शरीरमा पेट्रोल खन्याएर पत्नीको हत्या
सिरहा : शुक्रबार राति आठ बजेतिर औरही गाउँपालिका–५ औरहीकी २३ वर्षीया अनिता यादव घरमा खाना पकाउँदै थिइन्। त्यहीबेला पति विनोद यादवसँग घरायसी विवाद सुरु भयो। रिसको झोंकमा विनोदले अनिताको जीउमा घरमै राखेको पेट्रोल छर्किदिए। चुलोमा बलेको आगो उनी शरीरमा सल्कियो।
एकैछिनको आगोले उनको शरीर जल्यो। तत्कालै विनोदले उपचार गराउन विराटनगरेको म्याक्स अस्पताल पुर्याए। त्यहाँ उपचार सम्भव नभएपछि अनितालाई किर्तिपुरस्थित मोडल अस्पताल रेफर गरियो। आइतबार बिहान ३ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। गहुँ खेतमा मोटर चलाउन ल्याएको पेट्रोल छर्किदा खाना पकाउने चुल्होबाट सल्केको आगोबाट अनिता घाइते भएको विनोदले प्रहरीसमक्ष स्वीकारेका छन्। अनिताको मृत्युपछि उनका बुबाले ज्वाइँले हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्। विनोदलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको सिरहा प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए।
०६८ सालमा औरही गाउँपालिका–१ दरहिया गाउँकी अनितासँग विनोदको विवाह भएको थियो। बिहेको तीन वर्षपछि ०७१ सालमा उनी वैदेशिक रोजगारमा मलेसिया गए। आफूले विदेशमा कमाएको रुपैयाँ अनिताले माइतमा दिएको विषयमा विवाद हुँदै आएको थियो। गत कात्तिकमा तीन महिनाको लागि बिदामा घर आएका विनोदले गाउँका महेन्द्र यादवसँग एक महिनाअघि एक लाख ८० हजारको प्रतिकठ्ठाका दरले ४ कठ्ठा जग्गा किन्ने टुंगो लगाए।
स्थानीयकाअनुसार रकम अपुग भएपछि जग्गाधनिलाई तीन लाखको कपाली तमसुक विनोदले गरे। पत्नी अनिताकै नाममा जग्गा नामसारी गराए। त्यो रुपैयाँ तिर्न उनले गाउँकै रामअषिशसँग तीन लाख रुपैयाँ कर्जा लिए। घरमा ल्याएर पैसा राखे। त्यो पैसा लिएर अनिता माइत गइन। स्थानीय राजदेव यादवलगायतका व्यक्तिहरुले छलफल गरेपछि विनोदका ससुरा अशोक यादवले ३ लाख रुपैयाँ फिर्ता दिए। अनिता पनि घर फर्किइन्।
हिसाब हुँदा ६५ हजार ससुरामाथि विनोदको रुपैयाँ बाँकी रह्यो। त्यो रुपैयाँ ब्याजमा लगाइदिएको उनका ससुराले दाबी गरेका छन्। स्थानीयका अनुसार विनोद वैदेशिक रोजगारमा हुँदा आर्थिक कारोबार ससुरामार्फत नै गर्दै आएको थिए। ससुरामाथि गिरानी भएको पैसाको विषयमा पति–पत्नीबीच महिना दिनदेखि विवाद सुरु भएको थियो।
‘विनोद विदेश हुँदा अधिकांश समय अनिता माइतमै हुन्थिन्, विनोद विदेशबाट आएपछि अनिताले आफ्नो पति अरु महिलासँग सम्बन्धमा रहेको शंका गर्दै गुनासो गर्थिन्। यही विषयमा विवाद हुँदै आएको थियो’, एक स्थानीयले भने। अनिता र विनोदको ५ वर्षीय छोरा ओमप्रकाश छन्। आमाको मृत्यु र बुबा प्रहरी हिरासतमा पुगेपछि उनी मामाघर दरहियामा छन्। ‘घटनाको रात बुबाले ट्युसन सेन्टरमा पढ्न पुर्याए, पढेर घर फर्केपछि आमालाई देखेको छैन,’ ओमप्रकाशले भने।