पर्सामा पोल्ट्री फार्म धमाधम बन्द हुँदै
वीरगन्ज : बजारमा बोइलर कुखुराको मुल्य लागतभन्दा पनि कम पाउन थालेपछि पर्सा जिल्लामा रहेका आधाभन्दा बढी पोल्ट्री फार्म बन्द भएका छन् । केही फार्म जेनतेन संचालनमा रहेपनि ती मध्ये अधिकांश बन्द हुने अवस्थामा पुगेको कुखुरा पालक किसान र व्यवसायीले बताएका छन् ।
कुखुरा व्यवसायी संघ पर्साका अनुसार पर्सा जिल्लामा अघिल्लो वर्षसम्म बोइलर कुखुराको करिब पाँच सय फार्म थिए । तर बजारमा जीउँदो कुखुराको भाउ लागेको लागतभन्दा पनि कम रहेकाले घाटा भएको भन्दै आधा भन्दा बढी (२५० भन्दा ढी) पोल्ट्री फाम बन्द भइरहेको संघका अध्यक्ष मुन्ना चौरसीयाले बताए।
'पोहोरसम्म झण्डै ५ सयको हाराहारीमा कुखुरा फार्म थिए , ती राम्रै चलेका थिए, उनी भन्छन्, 'तर गत साउनदेखि आधा भन्दा बढी फार्म बन्द भइसकेका छन्, अहिले जेनतेन चलिरहेका मध्ये पनि अधिकांश घाटा थेग्न नसकेर बन्द हुने अवस्थामा पुगेका छन् ।
दाना र चल्ला दुवैको भाउ निरन्तर बढिरहेको तर बजारमा कुखुराको भाउ भने घटदै गइरहेका कारण घाटा थेग्न नसकेर कुखुरा पालक किसान र व्यवसायीले फार्म बन्द गर्न बाध्य भएको अध्यक्ष चौरसीयाले बताए।
चार वर्ष पहिले कुखुराको भाउ केजीको १४० रुपैयाँ थियो , अहिले घटेर केजीको १२५ मा झरेको छ, उनी भन्छन्, ' तर दानाको भाउ चार वर्ष पहिले बोरा (५० केजी) को २२ सय ५० थियो अहिले बढेर ३२ सय ५० रुपैया पुगि सकेको छ। चल्लाको भाउ पनि ४० रुपैयाँबाट बढेर अहिले ८० रुपैयाँ पुगेको उनी बताउँछन् ।
'एक केजीको जीउँदो कुखुरा उत्पादनमा चल्ला ,दाना ,औषधि उपचार गरेर कुल लागत १८० रुपैयाँ लाग्छ, अध्यक्ष चौरसीया भन्छन्, 'तर बजारमा अहिले जिउँदो कुखुराको बिक्री दर केजीको १५५ रुपैयाँ मात्रै छ । १० दिन पहिलेसम्म त १२० रुपैयाँकै भाउमा बेच्नु परेको थियो।'
पर्साको अमरपटटीमा बन्द गरेपछि जीर्ण अवस्थामा पुगेको कुखुराको खोर। तस्बिर : क्रान्ति शाह
गत असोजदेखि यता मात्रै आफूले ८ लाख रुपैयाँ घाटा व्यहोरेको दुखेसो सुनाउँदै उनले भने, 'एक हजार कुखुरा पाल्दा कम्तीमा पनि दुई लाख घाटा खानु परेको छ।' उनी थप्छन् दानाको भाउ हरेक महिना बोरामा सय रुपैयाँले बढिरहेको छ, तर कुखुराको भाउ भने झर्दै गइरहेको छ , किसानले कति दिनसम्म घाटा खाएर बस्ने, त्यसैले धमाधम फार्महरु बन्द भइरहेका छन्।
पर्साकै विन्दवासीनी गापा ४ मधवलमा रहेको डिके पोल्ट्री फर्मका संचालक धर्मेन्द्र चौरसीयाले पनि ८ हजार गोटा कुखुरा पाल्न सक्ने क्षमताको ४ वटा खोर चार वर्ष पहिले बनाएका थिए । तर गत वर्षदेखि यता आठ लाख घाटा भएपछि उनले अहिले एउटा खोरमा मात्रै १ हजार चल्ला हालेका छन्।
