ट्रम्प फकाउँदै भारत

ट्रम्प फकाउँदै भारत

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि भारतमा ३५ घण्टा बिताउँदै छन्। नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस अमेरिकासँगको सम्बन्धको ‘खड्गो’का रूपमा छलफल भइरहेको छ। नेपालले अमेरिकासँग भारतभन्दा पहिला सम्बन्ध स्थापना गरे पनि राष्ट्रपतिस्तरबाट भ्रमण गराउन सकेको छैन।

दुई दशकयताका सबै अमेरिकी राष्ट्रपतिले भारत भ्रमण गरेका छन्। भारत आउन लागेका ट्रम्प सातौं अमेरिकी राष्ट्रपति हुन्। भारतलाई अमेरिकाले आन्तरिक विषयमा कुरा नउठाओस् भन्ने लागेको छ। अमेरिका भने यो ‘लक्ष्मण रेखा’मा सीमित रहने अवस्था छैन।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा ट्रम्पले लोकतान्त्रिक परम्परालाई समर्थन गर्न भारतले धार्मिक अल्पसंख्यकको सम्मानतर्फ ध्यान केन्द्रित गरिरहेको छ त भन्ने तथ्यलाई विश्वले नियालिरहेको विषयमा ध्यानाकर्षण गर्नेछन्’, ह्वाइट हाउसका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा भने, ‘भारतको संविधानमा पनि धार्मिक स्वतन्त्रता, धार्मिक अल्पसंख्यकको सम्मान र सबै धर्मका लागि समानताको अधिकार छ।’

योसँगै अमेरिकाले भारतलाई यो क्षेत्रको मुख्य खेलाडीका रूपमा प्रस्तुत गरिरहेको छ। यो अमेरिकाका लागि आवश्यक रहेको पूर्वराजदूत डा. दिनेश भट्टराईले बताए। ‘भारत–अमेरिका सम्बन्धका आधारमा यो क्षेत्रको सम्बन्ध र राजनीति तय हुनेछ’, उनले भने।

नेपाल र अमेरिकाको सात दशक लामो सम्बन्धमा नेपाल आउने एक मात्र उच्चस्तरीय नेता उपराष्ट्रपति स्पिरो एगन्यु मात्रै हुन्। भारतसँग अमेरिकाको सम्बन्धमा निखारता आइरहँदा नेपालले पनि उच्चस्तरीय भ्रमणमार्फत सम्बन्धलाई बढोत्तरी गर्नुपर्नेमा जोड दिनु आवश्यक छ। भट्टराईका अनुसार दिल्लीलाई बेइजिङतर्फ चनाखो राख्न पनि वासिङटनले सहकार्य अघि बढाउनेछ। इन्डो प्यासिफिकको विषय त्यति धेरै नउठे पनि त्यो पाटोमा अमेरिका चनाखो रहने उनले बताए।

ट्रम्पको यो भ्रमण द्विपक्षीय आन्तरिक मामिलामा बढी केन्द्रित हुने भए पनि यसमा एउटा मुख्य पाटोका रूपमा रहेको आईपीएसमा बहस हुन्छ। भारत र अमेरिका दुवैका लागि यो महŒवपूर्ण मानिएको छ।

अमेरिकामा हुने निर्वाचनको नौ महिनाअघि ट्रम्पले भारत भ्रमण गर्दै छन्। मोदीले आफ्नो दोस्रो कार्यकालमा ट्रम्पसँग पाँचौं भेटवार्ता गर्नेछन्। उनको अघिल्लो कार्यकालमा ट्रम्प भारत आउन पाएका थिएनन्। ट्रम्प यसपटक निम्तो स्वीकार गरी श्रीमती मेलानियाका साथ व्यस्त कार्यतालिकासहित सोमबार अपराह्न नयाँदिल्ली ओर्लन लागेका हुन्।

सन् २००६ मा न्युक्लियर सम्झौतापछि भारत–अमेरिका सम्बन्धमा न्यानोपना सुरु भएको हो। डा. मनमोहन सिंह प्रधानमन्त्री हुँदा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले भारत भ्रमण गरेका थिए। त्यो बेला भएको न्युक्लियर सम्झौतापछि भारत–अमेरिका सम्बन्धले व्यापकता पाएको हो। भारतीय सञ्चारमाध्यमले उनी भारत आउनुको मुख्य कारण नै द्विपक्षीय व्यापार रहेको उल्लेख गरेका छन्।

ट्रम्पले वासिङ्टनमा आफ्नो भारत भ्रमणबारे बताउँदै भनेका थिए, ‘अमेरिका र भारतबीच व्यापारका कुरा हुनेछन्।’

ट्रम्पले भारतसँगको व्यापारमा देखाएको असन्तुष्टि पनि बाहिर आएको छ। निर्वाचनअघिसम्म भारतसँग ठूलो व्यापारिक सम्झौता हुन नसक्ने बताइसकेकाले सामरिक महŒवका विषयमै छलफल हुने सञ्चारमाध्यमको धारणा छ। भारत र अमेरिकाबीच अमेरिकी रक्षा कम्पनीसँग २४ बहुभूमिका भएको एन्टी सबमरिन (पनडुब्बी) हेलिकप्टर किन्ने सम्झौता हुन सक्ने र भन्सार दरहरू घट्ने विषय निर्णयमा पुग्नेछ। ट्रम्पको अभिव्यक्तिले अमेरिकाको भारतसँगको गुनासो प्रस्ट देखिएको छ।

मोदी र ट्रम्पबीच रक्षा र व्यापारलगायत विभिन्न द्विपक्षीय तथा क्षेत्रीय मुद्दामा छलफल हुने भारतीय विदेशसचिव हर्षवद्र्धन श्रृंगलाले बताएका छन्। रक्षा, सुरक्षा, प्रतिआतंकवादका साथै व्यापार ऊर्जा, जनताबीचको सम्बन्धलगायत अन्य द्विपक्षीय मुद्दा नै छलफलको केन्द्र हुने उनले स्पष्ट पारेका थिए।

‘भ्रमण मुख्य रूपमा हिन्द–प्रशान्त क्षेत्रमा शान्ति र रणनीतिक सहयोगमा केन्द्रित रहनेछ’, श्रृंगलाले हैदरावाद हाउसमा मंगलबार भनेका थिए, ‘भ्रमणले दुई देशबीचको अभूतपूर्व सम्बन्धलाई थप बलियो बनाउने विश्वास छ।’

पछिल्लो समय भारत र अमेरिकाबीच यो स्तरको भ्रमण बाक्लिँदो छ। कुनै राष्ट्रपतिले भारत आउन बिराएका छैनन्। राष्ट्रसंघमा लामो समय काम गरेर फर्केका डा. सोमनाथ पुडासैनीले अन्नपूर्णसँग भने, ‘पछिल्ला दुई दशक हेरौं, रिपब्लिक र डेमोक्र्याट दुवै राष्ट्रपतिले भारतको भ्रमण गरेका छन्।’ ट्रम्प भ्रमण तीन–चार पक्षबाट महŒवपूर्ण हुने उनको ठम्याइ छ।

ट्रम्पको स्वागतका लागि भारत सरकार उत्सुक रहेको विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले उल्लेख गरेका छन्।

ट्रम्प भ्रमणले भारत–अमेरिका सामरिक सम्बन्ध थप बलियो हुने विश्वास पनि भारतीय अधिकारीको छ। भारत र अमेरिकाबीच चालू वर्षको पहिलो चार महिनामा १ खर्ब १० अर्ब अमेरिकी डलरको कारोबार भएको छ।

सोमबार दिउँसो नयाँदिल्ली आएलगत्तै ट्रम्प मोदीको गृहनगर गुजरात पुग्नेछन्। अहमदाबादको सबैभन्दा ठूलो क्रिकेट रंगशाला मोटेरामा डिजाइन गरिएको ‘नमस्ते ट्रम्प’ कार्यक्रममा उनीहरू सहभागी हुनेछन्। मोदीलाई टेक्सासमा आयोजना गरिएको ‘हाउडी मोदी’ कार्यक्रमको नक्कलका रूपमा त्यसलाई हेरिएको छ। भारत यति बेला ट्रम्पमय भएको छ। उनी हिँड्ने बाटोमा भारतका विभिन्न प्रान्तको झलक देखाउने २८ मञ्च तयार गर्दै इन्डिया रोड सो नाम दिनुले ट्रम्प खुसी पार्ने र काश्मीर तथा अन्य आन्तरिक विषयमा ट्रम्पलाई पस्न नदिने तयारी भारतको देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.