सहिद लखनको स्मृति दिवस, जैसिङ चुमी मगर ओझेलमा
गोरखा : निरंकुश राणा शासन व्यवस्थाको विरोध गरेको सजायस्वरुप बिसं. १९३३ साल फागुन २ गते गोरखाका लखन थापा र जैसिङ चुमी मगरलाई तत्कालीन श्री ३ जंगबहादुर राणाको हुकुमअनुसार मृत्युदण्ड दिइयो।
गंगालाल, दशरथ चन्द, धर्मभक्त र शुक्रराजलाई मृत्युदण्ड दिनुभन्दा ६४ वर्षअघि राजद्रोहको आरोपमा जंगबहादुरको आदेशमा देवीदत्त पल्टन खटाएर फाँसी दिइयो । लखन थापालाई विद्रोही किल्ला अगाडिको खिर्राको रुखमा र जैसिङ चुमीलाई बेलाउँतीको रुखमा झुण्ड्याएर फाँसी दिइएको इतिहासमा उल्लेख छ । सोही घटनाको स्मरणमा हरेक वर्ष फागुन २ गते गोरखाको सहिद लखन गाउँपालिका ७ काउलेभँगारमा विशेष कार्यक्रम गरी स्मरण गरिन्छ ।
यस वर्षको स्मृति दिवस पनि नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष प्रचण्डको उपस्थितिमा मनाइँदैछ । सामाजिक तथा राजनीतिक परिवर्तनको निम्ति घोषित सिद्धान्त, नीतिविरुद्ध अघि बढ्दा राज्यद्वारा पक्राउ गरी गोली वा फाँसीद्वारा शहादत प्राप्त गर्ने व्यक्ति भनेर लखन थापालाई सरकारले २०५६ सालमा सहिद घोषणा गर्यो ।
२०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएकै मितिमा नेपालका प्रथम सहिद घोषणा गर्यो । उनको नाममा सो ठाउँमा रहेको गाउँपालिकाको नाम नै सहिद लखन गाउँपालिका नामांकरण गरियो । सरकारी सहयोगमा लखन थापा स्मारक बन्यो, देशका विभिन्न ठाउँमा सालिक तथा स्मारक बने, तर एउटै आरोपमा सँगै सहादत पाएका जैसिङ चुमी मगरले कतै चर्चा नपाएका उनका नयाँ पुस्ताको गुनासो छ ।
'लखन थापा र जैसिङ चुमी मगर बाल्यकालदेखिकै साथी थिए । १९११ सालमा उनीहरु दुवैजना मगरको पल्टन पुरानो गोरखगणमा भर्ती भएका हुन् । दुवैजना भारतीय जनविद्रोह दबाउन लखनाउमा खटिएका पनि थिए । दुवैजना १९२५ सालमा क्याप्टेनमा बढुवा भएका पनि थिए ।
दुवै जना १९२७ सालमा तीन महिने घर बिदामा संगसंगै घर आएर बिद्रोही किल्ला बनाएर जनबिद्रोहको तयारी गरेका पनि हुन्, प्रथम जनविद्रोहका योद्धा सहिद जैसिङ चुमी राना मगर नामक पुस्तकका लेखक रुद्रबहादुर राना भन्छन्, 'लखन थापा समानान्तर सरकारका प्रमुख थिए।जैसिङ चुमी सेनापति थिए । काउले भंगारमा गाउँलेहरुको सहयोगमा चौघेरा, दरबार, कोत बनाएका थिए । २४ सय फौज भर्ती गरी तालिम गर्न टुँडिखेल पनि बनाएका थिए । हातहतियार जुटाएर १९३२ सालदेखि औपचारिक रुपमा जनविद्रोह सुरु गरेपछि १९३३ फागुन २ गते देवीदत्त पल्टन खटाएर उनीहरु दुवैलाई फाँसी दिइयो । तर जैसिङ चुमी मगरलाई मात्र किन सहिद बनाइएन ? '
यसको विषयमा धेरै ठाउँमा कुरा उठाउँदा पनि सुनुवाई नभएको उनी गुनासो गर्छन् ।लखन थापा स्मृति दिवस मनाउन काउले भँगार आएका मन्त्रीलाई पनि गुनासो सुनाएको तर सुनुवाइ नभएको उनका तेस्रो पुस्ताका रत्नबहादुर चुमी मगर बताउँछन् । 'जैसिङ चुमीलाई पनि वडाअध्यक्षलाई, गाउँपालिकाका अध्यक्षलाई पनि भनेका छौं। अशोक राई मन्त्री आउँदा मन्त्रीकै हातमा निवेदन दिएका थियौं तर जसले पनि यस्सो हेर्छन् अनि खल्तीमा हाल्छन्। अनि बिर्सिहाल्छन् ।' चीरञ्जीवि वाग्ले मन्त्री हुँदा पनि जैसिङको बारेमा उजागर गर्न बारम्बार अनुरोध गर्ने गरेको उनले बताए ।
लखन थापा र जैसिङ चुमीले धर्ममा तिब्र आस्था राख्ने गाउँलेलाई आकर्षण गर्न दरबारभित्र विभिन्न देवदेवीको मन्दिर पनि बनाएका थिए । 'दरबारभित्र मनकामना, कालीनाग, भुमे, बराह, भँगेरी र भैरवीको मन्दिर बनाएर पूजा गर्ने परम्परा बसालेका थिए, बिगत ७३ वर्षदेखि सोही मन्दिरमा पूजा गर्दै आएका उनका नाति ८४ वर्षीय रत्न चुमी भन्छन्, 'मन्दिर बनाएपछि त्यहाँ गाउँलेहरु पूजा गर्न आउने भए।अनि त्यही बेला गाउँलेलाई राजनीतिक कुरा सिकाएर बिद्रोही सेनामा भर्ती गर्ने गरेका रहेछन् ।'
सो मन्दिरमा पूजा गर्ने प्रवन्ध सरकारलाई गर्ने गरेको तर सुनुवाई नभएको उनको गुनासो छ ।सरकारले वास्ता नगरेपछि चुमी मगर खलक आफैआफै मिलेर जैसिङको सालिक बनाउने अभियान सुरु गरेका छन् । 'लखन थापाको त जताततै सालिक बन्यो । अब हामीले खलक खलक मिलेर पैसा उठाएर जैसिङको सालिक बनाउन लागेका छौं,' उनी भन्छन्, 'फागुन २ गते प्रचण्ड आउने ठूलो कार्यक्रम छ । त्यही बेला सालिक उद्घाटन(अनावरण) गर्ने इच्छा थियो, तर नभ्याउने भयो ।'
स्थानीयबासीले दुवैजना प्रथम सहिदको उत्थान गर्न प्रथम सहिद लखन थापा र जैसिङ चुमी मगर युवा क्लब गठन गरेका छन् । वडा नं.७ का वडाध्यक्ष शरण श्रेष्ठको संयोजकत्वमा लखन थापा तथा जैसिङ चुमीको प्रवद्र्धन गर्न गाउँपालिकाले समिति बनाएको छ ।
'लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने र जैसिङ चुमीलाई सहिद घोषणा गर्ने बुँदाहरु समेटेर पूर्व प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ',वडा अध्यक्ष श्रेष्ठले भने,'त्यो बेलाको दरबार भएको ठाउँमा रंगशाला निर्माण भइरहेको छ। अब संग्राहलय निर्माण गर्ने पनि हाम्रो अभियान छ।'
प्रतिक्रिया दिनुहोस !