पोखराका तालमा घटे चरा
पोखरा : रामसारमा सूचीकृत पोखराको फेवातालसहित ९ तालमा जाडो चल्न आउने पाउन चराको संख्यामा कमि आएको छ । विश्व सिमसार दिवस सन् २०१६ मा पोखराका ९ वटै ताललाई एउटै समूहमा राखी १९ माघमा रामसारमा सूचीकृत गरी अन्तर्राष्ट्रियकरण गरिएको थियो ।
अन्तर्राष्ट्रिय महत्त्वका फेवा, बेगनास, रुपा, खास्टे, कमलपोखरी, गुदे, निउरीनी, दिपाङ र मैदीमा पछिल्लो समय पाहुँना चरा आउने क्रम घटेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । पछिल्लो समय गरिएको जलपक्षी गणनामा पाउन चराको संख्या न्यून पाइएको हो । सिमसार र यो आसपासका क्षेत्रमा विचरण गर्ने, प्रजनन गर्ने, चराका प्रजाति सिमसार क्षेत्र पुरिँदै जाँदा संकटमा परेको उनले बताए ।
हिउँदयाममा चिसो बढ्दै गएपछि जाडो छल्न साइबेरिया, मंगोलिया, तिब्बतलगायतबाट पोखराका ताममा चरा आउने गर्छन् । पाँच÷सात वर्ष अघिसम्म मंसिर लाग्नेबित्तिकै सिमासार क्षेत्रमा चराको चहलपहल बढ्थ्यो । तर अहिले माघ महिना सुरु हुँदा पनि विचरणका लागि न्यून संख्यामा चरा आएको स्थानीय ज्ञानबहादुर जलारीले बताए ।
‘संरक्षण नहुँदा बर्सेनि ताल पुरिँदै गएका छन् । सिमसार क्षेत्र पनि सुक्न थाले । चरा विचरण गर्ने ठाउँमा भौतिक संरचना बनेका छन् । माछाको संख्यामा पनि कमी आएको छ । विचरण गर्ने स्थान र भोजन अभावकै कारण बर्सेनि चराको संख्या घट्न थालेको हो’, फेवा मत्स्य सहकारीका अध्यक्षसमेत रहेका जलारीले बताए ।
पोखरामा सबैभन्दा धेरै चरा पाइने फेवातालमा पनि अहिले विगतमा झैं चरा आउँदैनन् । २०७४ को हिउँदमा फेवातालमा गणना गर्दा ४२ प्रजातिका चरा भेटिएका थिए । तर हालैको गणना अनुसार तीन प्रजाति नै घटेको पाइएको छ ।
यस्तै २०७४ फागुन १ गतेको गणनामा आन्तरिक र पाउना चरा गरी ३१ सय २९ को संख्यामा विभिन्न प्रजातिका चरा फेला परेका थिए । तर गतवर्ष फागुन १ गते गरिएको गणनामा अघिल्लो वर्षको संख्या घटेर जम्मा १३ सय ५३ वटा मात्र भेटिएको चरा गाइड झलक चौधरीले बताए । पोखराको बेगनास, रुपा, मैदीलगायतका तालमा पनि चराको संख्या र प्रजाति घट्दै गएको छ ।
कास्कीको साविक लेखनाथ नगरपालिकाका ७ तालमा २०७२ मा २८ प्रजातिका चरा पाइएकोमा यो वर्ष घटेर २२ प्रजाति मात्र पाइएको छ । सबै क्षेत्रमा गरिएको गणनाबाट निस्केको तथ्यांक अनुसार केही वर्षमै ५० प्रतिशतले चराको संख्यामा कमी आएको पंक्षी समाज पोखराका अध्यक्ष घिमिरेले जानकारी दिए ।
खाष्टे तालमा त्यतिबेला ६ सयको संख्यामा विभिन्न प्रजातिका चरा देखिएका थिए । यो वर्षको गणनामा ४ सय ७२ मात्र देखिएको छ । यस्तै अवस्था अन्य तालमा पनि देखिएको उनले बताए । ‘कर्याकुरुङ आउनै छाड्यो, हुटिट््याङको संख्यामा कमी आयो’, उनले भने । पहँेल टाउके हाँस, सुन्जुरे हाँसलगातका चराका प्रजाति निकै कम देखिन थालेको चरा गणनामा सहभागीले बताएका छन् ।
विश्वमा ११ हजार ३२ प्रजातिका चरा पाइन्छन् । तीमध्ये ८ प्रतिशत अर्थात् ८ सय ८६ प्रजातिका चरा नेपालमा पाइन्छन् । पोखरामा मात्रै विभिन्न ४ सय ६३ प्रजातिका चरा पाइन्छन् । मानव जिवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने चराको संरक्षणका लागि ताल, तलैया, सिमसार क्षेत्र, खोलाको संरक्षण गर्न ढिला गर्न नहुने विज्ञ बताउँछन् ।
०००
पोखराको फेवातालमा चरा गणना गर्नु अघि तस्बिर खिचाउँदै चरा विज्ञ विद्यार्थी, चरा गाईड लगायत ।
०००
पोखराको फेवातालमा उड्दै गरेका चरा र गन्तब्यतर्फ जाँदै स्थानीय ।
कृष्णमणि बराल
प्रतिक्रिया दिनुहोस !