आँचल–उदिपको प्रणय उडान

आँचल–उदिपको प्रणय उडान

अभिनेत्री आँचललाई पोषणविद् उदिपको मीठो बोलीले छोयो। उनको सुझाव अनुसरण गरेर आँचलले केही महिनामै १० केजी तौल घटाइन्। वजनसँगै दूरी पनि घट्यो र उनीहरू नजिकिए। निकटता प्रेममा परिणत भयो। उनीहरूले प्रणय उडान भरे।


आजकल प्रेमीहरूको सबैभन्दा ठूलो लमी फेसबुक हो। यही सञ्जालमा प्रेमी– प्रेमिका एकअर्कासँग भेट्छन् र प्रेणय उडान सुरु गर्छन्। अभिनेत्री आँचल शर्मा र पोषणविद् उदिप श्रेष्ठको पनि पहिलो लमी फेसबुक नै थियो। यहीँ उनीहरूको देखादेख भयो, चिनजान भयो, अनि उनीहरू प्रेममा परे। दुवैको प्रेमलाई परिवारले पनि हरियो झण्डा देखाइदिएपछि उनीहरू फागुनको अन्तिमतिर विवाह गर्दैै छन्। 

भर्चुअल भेट 
‘नाइँ नभन्नू ल ४’ मा अभिनय गराउने टुंगो भए पनि निर्देशक विकास आचार्यको आँचललाई शर्त थियो, ज्यान घटाउनुपर्छ। सौन्दर्य प्रतियोगिता जितेर भीजे हुँदै फिल्ममा आएकी उनलाई ज्यान घटाउने पिर थियो। उनको यो चिन्तासँग परिचित थिइन्, मामाकी छोरी। उनले फेसबुकमा उदिपको प्रोफाइल देखाउँदै भनिन्, ‘यो केटालाई भन्नू न। खत्रा डाइटिसियन हो।’ आँचलले उदिपको फोटो हेरिन्। बहिनीको दाबीमा सत्यता थियो। फेसबुकमा उदिपका एकसे एक तस्बिर थिए। तर, उनलाई आफैँ कुरा गर्ने हिम्मत थिएन। दिदीको बानी बुझेकी बहिनीले नै उदिपलाई आँचलको समस्या बयान गरेर लामो मेसेज लेखिन्। दुई दिनपछि उनले जवाफ दिए– ‘हुन्छ, म हेल्प गरुँला। मलाई कन्ट्याक्ट गर्नू भन न।’ बहिनीले आँचललाई उदिपको सन्देश फरवार्ड गरिन्। तर, लज्जालु स्वाभावकी आँचललाई आफैँ फ्रेन्ड रिक्वेस्ट पठाउन गाह्रो लाग्यो। उनले बहिनीलाई अह्राइन्– ‘मलाई फ्रेन्ड रिक्वेस्ट पठाउनू भन न।’ एक दिनपछि उदिपको फ्रेन्ड रिक्वेस्ट आयो। आँचलले स्विकारिन्। मेसेन्जरमा कुराकानी भयो। उदिपले डाइट प्लान गर्ने सूत्र बताइदिए। कुरा सकिएपछि आँचलको मनमा डाइटबाहेक एउटै कुराको सम्झना आइरह्यो, ‘ओहो, कस्तो मीठो बोल्ने मान्छे रहेछ !’ 

भेटेको तीन महिना भइसक्दा पनि दुवैले एकअर्कालाई माया गर्ने कुरा शब्दमा अभिव्यक्त गरेका थिएनन्। आँचल उदिपको मुखबाट प्रेमका ढाई अक्षर सुन्न आतुर थिइन्। तर, उनी भने प्रेमको नामै लिइरहेका थिएनन्।

‘पहिलो चोटि मेसेन्जरमा कुरा गर्दा नोटिस गरेको कुरा नै उहाँको बोली थियो,’ काठमाडौँ, बालुवाटारस्थित एउटा रेस्टुरेन्टमा उदिपसँगको इम्प्रेसन सुनाउँदै आँचलले भनिन् ,‘बोली नै कस्तो मीठो लाग्यो के ! कुरा गर्दै जाँदा हो, पछि अरू कुरा पनि मन पर्न थालेको।’ 

