राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा ४ पदका लागि ८ जनाको उम्मेदवारी
जनकपुरधाम : प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा मुख्यमन्त्री मो. लालबाबु राउतले मत खसालेका छन्। प्रदेशको अस्थायी मुकाम जनकपुरधाम स्थित महेन्द्र नारायण मिथिला सांस्कृतिक भवनमा मुख्यमन्त्री लालबाबु राउतले ‘क’ मतगणना स्थलबाट पहिलो मत खसालेका हुन्।
निर्वाचन अन्तर्गत नगर प्रमुख र उपप्रमुख गरी २ सय ७२ जना र १ सय ७ प्रदेशसभा सदस्य गरी जम्मा ३ सय ७९ जनाले मतदान गर्दैछन्। राष्ट्रियसभा सदस्यका लागि नेकपाबाट राधेश्याम पासवान र तुलसा दाहाल, राजपाबाट मृगेन्द्र सिंह यादव र शेखर सिंह, कांग्रेसबाट नगिना यादव र भोला पञ्जियार तथा समाजवादी पार्टीबाट रामलाल पासवान र अनिरुद्र यादवले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रदेश २ बाट राष्ट्रियसभामा चार सिटमा नेकपा र राजपाले दुई–दुई सिटका लागि भागवण्डा गरेको छ । यसै गरी नेपाली कांग्रेस र समाजवादी पार्टीले पनि दुई–दुई सिटका लागि गठबन्धन बनाएको हो। प्रदेशसभाका १ सय ७ सदस्यमध्ये राजपा २५, नेकपाका ३२ गरी ५७ मत र स्थानीय तहका कुल २ सय ७२ प्रमुख–उपप्रमुखमध्ये नेकपाका ८३ र राजपाका ५४ गरी १ सय ३७ मत छ।
नेपाली कांग्रेसको १९ र समाजवादीको ३० गरी ४९ प्रदेश सांसद छन्। स्थानीय तहमा कांग्रेसका ८१, समाजवादीको ५२ गरी १ सय ३३ छन्। साथै जनता दलका २ जना प्रमुख–उपप्रमुख छन्।