घुम्टेको काखमा मूर्तिकला
बागलुङ : सहरमा अनाज पिस्ने कुट्ने आधुनिक मिल, मेसिन छन्। तर, गाउँका घरमा अहिले पनि अनाज पिस्ने ढुंगाका झाटो र ओखल छन् । सहर बजारमा चटनी पिस्ने छुट्टै उपकरण छन् । गाउँघरमा अझै चटनी, मरमसला पिस्ने ढुंगाकै सिलौटा प्रयोगमा छन् ।
तर, अहिलेका नयाँ पुस्तालाई गाउँघरमै कला प्रयोग गरेर दैनिकी सञ्चालनका लागि बनाइएका ढुंगाका झाटो, ओखल, सिलौटाहरु अपत्यारिलो कथा जस्तो लाग्न थालेको छ भने पुरानो पुस्ताका कला चिन्तक त्यो अभुतपूर्व मूर्तिकला लोप हुने भवस्थामा छन् ।
तीनै मूर्तिकलाका चिन्तक, सामाजिक अभियन्ताको पहलमा पुरानो राजाको दरबार रहेको ऐतिहासिक ठाउँ गलकोटमा मूर्तिकलाको पुर्नजागरण ल्याउने गरि अन्र्तराष्ट्रिय कार्यशाला आयोजना गरिएको छ।
कार्यशालास्थल टेउवा ३ हजार १ सय १० मिटर उचाइमा रहेको पर्यटकीय लेक घुम्टेको तल पर्छ । सदरमुकाम बागलुङ बजारदेखि ५५ किमि मोटर यात्रामा टेउवा पुग्न सकिन्छ । टेउवा पुग्ने पर्यटकले ऐतिहासिक गलकोट दरबार, गाईघाट झरनालगायत आसपासका पर्यटकीयस्थल घुम्न सक्छन् ।
जिल्लाको गलकोटमा कलाको अनुसन्धान केन्द्र बनाउने महत्वकांक्षी लक्ष्यसहित अन्र्तराष्ट्रिय मूर्तिकला कार्यशाला गर्न लागिएको गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर राना बताउँछन् । गलकोट नगरपालिका ५ टेउवामा आउँदो फागुन ५ गतेदेखि २१ गतेसम्म हुने कार्यशालाको अहिले तयारी तीव्र छ ।
कार्यशालामा दश विदेशी सहित १५ मूर्तिकारले भाग लिनेछन् । मुर्तिकारले १५ दिनको अवधिमा १५ वटा आकर्षक मुर्ति बनाउनेछन् । तर, उनीहरुले ढुंगा कुँदेर बनाउने मुर्ति कुनै राजनीतिक नेता, धार्मिक देवीदेवता, भगवान र आँफ्ना बिदेशी संस्कृतिको बनाउन पाउने छैनन् । 
कार्यशालाका लागि दरमखोलाबाट ढुंगा संकलन गरिँदै। तस्बिर : अन्नपूर्ण
कार्यशालामा मानव सभ्यता, भेषभुषा लगायतका प्रतिकात्मक मुर्ति बनाइने गलकोट कला प्रतिष्ठानका अध्यक्ष रानाले जानकारी दिए । ‘यो हाम्रो बहृत्तर योजना हो, अहिलेको कार्यशाला शुभारम्भ हो,' उनले भने, 'तीन लाख रुपैयाँमा डिपिआर नै तयार गरेर १२ करोडको लागतमा गलकोटमा मूर्तिकलाको अनुसन्धान केन्द्र बनाउने गरि काम गर्ने योजना छ ।'
पर्यटकीय सहर पोखरा र नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकलाई जोड्ने बीचको सेतुको रुपमा गलकोटमा मूर्तिकलालाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्न खोजिएको छ ।
अन्तराष्ट्रिय स्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ एवं कार्यशाला मूल समारोह समितिका संयोजक मूर्तिकार ओम खत्रीले बताए ।
गलकोटमै जन्मेका मूर्तिकार खत्रीकै सोच र योजनामा कार्यशालाले मूर्त रुप लिन लागेको हो । कार्यशालाका लागि पूर्वाधार निर्माण र कच्चा पदार्थ सङ्कलनको काम दुई वर्ष अघिदेखि नै सुरु गरिएको थियो । कार्यशालास्थलमा सडक, शौचालय लगायतका संरचना बनिसकेका छन् ।
