झापासँग जोडिएको सडक तथा साइकल संस्कृति

झापासँग जोडिएको सडक तथा साइकल संस्कृति

तराई नेपालको समथर र उब्जनीयुक्त भूभाग । यहाँका सहर, बढ्दो नगरोन्मुख आबादी, देहात र गामहरू । प्रमुख औद्योगिक सहरहरू, भारतसँग जोडिएका प्रमुख आर्थिक नाकाहरू । ‘तराई’ एऊटा सक्रिय अर्थतन्त्र र देशकै आर्थिक आधारभूमि हो । यहाँ रहेका आदिवासी जनजीवन र जंगल यसका सुन्दरता । तराईको जनजीवनसँग प्रत्यक्ष जोडिएको जीवन्त र गतिमय साइकल संस्कृति । दशकौंदेखि यहाँका घरघरको आवश्यकता बनेको साइकल यस्तो यातायातको आधारभूत साधन रहेको थियो, जसले हरेक उमेर, लिंग, पेसा र वर्गलाई सक्रिय र सबल गर्न ठूलो योगदान दिएको छ । धनी गरिब, लिंग र वर्गको विभाजनभन्दा पर, समाज र सँगसँग जोडेर सहज र सुन्दर समाजका लागि यसको भूमिकाबारे सायदै अध्ययन भएको छ ।

तराईलाई जोडेर गएको ‘पूर्व–पश्चिम’ राजमार्गले यहाँका धेरै सहरका बस्ती यसै राजमार्गकै छेउछाउमा छन् । सडकलाई मूलधारमा राखेर सहर र बस्ती विस्तार भइरहेका छन् । त्यस्तै पूर्वीतराई पनि । झापाका काँकडभिट्टा, मेचीनगर, बिर्तामोड, चारआली, धरमपुर, कन्काई नगरपालिका, दमक नगरपालिका त्यस्तै भद्रपुर, चन्द्रगढी । मोरङको उर्लाबारी, बेलबारी, इटहरी, इनरुवा ।

देशमा राजनीतिक परिवर्तनसँगसँगै सडकमा पनि परिवर्तनको अनुभूति गरिएको छ । सडक विस्तार र निर्माण जति बढेको छ त्यत्तिकै बढेका छन् बस्ती पनि । सहरीकरणले सडकको आर्थिक र सामाजिक योगदानको स्पष्ट अनुभूति हुन सकेको छैन । सडक निर्माणकै लागि भएका वन फडानी (विशेष गरेर चारकोसे झाडी), वातावरण प्रदूषण, सडक दुर्घटना, ट्राफिक समस्या र आर्थिक परनिर्भरताले बिकराल रूप लिइरहेको छ । कैयन् सडक चौडा बनिसके पनि फुटपाथ, पैदलयात्रीमैत्री र साइकलमैत्री सडक भने त्यति बनेका छैनन् । प्रदेश १ मा गत आर्थिक वर्ष ०७५÷०७६ मा १२९८ सवारी दुर्घटनामा परी ३७६ जनाको मृत्यु भयो भने ९३४ जना गम्भीर घाइते भए । दुर्घटना घटाउनेतर्फ कुनै पहल भएको छैन ।

हरेक वर्ष यहाँका सहर, नगर विस्तार हुँदै जाँदा थपिएका सडक बाटासँगै तीव्र गतिमा थुप्रिँदै गरेका सवारीसाधन, मोटरसाइकलले सडक र सहरको प्रारूपमा दिगो विकास र यातायात सम्बन्धबारेमा सोच्न बाध्य पारेको छ । सडकले दिएको विकास त छँदैछ, सँगसँगै आएको तीव्र विनाशको कहानी हरेक सहर, नगर र गाउँले थेगिरहनुपरेको छ । सडक यातायातले ल्याएका सुविधासँगै द्विविधाका चाङ पनि थपिँदै छन् । वायुविनाको जीवनको कुनै सम्भावना छैन । त्यही वायु झनै प्रदूषित हुन थालेको छ । यसमा प्रमुख रूपमा सवारी यातायातले निकाल्ने धुवाँ र उडाउने धुलो नै प्रमुख कारण हुन् । कोलाहल, अव्यवस्था र व्यस्तता सहरको अर्को बाइप्रोडक्ट परिणति हुन् । हिजोआज स्वच्छ हावा खान र शान्ति खोज्न मानिसहरू सहरभित्र हैन, बाहिर निस्कने गर्छन् ।

सडकको परिभाषा कार, मोटरगाडीका लागि भन्दा पनि पर आम मानिसको जनजीवनसँग जोडिएर हेर्नुपर्छ । आम मानिसलाई सहजभन्दा असहज, असुरक्षित, अमानवीय र अप्राकृतिक सडक, बाटा यो समयको माग र गति होइन ।

झापा जिल्ला

झापाको जनसंख्या ९ लाख । ५३ प्रतिशत महिला । ८ वटा नगरपालिका र ७ गाविस । झापामा प्रशस्त सडक बने पनि गतिलो फुटपाथ र साइकल लेन नराखिँदा यसले सरकारी नेतृत्व गर्नेहरूको साँघुरो मनस्थिति स्पष्ट झल्काउँछ ।

बिर्तामोड नगरपालिकामा फुटपाथको हालत दयनीय छ । प्रमुख ठूला व्यापारिक कम्प्लेक्स, मलहरूका पार्किङ एरिया नै फुटपाथ र सार्वजनिक स्थल बनेका छन् । तिनका अगाडि जथाभावी पार्किङ गरिरहेका मोटरसाइकल, कार र गाडीले हिँड्न त सकस छ नै; खाल्डाखुल्डीले मुख बाएर बसेको पाइन्छ । गत भदौमा त खुला छाडिएको नालमा डुबेर स्थानीय ६५ वर्षीया वृद्धाको निधन भयो तर सरोकारवालाको ध्यान जान सकेन । निर्माणाधीन लगभग १३ किमिको बिर्तामोड—चन्द्रगढी सडकमा पाँच किमिजति चार लेनको बनिरहेको छ । यसमा साइकल लेन राख्न सकिन्छ ।

हाल दुई लेनको मेची राजमार्गअन्तर्गतको चारआलीदेखि केचनासम्मको लगभग ४० किमिमा चार लेनको सडक विस्तार निर्माणको डीपीआर बनाइँदै छ । यसमा साइकल लेन र गतिलो फुटपाथ राख्दा कसैलाई हानि हैन सहयोग नै हुन्छ । क्षेत्रफल र जनसंख्याका हिसाबले जिल्लाको सबैभन्दा ठूलो मेची नगरपालिकाले साइकलमैत्री नीति यस वर्षको बजेटमा राखिएको भनिएको छ, तर अवधारणा र कार्यक्रमबिनाको नीति कागजी कर्मकाण्डी मात्र । साइकल लेन र पूर्वाधार निर्माणबारे बजेट मौन छ । कन्काई नगरपालिकाका मेयरले साइकल लेनबारे थोरबहुत चासो राखेका पाइन्छ । तर चासो मात्र हैन, कार्ययोजना र स्पष्ट दृष्टिकोण आवश्यक छ ।

झापा गाउँपालिकाका अध्यक्ष राजनारायण साहले चुनाव जितेपछि साइकल लेनको महत्व बुझ्दै गाउँपालिकामा साइकल लेन बनाउने घोषणा गरेका थिए । हाल उनको कार्यकाल दोस्रो वर्षबाट तेस्रोमा पुग्दा साइकल लेनको कुरा कता हरायो, अत्तोपत्तो छैन ।

दमक नगरपालिका

महेन्द्र राजमार्ग ६.७८ किमि, सहायक राजमार्ग ६.५ किमि, पक्की कालोपत्रे सडक ५८.२ किमि, ग्राभेल सडक ३२० किमि, कच्ची सडक १४२.११ किमि, मूल बाटो ( भिलेज ट्र्याक) ५४.६१ किमि गरी जम्मा ५८८.२ किमि सडक बाटो । लगभग एक लाख जनसंख्या रहेको दमकमा २२४३९ घरधुनी रहेकोमा ४५५ अर्थात् १०६७६ घरधुरीका २५ फिटभन्दा चौडा सडकमा पहुँच छ भने ९२१८ घरधुरी अर्थात् ४१.०८५ को पहुँच १४ देखि २५ फिटसम्मको चौडा सडकको पहुँच पुगेको छ । यसरी ८६.०८५ घरधुरीमा सडकको राम्रो पहुँच छ । सबैको पहुँच यातायातको सुविधाका लागि कार, मोटरगाडी र बाइकमा छ, तर अधिकांशको छैन । साइकल किन्ने क्षमता सबैले राख्छन् । अतः सडकमा साइकलमैत्री, ह्लिचियरमैत्री, पैदलमैत्री कतिको छ त ?

सवारी साधनमुक्त दमकको ‘नमुना बजार’

दमक ११ को पुरानो बजार । लगभग ५० वर्ष अगाडिदेखि धुलिखेलका नेवार र मारवाडी व्यापारीले बसाएको दमकको सबैभन्दा पुरानो बजार हो । दमक नेवाः समाजको पहलमा राखिएको यसै बजारको बीचमा शंखधर चोक छ ।

बजारको लगभग दुई सय मिटरको खण्डमा बजारलाई सवारीसाधनमुक्त क्षेत्र घोषित गरेर यहाँको बजारमा पैदलयात्रीको मनोरञ्जनका लागि यहाँ कलरफुल बत्तीसहितको पानीको फाउन्टेनको विशेष संरचना निर्माण गरिएको तीन वर्ष भइसकेको छ । हाल आएर उक्त बजार मानिसका लागि घुम्न, रमाइलो र किनमेल गर्ने बजारका रूपमा झापाको नमुना बजारमा विकास भइसकेको छ ।

दिउँसोको प्रचण्ड गर्मीमा प्रायः बाहिर निस्कन गाह्रो हुने अवस्थामा बेलुका पाँचदेखि राति नौ बजेसम्म भने बजार गुल्जार हुने गर्छ । बुधबारको हाटको बजारी रौनक लोभलाग्दो छ । मानिसको चहलपहलसँगै यहाँका व्यापार पहिलेभन्दा बढेको छ । बजारमा चारपांग्रे सवारी साधन निषेध गरे पनि मोटरबाइक र तीनपांग्रे निषेध गर्न सकिएको छैन । राति अबेरसम्म खुल्ने केही होटेलमा मदिरापान गर्नेहरूको रबैया भने असुहाउँदो छ । सरसफाइमा कमीकमजोरी छन् । सुरक्षा र सुव्यवस्था अभाव छ ।

दमक नगरपालिकाका पूर्वकार्यकारी अधिकृत स्व. युवराज दाहाल सिक्किम भ्रमणमा जाँदा गान्तोकको एमजी मार्केटबाट प्रभावित भएका थिए । दमकको यस बजारलाई ‘नमुना बजार’ का रूपमा पैदलमैत्री र नागरिकमैत्री बनाउने सोचसहित लगभग डेढ करोडको लगानीमा यस क्षेत्रलाई नयाँ स्वरूप दिएका थिए उनले । दुई वर्षअघि प्रधानमन्त्री केपी ओलीद्वारा उक्त नमुना बजारको उद्घाटन गरिएको थियो । दाहालले ताप्लेजुङको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसँगै ज्यान गुमाएका थिए ।

यस बजारको अनुकरण अन्य बिर्तामोड, कन्काई, मेचीनगरपालिकाले पनि गरेका छन् । दमक नगरपालिकाभित्रै अन्य बजारमा सवारीमुक्त यस्ता बजार विस्तार गरिनुपर्छ । यसले त्यहाँका व्यापार व्यवसाय वृद्धि हुनेछ । यसका लागि नगरपालिकाहरूले चासो नलिए स्थानीय र व्यापारी–व्यवसायी अग्रसर हुन जरुरी छ ।

स्कुल, क्याम्पसहरूमा साइकल संस्कृति

२०७२÷७३ को तथ्यांकअनुसार जिल्लाभरमा सरकारी, सामुदायिक, निजी विद्यालय र क्याम्पसहरूको संख्या ८३४ छ । हाल आएर पक्कै एक हजार नाघेको हुनुपर्छ ।

