हिमपातले गुर्जा जोड्ने पदमार्ग अवरुद्ध
बेनी : पैदलमार्ग हिउँले पुरिएपछि म्याग्दीको दुर्गम र विकट क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका १ गुर्जामा आवतजावत ठप्प भएको छ । गत बिहीबारदेखि शनिबारसम्म लगातार भएको हिमपातले लुलाङ हुँदै गुर्जा जोड्ने पदमार्ग अवरुद्ध भएको हो । बाटोमा हिउँ थुप्रिएपछि माघ १ गतेदेखि गुर्जामा आवतजावत बन्द भएको वडा अध्यक्ष झक छन्त्यालले बताए ।
'गुर्जाबाट लुलाङ आउने र लुलाङबाट गुर्जा जाने एउटा मात्र पदमार्ग छ, उनले भने, 'त्यो पनि हिउँले बन्द गराएपछि जनजीवन कष्टकर भएको छ ।' लुलाङदेखि गुर्जा पुग्न जंगल, भिर र खोल्साको बाटोमा आठ घण्टा पैदल हिड्नुपर्छ ।
तीन सय पाँच सय मिटर उचाइको देउराली डाडा पार गर्नुपर्छ । लुलाङदेखि उपल्लो क्षेत्रमा हिड्नै नमिल्ने र बाटोनै नचिनिने गरी हिउँ जमेकाले गुर्जा जान नसकेर फर्किएको ताकममा रहेका जनकल्याण मावि गुर्जाका प्रअ रुपेश सुवेदीले बताए ।
'माघ १ गते गुर्जा जान भनेर लुलाङ पुगेको थिए । हिउँले बाटो पुरिएर त्यहाँ भन्दा माथि जान नसकेर फर्किए, उनले भने ,' आजसम्म हिउँ जमेको छ । नपग्लिएसम्म उताका उतै, यताका यतै हुने भइयो ।' गुर्जामा २५० घरधुरीको बसोबास छ । 
_20200119080308.jpg)
यसैबीच हिउँले विद्युतका पोल ढलाए पछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ स्थित पर्यटकीय बस्ती घोडेपानीमा विद्युत आपूर्ति बन्द भएको छ । बिहीबारदेखि अवरुद्ध विद्युत सूचारु नहुँदा टेलीफोन र मोवाइल सेवा पनि बन्द भएको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।
चित्रे, घान्द्रुक, उल्लेरी, मोहरेडाडा हुदै घोडेपानी जाने पदमार्ग पनि हिउँले पुरिएको छ । त्यसैगरी रघुगंगा गाउँपालिकाको भगवति, बेग चिमखोलाहुँदै चिमखोला जोड्ने सडक अवरुद्ध भएको छ । बेग र चिमखोलाको सिमानामा पर्ने डाडामा हिउँले सडक पुरिएपछि यातायात अवरुद्ध भएको ढुवानी व्यवसायी सञ्जय कुवरले बताए ।
चिमखोला, कुइनेमंगले क्षेत्रमा दैनिक उपभोग्य सामान र निर्माण सामग्री बोकेर गएका ट्याक्टर बीच बाटोमै रोकिएका छन् । विकास आयोजनाको काम प्रभावित भएको छ । हिमपातका कारण ३७ मेगावाट क्षमताको कुइनेमंगले राहुघाट जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माण रोकिएको छ ।
अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माणाधिन ११० मेगावाट क्षमताको निलगिरि र निलगिरि क्यासकेड जलविद्युत आयोजनामा पनि हिमपातले अवरोध गरेको प्रर्वद्धक निलगिरि हाइड्रो लिमिटेडले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस !