घुम्टेको काखमा मूर्तिकला

घुम्टेको काखमा मूर्तिकला

बागलुङ : सहरमा अनाज पिस्ने कुट्ने आधुनिक मिल, मेसिन छन्। तर, गाउँका घरमा अहिले पनि अनाज पिस्ने ढुंगाका झाटो र ओखल छन् । सहर बजारमा चटनी पिस्ने छुट्टै उपकरण छन् । गाउँघरमा अझै चटनी, मरमसला पिस्ने ढुंगाकै सिलौटा प्रयोगमा छन् । 

तर, अहिलेका नयाँ पुस्तालाई गाउँघरमै कला प्रयोग गरेर दैनिकी सञ्चालनका लागि बनाइएका ढुंगाका झाटो, ओखल, सिलौटाहरु अपत्यारिलो कथा जस्तो लाग्न थालेको छ भने पुरानो पुस्ताका कला चिन्तक त्यो अभुतपूर्व मूर्तिकला लोप हुने भवस्थामा छन् । 

तीनै मूर्तिकलाका चिन्तक, सामाजिक अभियन्ताको पहलमा पुरानो राजाको दरबार रहेको ऐतिहासिक ठाउँ गलकोटमा मूर्तिकलाको पुर्नजागरण ल्याउने गरि अन्र्तराष्ट्रिय कार्यशाला आयोजना गरिएको छ।  

कार्यशालास्थल टेउवा ३ हजार १ सय १० मिटर उचाइमा रहेको पर्यटकीय लेक घुम्टेको तल पर्छ । सदरमुकाम बागलुङ बजारदेखि ५५ किमि मोटर यात्रामा टेउवा पुग्न सकिन्छ । टेउवा पुग्ने पर्यटकले ऐतिहासिक गलकोट दरबार, गाईघाट झरनालगायत आसपासका पर्यटकीयस्थल घुम्न सक्छन् । 

जिल्लाको गलकोटमा कलाको अनुसन्धान केन्द्र बनाउने महत्वकांक्षी लक्ष्यसहित अन्र्तराष्ट्रिय मूर्तिकला कार्यशाला गर्न लागिएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर राना बताउँछन् । गलकोट नगरपालिका ५ टेउवामा आउँदो फागुन ५ गतेदेखि २१ गतेसम्म हुने कार्यशालाको अहिले तयारी तीव्र छ । 

कार्यशालामा दश विदेशी सहित १५ मूर्तिकारले भाग लिनेछन् । मुर्तिकारले १५ दिनको अवधिमा १५ वटा आकर्षक मुर्ति बनाउनेछन् । तर, उनीहरुले ढुंगा कुँदेर बनाउने मुर्ति कुनै राजनीतिक नेता, धार्मिक देवीदेवता, भगवान र आँफ्ना बिदेशी संस्कृतिको बनाउन पाउने छैनन् । 

कार्यशालाका लागि दरमखोलाबाट ढुंगा संकलन गरिँदै। तस्बिर : अन्‍नपूर्ण

कार्यशालामा मानव सभ्यता, भेषभुषा लगायतका प्रतिकात्मक मुर्ति बनाइने गलकोट कला प्रतिष्ठानका अध्यक्ष रानाले जानकारी दिए । ‘यो हाम्रो बहृत्तर योजना हो, अहिलेको कार्यशाला शुभारम्भ हो,' उनले भने, 'तीन लाख रुपैयाँमा डिपिआर नै तयार गरेर १२ करोडको लागतमा गलकोटमा मूर्तिकलाको अनुसन्धान केन्द्र बनाउने गरि काम गर्ने योजना छ ।' 

पर्यटकीय सहर पोखरा र नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकलाई जोड्ने बीचको सेतुको रुपमा गलकोटमा मूर्तिकलालाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्न खोजिएको छ । 

अन्तराष्ट्रिय स्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ एवं कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताए । 

गलकोटमै जन्मेका मूर्तिकार खत्रीकै सोच र योजनामा कार्यशालाले मूर्त रुप लिन लागेको हो । कार्यशालाका लागि पूर्वाधार निर्माण र कच्चा पदार्थ सङ्कलनको काम दुई वर्ष अघिदेखि नै सुरु गरिएको थियो । कार्यशालास्थलमा सडक, शौचालय लगायतका संरचना बनिसकेका छन् । 

खानेपानी, बिजुली, सवारी राख्ने ठाउँ, वनभोज स्थल र तारबारको काम अन्तिम चरणमा पुगेको छ । मूर्ति बनाउन योग्य ढुङ्गाको खोजी र सङ्कलन पनि भइसकेको मुर्तिकार खत्रीले जानकारी दिए । 

कार्यशालाका लागि दुई टन भन्दा ठूला ३० वटा ढुङ्गाको जोहो गरिएको छ । पूर्वाधार तयारीका काममा हाल सम्म रु.एक करोड जति खर्च भइसकेको छ । कार्यशालाका लागि गत आर्थिक वर्षमा संघीय सरकारबाट रु.५० लाख र गण्डकी प्रदेश सरकारबाट रु.४० लाख बजेट छुट्टिएको थियो । 

कार्यशालास्थल निर्माणका लागि स्थानीयवासीले २५ रोपनी जग्गा निःशुल्क रुपमा प्रतिष्ठानलाई उपलब्ध गराएका थिए । अन्तराष्ट्रिय स्तरमा ख्याती आर्जन गरेका मूर्तिकारहरुले कार्यशालास्थलमै बसेर सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालय बनाएर राखिनेछ । कलाप्रेमीसहित सर्वसाधारणले पनि कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । मूर्तिकला सङ्ग्रहालय कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमीलगायतलाई अध्ययन, अनुसन्धानको केन्द्र समेत बन्नेछ । 

आयोजक गलकोट कला प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिनका लागि देश विदेशका गरी दुई सय ५ जना मूर्तिकारले आवेदन दिएकोमा ११ देशका १५ मुर्तिकार छानिएका थिए। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सह-प्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो । 

कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिनुहुनेछ । यस्तै जुनीचिरो सुगीमोतो (जापान), ल्यू याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को कार्यशालामा सहभागी हुनेछन् । 

'देश विदेशका मूर्तिकारका अमुल्य कलाकृतिहरु सङ्ग्रहित हुँदा यसले पर्यटकलाई पनि आकर्षित गर्छ, गलकोट समाजका पूर्वअध्यक्ष डा.दिनबहादुर थापाले भने, 'यसले गलकोट, बागलुङ जिल्ला, गण्डकी प्रदेश र सिंगो मुलुककै पृथक पहिचान दिनेछ ।' 

अघिल्लो वर्ष नै कार्यशाला गर्ने भनिएपनि बजेट अभावमा ढिलाइ भएको थियो । गलकोट नगरपालिकाले पनि कार्यशालाका लागि गत आर्थिक बर्षमा तीन लाख रुपैयाँ बजेट छुट्टाएको थियो । उक्त बजेटबाट विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइएको छ ।

कार्यशाला सम्पन्न गर्न थप एक करोड ४१ लाख बजेट लाग्ने आयोजकको अनुमान छ । यो वर्ष गण्डकी प्रदेश सरकारले ३० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट  दश लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा 'सागर' बाट पाँच लाख सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।

स्थानीयवासी पूर्ण काउचाले पाँच लाखसहित अन्य व्यक्तिले आर्थिक सहयोगको घोषणा गर्ने क्रम जारी छ । पूर्वाधार र कार्यशाला सञ्चालनमा कुल तीन करोड खर्च हुने जनाइएको छ । डेढ करोड रुपैयाँ कार्यशालामा मात्र खर्च हुनेछ । कलाकार ल्याउन, राख्न लाग्ने सबै खर्चको व्यवस्थापन प्रतिष्ठानले गर्नेछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.