गोरखाका नेपाल-चीन जोड्ने दुवै नाका बन्द
गोरखा : कोभिड–१९ (कोरोना भाइरस) भित्रन नदिन जिल्ला प्रशासन कार्यालय गोरखाले गोरखाका उत्तरी सीमावर्ती दुवै नाकामा कडाइ गर्न निर्देशन गरेको छ । चुमनुब्री गाउँपालिका–१ स्थित रुइला र चुमनुब्री–७ को ङुइला (मुलाढाज्यान) नाकामा आवतजावत निषेध गर्न सम्बन्धित क्षेत्रका प्रहरीलाई सोमबार निर्देशन दिएको सीडीओ सुरेन्द्र पौडेलले जानकारी दिए ।
‘गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरी रुइला र ङुइला नाकाबाट मान्छे र याकचौंरी, झोपा, घोडा, खच्चडलगायत पशुचौपाया आवतजावत गर्न निषेध गर्न प्रहरी चौकीहरूलाई आजै पत्राचार गरेका छौं,’ सीडीओ पौडेलले भने, ‘दुवै नाका वैधानिक नाका त होइनन् तैपनि यदाकदा आवतजावत हुने हुनाले हामीले हाम्रै संयन्त्र प्रयोग गरी बन्द गरेका हौं ।’ रुइला नाका तिब्बती अधिकारीको निर्णयमा वर्षमा एकपटक मात्र खुल्छ भने ङुइला १२ महिना खुला रहन्छ ।
हिउँ नपग्लिएकाले नाका खुला नभएको वडाध्यक्षहरू बताउँछन् । ‘अहिले हिउँले यसै पनि नाका खुला छैन । मान्छे आवतजावत गर्न सक्दैनन्,’ छेकम्पारका वडाध्यक्ष पासाङफुन्जो लामाले भने ।
प्रतिक्रिया दिनुहोस !