बजारमा बेच्दा एउटा कुखुरामा ७० रुपैयाँ घाटा खानु पर्यो, उनले भने, ६ महिना यता मात्रै मैले आठ लाख घाटा सहेको छु, त्यसैले ३ वटा खोर खाली नै राखेको छु, अहिले १ हजार मात्रै चल्ला हालेको छु, लागत पनि नउठ्ने हो कि भन्ने डर लागि रहेको छ।
पोल्ट्री फर्ममा २५ लाख रुपैयाँ लगानी गरिसकेकाले पुरै बन्द गर्दा लगानी पनि खेर जाने भएकाले जेनतेन गरि पेशालाई निरन्तरता दिन बाध्य भएको धर्मेन्द्रले बताए। पर्साकै सतवरियाका कुखुरापालक किसान श्यामबाबू साहले दाना र चल्लाको मूल्य वृद्धि भएको तर ज्यूँदो कुखुरा पुरानै दर रेटमा बिक्री गर्दा घाटा भएकाले फार्म नै बन्द गरि दिएको बताए।
उनका अनुसार, सतवरिया गाउँमा मात्रै १० भन्दा बढी कुखुरा फार्म थिए । तर अहिले ती सबै बन्द छन् ।
कालिकामाई गाउँपालिकाको मुडली, भेडिहारीमा पनि दर्जनभन्दा बढी कुखुरा फार्म बन्द छन् । धोबिनी गाउँपालिकाको गुलरियामा १० मध्ये २ र भिखमपुर पिपरामा ६ मध्ये ४ वटा मात्र फार्म सञ्चालनमा छन्।
ग्रामीण कुखुरा व्यवसायी संघका अध्यक्ष बालकृष्ण श्रेष्ठ पनि लागत मूल्य अनुसारको मुनाफा हुनुको सट्टा उल्टै घाटा हुन थालेपछि कुखुरा पालक किसान र व्यवसायीले पोल्टी फार्म बन्द गरेको बताउँछन् ।
यसका साथै खुल्ला सीमाका कारण भारतबाट अवैधरुपमा आइरहेको भारतीय कुखुराका कारण पनि बजारमा नेपाली कुखुराले उचित भाउ पाउन नसकेको अध्यक्ष श्रेष्ठ बताउँछन् । उनले भने, 'भारतबाट चल्ला, कुखुरा आयातमा प्रतिबन्ध छ, तर खुला सीमाको कारण अनधिकृत रुपमा दिनहुँ भारतबाट कुखुरा भित्रिरहेको छ ।
केहि महिना पहिले सम्म पर्सामा उत्पादित कुखुरा काठमाण्डौको बजार सम्म पनि आपुर्ति हुदै आएको थियो, श्रेष्ठले भने ,‘ तर अचेल त्यहि प्रयाप्त परिमाणमा उत्पदान भइरहेकाले पर्साबाट कुखुरा जान नसकेकाले पनि यहाको बजारमा भाउ कम भएको हो ।
कुखुरा व्यवसायी संघ पर्साका अध्यक्ष चौरसीयाले कृषि कर्जामा सरकारले अनुदान दिने घोषणा गरेको भएपनि प्रक्रिया नै झण्झटी र जटिल भएका कारण त्यसको लाभ लिन नसकिएको गुनासो सुनाए।
सरकारले जीउदो कुखुराको बजार भाउ मात्रै तोकि दियो भने धेरै राहत हुन्थ्यो, उनले भने, 'यसका लागि हामी मन्त्रालय सम्म धायौ तर आश्वासन बाहेक केहि पनि पाएनौं, यदि अब पनि सरकारले भाउ तोकेन भने पोल्ट्री व्यवसाय धरायसी हुने निश्चित नै छ।
प्रतिक्रिया दिनुहोस !