सन् २०११ को तथ्यांकअनुसार विद्यालयमा हाजिर विद्यार्थी पाँच वर्षदेखि २५ वर्षसम्मका २ लाख ९५ हजार एक सय ३५ विद्यार्थी थिए । यसमध्ये एकतिहाइले मात्र साइकल चलाउँथे । सन् २०१९ मा लगभग सवा लाख विद्यार्थी स्कुल र क्याम्पसमा साइकल चलाएर आउजाउ गर्ने अनुमान छ । बिर्तामोड नगरपालिका मात्र १७ वटा सरकारी र सामुदायिक विद्यालय छन् भने निजी संख्या ७० छ । त्यस्तै १२ वटा क्याम्पस जसमा ‌१२ देखि मास्टर्ससम्मको पढाइ हुन्छ । एउटै ड्रेसका विद्यार्थी साइकलसहित स्कुल जाने बेला र स्कुलबाट छुट्ने बेला निस्कँदाको दृश्य देख्दा साइकल र्‍याली नै पो हो कि जस्तो देखिन्छ ।

साइकल चलाउने विद्यार्थी साइकल नचलाउनेहरूभन्दा धेरै स्मार्ट, क्रिएटिभ र सबल मनोविज्ञान हुने शोध अध्ययनमा उल्लेख गरिएको छ । हाम्रा समाज र देशको भविष्य यी विद्यार्थीप्रति संवेदनशील हुने हो भने उनीहरूको पढाइ, मनोविज्ञान, खेल, स्मार्टनेसका लागि सहयोग गर्ने साइकलजस्तो सस्तो, सहज, सुलभ र स्वतन्त्र साधन अरू के हुन सक्छ र ? यसमा लगानी गर्नु भनेको धेरै आयामेली फाइदा पाउनु हो । साइकलका लागि नीति र पूर्वाधारमा लगानी गर्नु, आफ्ना बच्चामा लगानी गर्नुसरह नै हो । के स्थानीय, प्रादेशिक र संघीय सबै सरकारको नेतृत्व गर्नेहरूले यसमा लगानी गर्न आवश्यक छ । नत्र यसबारे नागरिक समाजले आवाज उठाउनुपर्छ । सचेत नागरिक समाज कता गुमनाम छ ?

०६२ सालसम्म भद्रपुरमा रहेको सार्क क्षेत्रमा ठूलोमध्येको एक गार्मेन्ट उद्योग थियो— मोमेन्टो एपाराटस । उक्त गार्मेन्ट उद्योगमा लगभग ४८ हजार मजदुरले रोजगार पाएका थिए । कामदारमा महिला बढी थिए । दुरदराजबाट समेत आउने मजदुरलगायत प्रायः साइकलमा आउजाउ गर्थे । उद्योगमा आउने र फर्किने समयमा बाटोभरि एउटै पोसाकमा आउने लगभग तीन हजार साइकलयात्री मजदुरका लस्कर देख्नलायकको हुने गथ्र्यो । यहाँका सडकमा दैनिकजसो साइकल र्‍याली नै भएजस्तो लाग्थ्यो । माओवादी सशस्त्र संघर्षपछि उक्त उद्योग बन्द हुँदा ती मेला पनि सँगै बिलाए । हाल पनि भद्रपुर र चन्द्रगढीतिर छोटो र मध्यम दूरीको यात्राका लागि साइकलको उपयोग अत्यधिक छ । जिल्लाभरका हाट, बजार, किनमेल र मजदुरीका लागि साइकलमा निस्केकाहरूको समूह स्वाभाविक दृश्य हुन् ।

देशभरका अधिकांश नगरपालिकाले नगरीय यातायातको मास्टर प्लान ( म्युनिसिपल ट्रान्सपोर्टेसन मास्टर प्लान) बनाइरहेका छन् या बनाइसकेका छन । त्यसमध्ये झापाका अधिकांश नगरपालिकाले बनाइसकेका छन् । तर प्रायः ती कर्मकाण्डी, उपयोगहीन या उपेक्षित अवस्थामा छन् । मास्टर प्लानमा प्रायः मोटर सवारी साधनमुखी छ, तर साइकल लेन उपेक्षित ।

पूर्व–पश्चिम राजमार्ग

पूर्व–पश्चिम राजमार्ग हाल दुई लेनबाट चार लेनमा विस्तार गर्ने योजना नेपाल सरकारको छ । यस राजमार्गको स्वरूप र विशेषता त्यस क्षेत्रका बस्ती, सहरअनुकूल पनि हुनुपर्छ । सहर, बस्ती क्षेत्रका भागमा राजमार्गको छेउछाउमा चौडा फुटपाथ र साइकल लेन त हुनैपर्छ । प्रशस्त रूखबिरुवा र छाया परेको हुनुपर्छ । हाल पूर्व–पश्चिम राजमार्गका कयौं खण्डमा राजमार्गका छेउछाउमा हजारौं ठूलाठूला रूखको शृंखलाबद्ध लाइनले छहारी दिएका छन् र राजमार्गमा सुन्दरता पनि । यसले सँगैका बजार, बस्तीलाई धुलोधुवाँबाट जोगाएका छन् । चार लेनको राजमार्ग बन्दा यी रूख काटिए यसले ठूलो नोक्सान पुर्‍याउनेछ ।

इटहरीदेखि काँकडभिट्टसम्मका पूर्व–पश्चिम राजमार्गका छेउछाउमा ठाउँठाउँमा दुईफुटे पिचसहितको खण्डित ट्र्याक छ, जुन साइकल लेन हो । तर पूरैजसो भाग झाडीले छोपेको छ । साइकल लेन भन्ने कसैले बुझ्ने गरी न साइकलको संकेत चिह्न र बोर्ड नै राखिएका छन् । नगरपालिकाहरूले यसमा धेरथोर बजेट लगानी गरेर सुधार गरे यसको सही सदुपयोग हुनेथियो । राजमार्गमा साइकलमा यात्रा गर्ने हजारौं श्रमजीवी साइकलयात्रीको जीवन किन सस्तो बनाइँदै छ । सरकारलाई भुईं तहका नागरिकको भोट चाहिने तर सडकमा उनीहरूको साइकल गुड्न नहुने ? साइकल लेन र गतिलो फुटपाथविनाको सडक पूर्णरूपको राजमार्ग कसरी हुन सक्छ ? सरकारको सडक नीति सवारी साधनकेन्द्रित हैन, मानवकेन्द्रित हुनुपर्छ । सडकको प्राथमिकता मोटरगाडी र तिनीहरूको उच्चगति नै हो भने यो गलत मात्र हैन, घातक पनि छ । दूर भविष्य सोचेर तयार गर्नुपर्ने सडक, राजमार्ग दूर भविष्यलाई त परको कुरा वर्तमानमै फेल खाइरहेको प्रतीत हुँदैछ ।

हाम्रा सडकका डिजाइन र नीति दुर्घटनाका नियति नै हुन् त ? सर्वसाधारणको जीवनसँग खेल्ने अधिकार सरकारी, नीति निर्माता र नेतृत्वलाई कसरी हुन सक्छ ? जनताले पसिना बगाएर कमाइ गरी तिरेको करबाट जम्मा भएको सरकारी ढुकुटीबाट बनाइने सडक तथा बाटाहरूमा जनतालाई नै मार्ने धराप राख्ने अधिकार कसैलाई छैन ।

सडक र बाटाको प्राथमिकता पैदलयात्री, साइकलयात्री, ह्विलचियर यात्री, अपांग, वृद्धवृद्धा र केटाकेटी हुन् । यहाँका ५१ प्रतिशत जनसंख्याको पहुँचमा पर्ने कार, मोटरगाडी र मोटरसाइकल नै सडक विभाग र अन्य निकायहरूको पहिलो रोजाइ हो र ? सर्वसाधारण हिँड्ने फुटपाथप्रति नगरपालिका, सम्बन्धित सडकका सरकारी निकायले हेर्ने दृष्टिकोणमा बदलाव आउनै सकेन । जनताका मत बटुलेर पदीय हैसियतमा पुग्नेहरूले जनताका हितमा काम गर्नुपर्छ भन्ने मान्यताले किन प्राथमिकता पाइरहेको छैन ?

(श्रेष्ठ साइकल अभियन्ता हुन् ।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.