हेलिकोप्टरबाट सीमामा खाद्यान्न

हेलिकोप्टरबाट सीमामा खाद्यान्न

संखुवासभा : कोरोना भाइरस फैलन नदिन चीनले किमाथांका नाका बन्द भएपछि संखुवासभाको भोटखोला गाउँपालिका १ किमाथांकामा हेलिकोप्टरमार्फत खाद्यान्न पुर्‍याइएको छ। चिनियाँ बजारको भरमा रहेको यस क्षेत्रमा तुम्लिङटारबाट खाद्यान्न लगिएको भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटले बताए।

चीनले माघ ५ गतेबाट अनिश्चितकालका लागि किमाथांका नाका बन्द गरेपछि यस क्षेत्रमा खाद्यन्न अभाव भएको थियो। खाद्यान्न संकट भएको किमाथांकामा शनिबार साँझसम्म सेनाको हेलिकप्टरमा चामल, नुन, तेल लगायतका खाद्यान्न सामग्री भोटखोला लगिएको हो। भोटखोला १ को किमाथांकालाई चामल ४ हजार २ सय ५० किलो, नुन १ सय किलो, तेल १ सय ८२ लिटर लगायतका खाद्यान्न ढुवानी गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्बु भोटेले बताए।

गाउँपालिकाले तुम्लिङटारमा आवश्यक खाद्यान्न खरीद गरी भोटखोला १ किमाथांका ८६ घर परिवारलाई खरिद मूल्यका आधारमा बिक्री गर्ने गरी लगेको उनले जानकारी दिए। खाद्यान्न सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट २६, प्रहरी चौकी १०, स्वास्थ्य चौकी र मकालु वरुण राष्ट्रिय निकुञ्ज लगायतका कार्यालयका कर्मचारीलाई समेत हुने गरी लगिएको गाउँपालिकाले जनाएको छ।

किमाथांकामा स्थानीय नागरिक र कर्मचारी गरी ५ सय ५६ जनाका लागि खाद्यान्न लगिएको हो। भोटखोलाको किमाथांका उच्च हिमाली क्षेत्र रहेको र यहाँ कोदो, मकै र आलु बाहेकका खाद्यान्न उत्पादन नहुने भएकाले यस्तो अवस्था आएको हो। भोटखोलाका लागि दैनिक उपभोग्य सामग्रीसहित लत्ताकपडा चीनको चाँगा र देन्दाङ बजारबाट ल्याउने गरिएको छ।

भोटखोला सदरमुकामबाट ५ दिनको पैदल दूरीको किमाथांकामा हिउँदमा हिउँ परेपछि बाटोसमेत बन्द हुने गरेको छ। हुङगुङ हुँदै जाने बाटो छेसुम्बा डाँडामा हिउँ परेकाले बन्द भएको हो। हिउँका कारण बाटोसमेत बन्द भएपछि किमाथांकामा खाद्यान्न लैजाने अन्य विकल्प नभएर हेलिकोप्टरको सहायता लिइएको हो।

शनिबार मौसम अनुकूल नभएपछि किमाथांकाका लागि गाउँपालिकाले खरिद गरेको सबै खाद्यान्न लैजान नसकिएको अध्यक्ष तेम्बा भोटेले जानकारी दिए। नेपाली सोनाको हेलिकप्टरले दुई फ्लाइटमा खाद्यान्न लगे पनि खरिद गरिएको सबै खाद्यान्न लैजान नसकिएको उनले बताए। नेपाली सेनासँग दुई फ्लाइटका लागि मात्रै हेलिकोप्टर गाउँपालिकाले मगाएको थियो। ‘मौसम अनुकूल भएको भए दुई पटकमै सबै सामान पुर्‍याउन सकिन्थ्यो’, भोटेले भने।

मौसम अनुकूल नभएको भन्दै शनिबार हेलिकप्टर काठमाडौं फर्किएपछि बाँकी खाद्यान्न तुम्लिङटारमै अलपत्र परेको छ। १२ हजार केजी चामल, १ एक हजार ७ सय केजी दाल, खाने तेल ३ सय ५० लिटर र नुन ५ सय केजी खरिद गरेर गाउँपालिकाले तुम्लिङटार विमानस्थलमा राखेको थियो। हेलिकप्टरमार्फत लैजान नसकिएको बाँकी खाद्यान्न गाउँपालिकाको केन्द्र हटियासम्म पुर्‍याएर बाटो खुलेपछि भरियालाई बोकाएर लैजाने तयारी गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.