खानेपानी, बिजुली, सवारी राख्ने ठाउँ, वनभोज स्थल र तारबारको काम अन्तिम चरणमा पुगेको छ । मूर्ति बनाउन योग्य ढुङ्गाको खोजी र सङ्कलन पनि भइसकेको मुर्तिकार खत्रीले जानकारी दिए ।
कार्यशालाका लागि दुई टन भन्दा ठूला ३० वटा ढुङ्गाको जोहो गरिएको छ । पूर्वाधार तयारीका काममा हाल सम्म रु.एक करोड जति खर्च भइसकेको छ । कार्यशालाका लागि गत आर्थिक वर्षमा संघीय सरकारबाट रु.५० लाख र गण्डकी प्रदेश सरकारबाट रु.४० लाख बजेट छुट्टिएको थियो ।
कार्यशालास्थल निर्माणका लागि स्थानीयवासीले २५ रोपनी जग्गा निःशुल्क रुपमा प्रतिष्ठानलाई उपलब्ध गराएका थिए । अन्तराष्ट्रिय स्तरमा ख्याती आर्जन गरेका मूर्तिकारहरुले कार्यशालास्थलमै बसेर सिर्जना गरेका मूर्तिकलाका कृतिहरु सङ्ग्रहालय बनाएर राखिनेछ । कलाप्रेमीसहित सर्वसाधारणले पनि कार्यशालाको प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् । मूर्तिकला सङ्ग्रहालय कलाकार, अनसुन्धानकर्मी, विद्यार्थी, कलाप्रेमीलगायतलाई अध्ययन, अनुसन्धानको केन्द्र समेत बन्नेछ ।
आयोजक गलकोट कला प्रतिष्ठानका अनुसार कार्यशालामा भाग लिनका लागि देश विदेशका गरी दुई सय ५ जना मूर्तिकारले आवेदन दिएकोमा ११ देशका १५ मुर्तिकार छानिएका थिए। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय ललितकला विभागका सह-प्राध्यापक हृदयबल्लभ पाण्डेसहितको विज्ञ समूहले मूर्तिकारको छनोट गरेको हो ।
कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले भाग लिनुहुनेछ । यस्तै जुनीचिरो सुगीमोतो (जापान), ल्यू याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को कार्यशालामा सहभागी हुनेछन् ।
'देश विदेशका मूर्तिकारका अमुल्य कलाकृतिहरु सङ्ग्रहित हुँदा यसले पर्यटकलाई पनि आकर्षित गर्छ, गलकोट समाजका पूर्वअध्यक्ष डा.दिनबहादुर थापाले भने, 'यसले गलकोट, बागलुङ जिल्ला, गण्डकी प्रदेश र सिंगो मुलुककै पृथक पहिचान दिनेछ ।'
अघिल्लो वर्ष नै कार्यशाला गर्ने भनिएपनि बजेट अभावमा ढिलाइ भएको थियो । गलकोट नगरपालिकाले पनि कार्यशालाका लागि गत आर्थिक बर्षमा तीन लाख रुपैयाँ बजेट छुट्टाएको थियो । उक्त बजेटबाट विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइएको छ ।
कार्यशाला सम्पन्न गर्न थप एक करोड ४१ लाख बजेट लाग्ने आयोजकको अनुमान छ । यो वर्ष गण्डकी प्रदेश सरकारले ३० लाख, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको निर्वाचन क्षेत्रको बजेटबाट दश लाख र प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा 'सागर' बाट पाँच लाख सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।
स्थानीयवासी पूर्ण काउचाले पाँच लाखसहित अन्य व्यक्तिले आर्थिक सहयोगको घोषणा गर्ने क्रम जारी छ । पूर्वाधार र कार्यशाला सञ्चालनमा कुल तीन करोड खर्च हुने जनाइएको छ । डेढ करोड रुपैयाँ कार्यशालामा मात्र खर्च हुनेछ । कलाकार ल्याउन, राख्न लाग्ने सबै खर्चको व्यवस्थापन प्रतिष्ठानले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस !