रैथाने बालीको पकेट क्षेत्र
बेनी : म्याग्दी र मुस्ताङमा रैथान बालीको पकेट क्षेत्र बनाइएको छ। लोपोन्मुख अवस्थामा पुगेका बालीको आनुवांशिक स्रोत संरक्षणसँगै व्यवसायीकरण गर्न म्याग्दीका ६ र मुस्ताङका ५ स्थानीय तहमा पकेट क्षेत्र बनाइएको हो।
हावापानी र भूगोलअनुसार उपयुक्त हुने रैथाने बालीको खेती प्रवद्र्धन गर्न पकेट क्षेत्र निर्धारण गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। ‘रैथाने बालीको बीज वृद्धिसँगै विभिन्न परिकारका रूपमा उपभोग बढाउने उद्देश्यले रैथाने बालीको संरक्षण कार्यक्रम लागू भएको छ’, उनले भने, ‘परम्परागत रूपमा खेती भएका ठाउँअनुसार पकेट क्षेत्र निर्धारण गरेका छौं।’
म्याग्दीमा सिमी, बोडी, आलु, भागो, जुनेलो, ढकायो साग, फापर, कोदो, गहत, घैयाधान, लट्टेको पकेट क्षेत्र निर्धारण भएको छ। बेनी नगरपालिकाको भकिम्ली, डोले, मुसुङ, गान्धे, डढुवा, पात्लेखेत, वाखेत, ढोल्ठान, रघुगंगा गाउँपालिकाको पात्लेखर्क, रायखोर, दर्मिजा, चिमखोला, झिँ, टोड्के, भगवती, बेगलाई रैथाने बालीको पकेट क्षेत्र कायम गरिएको छ।
अन्नपूर्ण गाउँपालिकाको घार, हिस्तान नागी, राम्चे र नारच्याङ, मालिकाको सिस्नेरी, देवीस्थान, रुम, दिच्याम, दुखु र फुलबारीलाई पकेट क्षेत्रमा समेटिएको छ। मंगलाको झाँक्रिपानी, पूर्णगाउँ, हिदी, भर्जुजा, दापुङ, चाङ, किमचौर, भर्जुजा, पिपलबोट र रणबाङ तथा धवलागिरिमा मरेनी, गुर्जा, धवलागिरि राउन्ड र मुदीलाई रैथाने बालीको पकेट क्षेत्र निर्धारण गरिएको छ।
जनप्रतिनिधि, कृषि प्राविधिक र कृषकको उपस्थितिमा पकेट क्षेत्र निर्धारण गरिएको कृषि प्रसार अधिकृत पाण्डेले बताए। मुस्ताङमा तोरी, गहँु, कालो केराउ, उवा र डल्ले मूला, आलु, लसुन, मेथी, सिमी, लसुन, रोगसाग, तिते फापर, लट्टे र काडे मकै बालीको पकेट क्षेत्र बनाइएको छ।
लोमान्थाङ, चमजुङ, नेन्योल, फिस्लिङ, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको मराङ, चराङ, घिलिङ र सुरखाङ, बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको मुक्तिनाथ, कागबेनी, घरपझोङको धमाङ, मार्फा, ठिनी र थासाङको नाउरिकोट, छ्यो, नाकुम, बोक्सीखोला, लाजुङ र कुञ्जोलाई रैथाने बालीको पकेट क्षेत्रमा समेटिएको छ।
‘रैथाने बालीको संरक्षण तथा व्यवस्थापनका लागि २०७६/०७७ मा ५२ लाख ४० हजार रुपैयाँ बजेट आएको छ’, उनले भने, ‘लोपोन्मुख बालीको पहिचान, बीजवृद्धि, बीउ बैंक स्थापना, बजारीकरण र प्रदर्शनी गर्ने कार्यक्रम छ।’
प्रतिक्रिया दिनुहोस !