यी हुन् रातिको समयमा सक्रिय हुने जनावर

यी हुन् रातिको समयमा सक्रिय हुने जनावर

काठमाडौं : धेरैलाई लाग्दो हो, जनावरहरूले पनि दिनभरको गतिविधि सकेर रातको समयमा मान्छेले जस्तै थकाइ मार्छन्। अथवा दिनभर काम गरेर रात परेपछि घर जान्छन् र खाना खाएर सुत्छन् होला। तर केही जनावर यस्ता पनि हुन्छन्, जो दिनभर सुतेर वा आराम गरेर रातको समयमा मात्र सक्रिय हुन्छन्। जीविकोपार्जनका लागि रातको समयमा के काम गर्छन् त यी जनावरहरूले ? अन्य जनावरले आराम गरेको बेलामा काम गर्नुपर्दा यिनलाई असहज हुँदैन होला ? वा रातको समयमा सक्रिय रहनुपर्दा दिनभर थकाइ मार्न अन्य जनावरको हल्लिखल्लीले यिनलाई अप्ठ्यारो हुँदैन होला ?   

तर रातको समयमा सक्रिय हुने जनावरमध्ये केही जनावर दिनमा पनि सक्रिय रहन्छन्। नेपालको एक मात्र सदर चिडियाखानामा एक दर्जनभन्दा बढी प्रजातिका जनावर तथा चराहरू रातको समयमा मात्र सक्रिय हुन्छन्। यस्ता जनावरलाई रात्रिचर भनिन्छ। चिडियाखानाकी वरिष्ठ क्युरेटर (जनावरको व्यवस्थापन विज्ञ) रचना शाहका अनुसार रातको समयमा मात्र सक्रिय हुने जनावरहरू दिनभर आफ्नो बासस्थानमै रहन्छन्। ‘जब साँझ पर्छ। त्यसपछि यी जनावरहरू चहार्न वा खानाको खोजीका लागि हिँड्छन्’, शाहले भनिन्। साँझको समयमा सक्रिय हुने जनावरहरूलाई सोही व्यवस्थाअनुसार खानेकुरा दिने गरिएको छ।

चिडियाखानाको पछिल्लो तथ्यांकअनुसार यहाँ एक सय १२ प्रजातिका एक हजार ९८ वटा जनावर छन्। यो एक सय २० रोपनी क्षेत्रफलमा फैलिएको छ। विशेषगरी बाघ, बँदेल, गैंडा, हिप्पो, काठे भालु, चितुवा, चरी बाघ, नीर बिरालो, वन बिरालोलगायतका जनावर रातको समयम बढी सक्रिय हुन्छन्। त्यसबाहेक लाटोकोसेरो, विशेष प्रजातिको कागलगायतका पन्छी पनि रातको समयमा नै सक्रिय हुन्छन्। रातको समयमा जनावरहरू सक्रिय हुने भनेको विशेषगरी आहाराको खोजीकै लागि हो। आहारको खोजीमा टाढा टाढासम्म जानुपर्ने भएकोले यिनीहरूमा दिनमा सक्रिय हुने जनावरको तुलनामा सुन्ने र गन्ध थाहा पाउने क्षमता उच्च हुन्छ।

रातको समयमा हिँड्दा अँध्यारो स्थानमा पनि पुग्नुपर्ने भएकाले यिनीहरूको आँखाको क्षमता पनि अन्य जनावरको तुलनामा उच्च रहन्छ। आँखाभित्र रहने रेटिनाको बनावट समेत दिनको समयमा सक्रिय रहने जनावरको भन्दा फरक प्रकृतिको हुने गर्छ।

तर जनावरको हेरचाहको लागि चिडियाखानामा छुट्टै कर्मचारीको व्यवस्था गरिएको हुनाले यिनीहरूलाई भने आहाराको लागि दुःख गर्नु पर्दैन। वरिष्ठ क्युरेटर शाहले भनिन्, ‘रातमा सक्रिय हुने जनावरको लागि पनि साँझ पर्ने बित्तिकै आहारको व्यवस्था गरिन्छ। त्यसैले जंगलमा पाइने जनावरभन्दा चिडियाखानाको जनावरलाई रातको समयमा आहारा खोज्न दुःख पर्दैन।’

तर चिडियाखानामा रातको समयमा यस्तो जनावरको अवलोकन भ्रमण गर्ने व्यवस्था नभएका कारण सर्वसाधारणले यिनीहरूको गतिविधि हेर्न पाएका छैनन्। शाह भन्छिन्, ‘सर्वसाधारणलाई अवलोकनको व्यवस्था गर्न जनशक्ति व्यवस्थापनदेखि यहाँ आउनेहरूको रेखदेखमा समेत ध्यान दिनुपर्ने भएकोले समस्या भएको छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.