यसपछि आँचल र उदिपको कुरा हुन्थ्यो, तर एकदम पातलो। मुश्किलले दुईतीन हप्तामा एक पटक। तर, उदिपको सल्लाह अनुसरण गर्दै जाँदा आँचलले १० केजी तौल घटाइन्। आँचलसँग यसरी फेसबुकमा कुरा भइरहँदा उदिप अमेरिकामा थिए।  फिलिपिन्सबाट एमबीबीएस सकेका उनी न्युट्रिसनको कोर्स गर्न अमेरिका पुगेका थिए। तर, उता रहँदा नै उनले आँचलझैँ थुप्रै सेलिब्रिटीलाई डाइटको सल्लाह दिने गरेका थिए। आँचललाई सुरुमा उदिपको बोली मात्र मन परेको भए पनि उदिपलाई भने सिंगै आँचल मन परेको थियो। 

‘खै, त्यो कसैसँग पहिलो चोटि नै हुन्छ नि, आफ्नो जस्तो !’ उदिपले सम्झिए, ‘ऊसँग कुरा गर्दा त्यस्तै भएको थियो। मेरो इन्ट्युसनले सही भनेको रैछ।’

१५ मिनेटको पहिलो भेट
दुई वर्षअघि उदिप अमेरिकाबाट फर्किए। यतै क्लिनिक खोले। यस बीचमा आँचल र उदिपको यदाकदा हाई–हेल्लो हुन्थ्यो। आ–आफ्ना प्रोफेसनका कुरा हुन्थे। तर, उदिप नेपालमा ढुक्कै बस्न थालेपछि भने बाक्लै कुरा हुन थाल्यो। मेसेन्जरमा लामै कुरा हुन थालेपछि उदिपले आँचललाई भेट्ने प्रस्ताव राखे। आँचलले एक महिनासम्म सुटिङको बहानामा टारिरहिन्। ‘भेट्न मन पनि थियो तर हिम्मत भने थिएन,’ आँचलले दुविधाको कारण खुलाउँदै भनिन्, ‘काम विशेषले बाहेक फाल्टु मान्छेसँग कहिल्यै भेटेकी थिइनँ। त्यसैले नर्भस थिएँ। तर, भेट्न मन पनि थियो, किनकि मैले उहाँलाई मन पराउन थालेकी थिएँ।’ 

आँचलको कुरा सुनिरहेका उदिपले उनलाई ओभरटेक गर्दै भने, ‘तर, फस्ट टाइम भेट्दा कति समय बसेका थियौँ र ? जम्मा १५ मिनेट। त्यो पनि पूरा समय कारको ऐनामा हेरेर बितायो।’ 

‘अनि के आफूलाई चाहिँ लाज लागेन त ?’ आँचलले उदिपलाई छड्के हेरेर मुस्कुराउँदै भनिन्।  

महिनादिनको योजनापछि आँचलले भेट्ने त भनिन् तर शर्त थपिन्– उदिपकै कारबाहेक अन्यत्र नभेट्ने। उदिपको सुर थियो– भेटेपछि कुनै रेस्टुरेन्टमा जाउँला र बसुँला। तर, भेट भएपछि पनि आँचल आफ्नो कुरामा पक्का निस्किइन्। गैरीधाराको रेड मड क्याफेबाट गाडी चढेकी आँचललाई लिएर उदिपले एक फन्को लगाए र त्यहीँ छाडिदिए। त्यो समयमा पनि आँचलले उदिपलाई एकचोटि पनि नजर जुधाएर हेरिनन्। यो सन् २०१८ अक्टोबर ३१ को दिन थियो। तर, यही छोटो भेटले अनिगिन्ती भेटका लागि बाटो खोल्यो। भोलिपल्ट भेटेर तीनचार घण्टा सँगै बिताएका उनीहरूले त्यसयता भने काठमाडौँ र छेउछाउमा रहँदा एकअर्कालाई नभेटेको दिन छैन। कतिसम्म भने आँचल सुटिङका लागि धादिङ, भकुण्डेबेसीमा रहँदा पनि आधा घण्टाकै लागि सही, उदिप उनलाई भेट्न जान्थे। काठमाडौँमा रहँदा त उनीहरू दिनको एक चोटि भेट्ने रुटिन आजका दिनसम्म पनि तोडिएको छैन। 

विल यू म्यारी मी ?
भेटेको तीन महिना भइसक्दा पनि दुवैले एकअर्कालाई माया गर्ने कुरा शब्दमा अभिव्यक्त गरेका थिएनन्। आँचल अक्टोबरका केही भेटपछि नै उदिपको मुखबाट प्रेमका ढाई अक्षर सुन्न आतुर थिइन्। तर, उदिप चाहिँ भन्ने नामै लिइरहेका थिएनन्। एक दिन अति भएपछि आँचलले भनिन्, ‘हजुरले नभन्ने नै हो त आई लभ यू ?’ उनले हाकाहाकी चुनौती दिएपछि उदिपले नभनी धर पाएनन्। डिसेम्बर १८ का दिन आँचल उदिपलाई भेट्न उनकै अफिसमा थिइन्। उदिपले रातो गुलाबको झुप्पा दिँदै घुँडा मारेर भने, ‘आई लभ यू। विल यू म्यारी मी ?’ आँचल त यही घडीको प्रतीक्षामा थिइन्। उनले बुके लिँदै प्रस्ताव स्विकारिन्।

उतिबेला उदिपको प्रस्ताव स्वीकार गरे पनि आँचललाई तत्कालै विवाह भइहाल्ला भन्ने लागेको थिएन। तर, विवाह नजिक आइरहँदा उनले बूढापाकाले भन्ने गरेको उखान सम्झने गरेकी छिन्। ‘जन्म, मृत्यु र विवाह समयको हातमा हुन्छ भन्थे, हो रहेछ,’ उनले भनिन्, ‘मुखैमा विवाह आइरहँदा हो रैछ भन्ने लागेको छ।’ 

उनलाई उदिपसँग विवाह हुनै लाग्दा आफैँले भनेको अर्को एउटा कुराको पनि सम्झना हुन्छ। उनले एउटा अन्तर्वार्तामा विवाहका लागि जोसुकै पनि परोस्, तर नेवार र डाक्टर चाहिँ कहिल्यै नपरोस् भनेकी थिइन्। ‘भूकम्पको बेलामा म बस्ने टोलका एक जना नेवारसँग ठाकठुक परेको थियो,’ उनले भनिन्, ‘त्यसैले मैले त्यो अन्तर्वार्तामा बिहे गर्ने केटो नेवार नपरोस् भनेकी थिएँ। त्यो मेरो कच्चा टिप्पणी थियो, जसमा मलाई खेद छ। अहिले नेवार र डाक्टरसँगै जिन्दगी बिताउने संयोग जुराइदिएर भगवान्ले मसँग मीठो बदला लिएका छन्।’ 

अल इज वेल 
आँचल घरमा बुबासँग एकदमै नजिक छिन्। जे कुरा पनि बुबासँग सेयर गर्ने बानी छ। उदिपसँग बाक्लै भेट हुन थालेपछि उनले बुबालाई उदिपबारे बताएकी थिइन्। तर, यता उदिपले भने आँचलका बारेमा परिवारमा बताउने हिम्मत गर्न सकेका थिएनन्। किनकि, उनको परिवारमा छोराले सकभर अन्तरजातीय विवाह नगरोस् भन्ने थियो। गत सालको दशैँमा मात्र पनि हजुरआमाले टीका लगाएर उदिपलाई ‘विवाह चैँ आफ्नै जातको गर्नू, है नाति’ भनेर आशीर्वाद दिएकी थिइन्। 

यता आँचलको घरमा पनि केटा आफ्नै जातको होस् भन्ने छँदै थियो। परिवारविरुद्ध जाने मुडमा यो जोडी थिएन। त्यसैले आँचलले नै उदिपलाई एकअर्काको परिवारसँग कुरा गर्न उक्साइन्। उनको विचारमा परिवारको अनुमति रहँदा मात्र आफूले सम्बन्ध जारी राख्नु जायज हुन्थ्यो। आँचलले उदिपको बुबासँग भेटिन्। उता उदिपले आँचलको बुबासँग भेटे।

आँचल उदिपको केयर गर्ने बानीको कायल छिन्। उनी स–साना कुरा पनि ख्याल गर्छन्। उता उदिप आँचललाई असल र पर्फेक्ट केटी मान्छन्। 

‘बढीमा आधा घण्टा बसिएला भन्ने लागेको थियो तर उदीपका बुबा र मैले कुरा गर्दागर्दै तीन घण्टा बिताएछौँ,’ आँचलले भनिन्, ‘पछि उहाँले पनि मेरो बुबासँग उति नै समय बिताउनुभयो। हामी दुवैका बुबा आश्वस्त भएपछि बल्ल विवाहको कुरा अगाडि बढेको हो।’ 

केयरिङ उदिप, पर्फेक्ट आँचल 
आँचललाई उदिपको केयरिङ गर्ने बानी असाध्यै मन पर्छ। उनलाई उदिपलाई नभेट्दासम्म आफ्नो बुबा र दादाले मात्र केयर गर्ने गरेको सम्झना छ। तर, उदिपलाई भेटिसकेपछि भने उनलाई ‘केटा मान्छे यस्तो पनि हुन सक्छ ?’ भन्ने लागेको थियो। ‘उहाँको केयरिङ देखेर केटाहरू पनि यस्तो हुन्छन् र भन्ने लाग्छ,’ उनले भनिन्, ‘उहाँको यही बानीको म कायल छु।’ 

उदिपलाई भने आँचल असल केटी लाग्छ। ‘खै म त उनको एउटा–दुइटा मात्र कुरा राम्रो कुरा भन्नै सक्दिनँ,’ उनले भने, ‘मलाई त उनी हर कुरामा पर्फेक्ट लाग्छ।’ 

त्यसो हो भने के यो जोडीको कहिल्यै ठाकठुक पर्दैन ? आँचलले उदिपलाई उछिनेर भनिन्, ‘मेरो पर्छ। दिनमा एकचोटि जसो त म रिसाएकै हुन्छु। तर, उहाँले फकाइहाल्नुहुन्छ।’ आँचलको कुरामा सही थाप्दै उदिपले रिसाउने कारण बताए, ‘उनलाई छिनछिनमा हाई–हेल्लो गरिरहनुपर्ने हुुन्छ। तर, म पेसेन्टसँग भएको बेला अरू सब कुरा बिर्सन्छु। यही निहुँमा उनले एकदुई घण्टी फोन काट्छिन् तर तेस्रो घण्टीमा उठाउँछिन्।’

आँचल भने धेरैको सम्बन्ध कम्युनिकेसनको अभावका कारणले नै सकिएको देखेकाले कम्युनिकेसनमा रहनकै लागि यस्तो गर्ने गरेको बताउँछिन्। ‘एकअर्कालाई एक अर्काको कुरा थाहा भयो भने मात्र सम्बन्धमा शंका हुन्न,’ आँचलले झगडाको अन्तर्य बताउँदै भनिन्, ‘नत्र यसरी नै सानो कुरा पछि गएर ठूलो हुन्छ। यही डरले हो, मैले फोन गर्नुभएन भनेर किचकिच गर्ने। अन्यथा, हाम्रो आजसम्म अरू कुनै विषयमा झगडा भएको छैन।’

विवाहपछि फिल्म ?
विवाह गरेपछि हिरोइनको आयु सकिन्छ भन्ने कुरा नेपालका धेरै अभिनेत्रीले गलत प्रमाणित गरिसकेका छन्। आँचल पनि हिरोइनको यही लिस्टमा सामेल हुन चाहन्छिन्। उदिप स्वयं पनि आँचल विवाहपछि पनि अभिनय यात्रा जारी राखून् भन्ने चाहन्छन्। ‘परिवारको चाहना नै उनले आफ्नो काम जारी राखून् भन्ने छ,’ उदिपले भने, ‘तर, उनले जे निर्णय गरे पनि मेरो समर्थन छ।’ 

अनि आँचलको नि ? 
उनले मुस्कुराउँदै भनिन् , ‘मलाई त फिल्म पनि खेल्न मन छ, अनि बच्चा जन्माउन पनि।’ 

(अन्नपूर्ण सम्पूर्ण साप्ताहिकबाट)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.