अपर सोलु अलपत्र
शिखरजंग श्रेष्ठ
विराटनगर / सोलुखुम्बु : दुई महिनाअघि नै निर्माण सम्पन्न गरेर आन्तरिक परीक्षण प्रसारण सफल भइसकेको २३.५ मेगावाटको अपर (माथिल्लो) सोलु जलविद्युत् आयोजनाको विद्युत् उत्पादन र प्रसारण अलपत्र परेको छ।
सोलु करिडोरमा उत्पन्न अलमलका कारण राज्यले यति ठूलो आयोजनाबाट उत्पादन हुने विद्युत् प्रयोगमा ल्याउन सकेको छैन। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–७ मा आयोजनाको विद्युत् उत्पादन गृह छ। काम गत मंसिरमै सम्पन्न भए पनि राष्ट्रिय प्रसारण लाइनमा जोड्ने करिडोरमा भइरहेको ढिलाइले विद्युत् उत्पादन र प्रसारणमा अवरोध पुगिरहेको आयोजनाका प्रमुख कार्यकारी निर्देशक शशिसागर राजभण्डारीले जानकारी दिए।
‘अन्तरिक रूपमा परीक्षण गरेर आन्तरिक खपतका लागि विद्युत् उत्पादन पनि भइरहेको छ’, उनले भने, ‘तर बाहिर लैजानलाई पूर्णक्षमतामा बिजुली उत्पादन गर्ने वातावरण बनेको छैन।’
सरकारले अध्ययन गरेर निजी क्षेत्रलाई निर्माण गर्न दिएका ६ आयोजना (सुपर सिक्स) मध्ये अपर सोलु एक हो। करिडोरमा ढिलाइ भइरहँदा विकल्पका रूपमा थोरै भए पनि उत्पादित विद्युत् ३३ केभीए प्रसारण लाइनमा जोडेर लाम्माने–ओखलढुंगा–बुइपा–गाईघाट लैजाने योजना थियो। तर, यो योजना पनि सफल हुन नसक्दा समस्या भइरहेको आयोजनाका साइड प्रशासन प्रमुख बद्रीमान श्रेष्ठले बताए।
उनका अनुसार अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले प्रवद्र्धन गरेको र अतिप्रभावित स्थानीयबाट नमुना सहयोग प्राप्त भएको जलविद्युत् आयोजनाको काम ४ वर्षमा पूरा भएको हो। ३ वर्षमा सम्पन्न गर्ने भनिए पनि भौगोलिक जटिलता र २०७२ सालको भूकम्पका कारण १ वर्ष लम्बिएको थियो। आयोजनाको कन्स्ट्रक्सनको काम ‘सीई कन्स्ट्रक्सन’ले गरेको हो।
आयोजनाको तल्लो भागमा १ सय ७० मिटर लामो टनेल छ भने टनेलभित्र हाइ प्रेसर पाइप बिच्छ्याइएको छ। कुल ४.३ किलोमिटरको पाइपमध्ये तीन सय ९ मिटर लो प्रेसर र चार सय मिटर हाई प्रेसर संरचनामा पर्ने आयोजनाका साइड प्रशासन प्रमुख श्रेष्ठले बताए। विद्युत उत्पादनको धेरै सम्भावना बोकेको मध्ये सोलु खोलाको पानी नियन्त्रण गर्न ४.२ मिटर उचाइ र २६ मिटर लम्बाइको बाँध निर्माण गरिएको छ।
आवश्यक समयमा बाँधको पानी रोक्न र बढी हुँदा खोल्न तीन मिटर लामो दुईवटा गेट भएको ‘स्लुइस’ निर्माण गरिएको छ। २.५ मिटर ब्यास र १.९ मिटर उचाइका पेनस्टक पाइप छन्। आयोजनामा १.२ मिटर उचाइ र ४.३ मिटर लम्बाइका तीनवटा इन्टेक गेट बनाइएको छ।
आयोजनामा लक्ष्मी बैंकको नेतृत्वमा आठवटा बैंक र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको ७५ प्रतिशत लगानी छ। कम्पनीको इक्विटी २५ प्रतिशत छ।
लगानी डुब्ने जोखिम
करिब चार अर्ब ५० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भए पनि समयमै उत्पादन गर्न नसक्दा लगानी डुब्ने अवस्थामा रहेको आयोजनाका प्रमुख कार्यकारी निर्देशक राजभण्डारीले बताए। आयोजनाले पटक–पटकको दबाब र आन्दोलनपछि प्रभावित क्षेत्रका बासिन्दालाई प्रमोटर (संस्थापक) सेयर वितरण गरेको थियो। आयोजनाबाट अतिप्रभावित मानिएको सोलुदूधकुण्ड–७ साल्मेका बासिन्दाले गत आइतबार प्रादेशिक विद्युत् प्राधिकरणको कार्यालय विराटनगरमा ध्यानकर्षण समेत गराइसकेको प्रभावित क्षेत्र सरोकार समाज समितिका अध्यक्ष राजकुमार प्रधानले बताए।