यवस्थापनबीचको द्वन्द्वले दुई सातादेखि काठमाडौं विश्वविद्यालयको शैक्षिक, आर्थिक तथा प्रशासनिक काम ठप्प भएको छ। व्यवस्थापन र आन्दोलनकारी विवादले विश्वविद्यालयको स्कुल अफ ल, विज्ञान, इन्जिनियरिङ, व्यवस्थापन, मानविकीशास्त्र, शिक्षा र मेडिकल शिक्षाअन्तर्गतका सम्पूर्ण काम रोकिएको छ। यि सबै स्कुलका डिन कार्यालयमा पुस १६ गतेदेखि आन्दोलनकारीले ताला लगाएका छन्। उनीहरूले विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा पनि ताला लगाएका छन्।
ताला लगाएपछि सोही दिन प्रशासनले विश्वविद्यालयमा असहज परिस्थिति उत्पन्न भएको बताउँदै विद्यार्थीलाई अर्को सूचना नआउन्जेल पढाइ बन्द भएको जानकारी गराएको थियो। स्थापनाको तीन दशकमा विश्वविद्यालयमा भएको अहिलेसम्मकै यो सबैभन्दा ठूलो आन्दोलन हो। स्तरीय शिक्षाका कारण विद्यार्थी आकर्षित भइरहेकोमा आन्दोलनले विद्यार्थी अभिभावकमा गलत सन्देश जाने भन्दै विश्वविद्यालयका पदाधिकारीले चिन्ता व्यक्त गरेका छन्।
विश्वविद्यालयका स्कुल अफ म्यानेज्मेन्टका डिन प्राडा. विजय केसीले आन्दोलनकारीको माग पूरा गराउन पहल भए पनि ताला नखोलिएको बताए। आन्दोलनरत शिक्षक तथा कर्मचारीले ऐनमा व्यवस्था भएबमोजिम आफूहरूको सहमतिमा विश्वविद्यालय सभामा २ जना र कार्यकारी परिषद्मा एक जना सदस्य नियुक्त गर्नुपर्ने माग गरेका छन्। अहिले विश्वविद्यालयले शिक्षक कर्मचारीबाट प्रतिनिधित्व भएको देखाउन आफैं सभासद् नियुक्त गर्ने गरेको र त्यस्ता सभासद्ले प्राध्यापक कर्मचारीको हितमा नबोलेको विश्वविद्यालय प्राध्यापक संघका पूर्वसभापति विभूतिरञ्जन झाले बताए।
उनीहरूले विश्वविद्यालयमा क्रियाशील प्राध्यापक र कर्मचारी संघलाई कानुनी मान्यता दिनुपर्ने, लामो समयदेखि कार्यरत अस्थायी शिक्षक तथा कर्मचारीलाई नियुक्तिपत्र दिनुपर्ने, वृत्ति विकास गर्नुपर्ने र विश्वविद्यालयमा भएको आर्थिक तथा नीतिगत अनियमितताबारे छानबिन गर्नुपर्ने माग गरेका छन्। माग पूरा गर्ने विषयमा आन्दोलनकारी र प्रशासनबीच गत भदौ ३० गते सम्झौता भएको झाले बताए। ‘त्यतिखेर १५ दिनभित्र विश्वविद्यालयमा विशेष सभा बोलाएर माग पूरा गर्ने भनिएको थियो। तर आज १ सय १७ दिन हुँदा पनि माग पूरा गर्ने छाँट देखिएन,’ उनले भने।
प्रशासनले भने विश्वविद्यालयभित्र आन्दोलन गर्ने र माग पूरा गर्ने गलत प्रवृत्ति हाबी भएकाले पढाइमा बाधा उत्पन्न भएको दाबी गरेको छ। आन्दोलनकारीका माग पूरा गर्ने सम्बन्धमा छलफल गर्न माघ १३ गते विशेष सभाको मिति तोकेको छ। विश्वविद्यालयले प्रधानमन्त्री तथा कुलपति केपी ओलीसँग अनुरोध गरेर मिति तोकेको हो। तर सभा बसेर आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने झाले बताए। ‘विगतमा पनि यस्तो आश्वासन धेरै पटक आएको थियो। तर पूरा भएन,’ उनले भने, ‘यस पटक भने माग पूरा हुने सुनिश्चितता नभएसम्म आन्दोलन रोकिँदैन।’
विगतमा आन्दोलनकारीका माग पूरा गराउने विषयमा प्रशासनका तर्फबाट सहभागी भएका केसीले भने ताला खुलाउने विषयमा आन्दोलनकारीसँग छलफल भइरहेको बताए। आन्दोलनले धुलिखेलस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरका सम्पूर्ण काम रोकिए पनि बाहिर रहेका क्याम्पसमा भने अध्यापन भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !