ढुंगामा कुँदिदै घुम्टे पहाड

ढुंगामा कुँदिदै घुम्टे पहाड

गलकोट, बागलुङ : सुन्दर पहाड घुम्टेको मनोरम दृश्यले ११ देशका मूर्तिकार मोहित भएका छन् । घुम्टे पहाड देखेपछि उनीहरुले कुनै काल्पनिक दुनियाँको मूर्ति सोच्नु परेको छैन्। त्यही पहाड, जल, जंगल, गाउँ समाजको अनेक परिवेशलाई समेटेर १२ दिनदेखि दुर्गम गाउँमा मूर्ति कुँदिरहेका छन्। 

ब्राजिलका जर्ज लुइजले घुम्टे पहाडलाई ढुंगामा कुँदेर सुन्दर मूर्ति तयार गरेका छन् । जहाँ घुम्टे लेकको ९ हजार ३ सय ९३ फिट उचाइमा रहेका सिद्ध भैरव मन्दिरदेखि त्यस तलका बन जंगल, पोखरी, गाउँ बस्ती सबै मूर्तिमा प्रष्ट देख्न सकिन्छ । 'मूर्तिकला कार्यशालामा धेरै देशमा पुगेको छु, यद्यपी यस्तो दुर्गम तर सुन्दर मनोरम प्राकृतिक दृश्यको अघि उभिएर मूर्ति बनाउने सौभाग्य पहिलो पटक यहाँ मिलेको छ,' जर्जले थपे, ' सुरुमा आउँदा मन मष्तिस्कमा छुट्टै मूर्ति बनाउँछु भनेर आएको थिए, यहाँ आएपछि आँखैअघि देखिएको घुम्टेले मन लोभ्यायो र यही सुन्दर प्रकृतिलाई मूर्तिमा उतारेको छु ।'

गाउँकै खोलाबाट ल्याइएको दुई टन भन्दा बढी ठूला ढुंगा कडा खालको भएकाले मूर्ति बनाउन केही कठिनाई भए पनि प्रकृतिले बिर्साइदिएको जर्ज बताउँछन् । 

अहिले अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला भइरहेको गलकोट नगरपालिकाका अधिकाशं घरका बासिन्दाको जापान गन्तव्य बनेको छ । जापानबाट आएका मूर्तिकार जुनीचिरो सुगीमोताले नेपाल जापानको द्धैत्य सम्बन्ध र रेमिट्यान्सले पारिरहेको असरको प्रतिकात्मक मूर्ति तयार गरेका छन् । 'म जापानका अधिकांश रेष्टुरेन्टमा पुग्दा त्यहाँ नेपाल र त्यसमा पनि गलकोटका धेरै युवायुवतीलाई भेट्ने गरेको छु,' जुनीचिरोले भने, 'अहिले गलकोट र घुम्टको काखमा आएर मूर्ति बनाउँदा यो गाउँ, यो ठाउँ र ती नेपालीलाई सम्झिएर मूर्ति बनाउने प्रयास गरिरहेको छु ।'

जुनिचिरो विश्वमै चर्चित मूर्तिकार हुन् । उनको सम्मानमा जापानको एउटा सहरको नाम जुनिचिरोको नामबाटै राखिएको छ । भारतका प्रसिद्ध मूर्तिाकार टुटु पटानायक पनि सुन्दर घुम्टेको आँगनमा उभिए पछि फिदा बने ।

गलकोटमा जारी अन्र्तराष्ट्रिय कार्यशालामा घुम्टे पहाड उतार्दै ब्राजिलका मूर्तिकार जज लुइस ।

उनले घुम्टे पहाड हेर्दै हनुमानले पहाड बोकेर हिँडेको मूर्तिकलामा उतारिरहेका छन् । हिमालयको देशमा सञ्जिवनीको आशामा पहाडनै बोकेर हिँडेको किम्बदन्तीमा आधारित मूर्ति बनाउँदा पटानायकले घुम्टे हेर्दै मूर्ति बनाएको बताउँछन् । 'दुर्गम गाउँभन्दा असजिलो कठिन होला भन्ने लागेको थियो, यहाँ आए पछि यति अद्भुत ठाउँ रहेछ,' पटानायक थप्छन्, 'प्रकृतिले नै उर्जा भर्ने खालको बातावरण छ, माथि घुम्टे लेक त्यसमा पनि क्षण क्षणमा रङ फेर्ने यहाँको मौसमले पनि मन बदल्दिने रहेछ, गाउँलेको व्यवस्थापन र आत्मियता पनि उस्तै रहरलाग्दो छ ।'

उनले आफू जहाँ जाँदा पनि आफ्नो देश बोकेर मूर्तिकला कार्यशालामा जाने गरेको बताए । 'म यहाँ आएर घुम्टे हेर्दै मूर्ति बनाए पनि यसमा मैले मेरै देशको  भाषामा श्रीराम सञ्जिवनी लेखेको छु,'अन्नपूर्णकर्मीको किन नलेखेको भन्ने प्रश्नको जवाफमा उनले भने, 'नेपालमा आउँदा नेपाली, फ्रान्समा जाँदा फ्रान्सेली लेख्न थाले आफ्नै देश र भाषा बिर्सिएको जस्तो हुन्छ, म यहाँ आउँदा पनि देश बोकेर या देशको प्रतिनिधित्व गरेर आएको छु, यसकारण हिन्दी उदिया भाषामा लेखेको छु ।'

नेपालका कलाकार राजन काफ्ले पनि प्रकृतिले निकै लोभ्याएको उल्लेख गरे। मानिसलाई कहिल्यै पनि प्रकृति र प्रविधिबाट अलग राख्न नसकिने भावको मूर्ति बनाइरहेको उनी बताउँछन् ।'प्रकृति भताभुंग पारेर विकास गर्ने लहड छ,' काफ्लेले भने, 'प्रकृतिले थेग्न सक्ने गरी मात्र विकास गर्नुपर्छ भन्ने भावको मूर्ति घुम्टे हेरेर बनाइरहेको छु ।'

जिल्ला सदरमुकामबाट चार घण्टाको सवारी साधनको यात्रामा पुगिने गलकोटको हरिचौर टेउवामा ११ देशका १५ मूर्तिकारले विभिन्न भाव र सन्देश बोकेका १७ मूर्ति बनाइरहेका छन् । ठूला ठूला ढुंगामा कुँदेर बनाइँदै गरेका मूर्तिले आकार लिँदै गर्दा अहिले दैनिक दुई तीनजनाले कार्यशालामा पुगेर मूर्तिको अध्ययन अवलोकन गरिरहेका छन् ।

गत फागुन ५ गतेदेखि जारी मूर्तिकला कार्यशालामा बनाइने आकर्षक मूर्तिहरु सोही स्थानमै खुल्ला संग्रहालय बनाएर राखिने आयोजक गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए । पर्यटकीय सहर पोखरा र नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकलाई जोड्ने बीचको सेतुको रुपमा मूर्तिकला राखेर अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने उद्वेश्य राखिएको छ । 

ऐतिहासिक महत्व बोकेको गलकोट क्षेत्रलाई कलाको अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र पर्यटक तथा कला पारखी र विद्यार्थीका लागि अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको उनले सुनाए । 

अब कार्यशाला पछिको विस्तृत विकासका लागि १२ करोड लागतको डिपिआर तयार गरिएको छ । कार्यशाला दुर्गम गाउँलाई गन्तव्यको रुपमा पहिचान दिलाउन र कलाको जागरण ल्याउने सन्दर्भमा अभूतपूर्व रुपमा सफलताको नजिक रहेको मूर्तिकार एवम् कार्यक्रम संयोजक समेत रहेका स्थानीय ओम खत्रीले बताए ।

'दुर्गम गाउँमा यो कार्यशाला आयोजना गर्ने भन्दा सुरुमा स्थानीयदेखि सरकारी निकाय शिक्षित सचेत तप्काका व्यक्तिहरुलाई पनि बुझाउन गाह्रो भएको थियो,' उनले थपे, 'तर अहिले स्थानीयदेखि सबै खुशी, उत्साहित छन् । यसले भोलीका दिनमा राख्ने महत्वलाई समेत आँकलन गर्न थालिएको छ, हामी धेरै खुशी छौ ।'

कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटे सहभागी छन् । यस्तै जुनीचिरो सुगीमोतो (जापान), ल्यू याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को कार्यशालामा सहभागी छन् । 

फागुन २१ मा सकिने कार्यशालाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए । कार्यशालाका लागि पूर्वाधार निर्माण र कच्चा पदार्थ संकलनको काम दुई वर्षअघिदेखि नै तयारी सुरु गरिएको थियो । कार्यशालास्थल निर्माणका लागि स्थानीयवासीले २५ रोपनी जग्गा निःशुल्क रुपमा प्रतिष्ठानलाई उपलब्ध गराएका छन् । 

आफूले निर्माण गरिरहेको प्रतिकात्मक मूर्तिसहित ताइवानका मूर्तिकार ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.