ढुंगामा प्राण भर्दै ११ देशका मूर्तिकार (फोटो फिचर)
बागलुङ : दुर्गम गाउँको खहरे खोलामा रहेका छरपष्ट ठूला ढुंगा।भाग्यवस सयौं ढुंगामध्ये दुई टन बढीका ३० वटा ढुंगा अन्र्तराष्ट्रिय मूर्तिकला कार्यशालाका लागि छानिए । क्रेनको सहयोगमा ती ठूला ढुंगालाई गाडीमा चढाएर गाउँ माथिको घुम्टे पहाडको काखमा लगियो ।
जिल्लाको गलकोट नगरपालिका ५ हरिचौर टेउवामा गत फागुन ५ देखि जारी कार्यशालामा तीनै ढुंगालाई ११ देशका १५ मूर्तिकारले प्राण भर्ने काम गरिरहेका छन् । १३ दिनअघि देखिएको निर्जिव ढुगां अहिले कलाले भरिएर सुन्दर मूर्ति बन्ने क्रममा रहेको आयोजक गलकोट कला प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले बताए।
आँखै अघि देखिने सुन्दर घुम्टे लेक र तलतिर ग्रामीण बस्ती हेर्दै पहाड, जल, जंगल, गाउँ समाजको अनेक परिवेशलाई समेटेर दुर्गम गाउँमा मूर्ति कुँदिरहेका मूर्तिकार त्यहाँका वातावरणले उत्साहित देखिन्छन् ।
ब्राजिलका जर्ज लुइजले घुम्टे पहाडलाई ढुंगामा कुँदेर सुन्दर मूर्ति तयार गरेका छन् । जहाँ घुम्टे लेकको ९ हजार ३ सय ९३ फिट उचाइमा रहेका सिद्ध भैरव मन्दिरदेखि त्यस तलका बन जंगल, पोखरी, गाउँ बस्ती सबै मूर्तिमा प्रष्ट देख्न सकिन्छ । गाउँकै खोलाबाट ल्याइएको दुई टनभन्दा बढीको ढुंगा कडा खालको भएकाले मूर्ति बनाउन केही कठिनाई भएपनि प्रकृतिले बिर्साएको जर्ज बताउँछन् । 
अहिले अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला भइरहेको गलकोट नगरपालिकाका अधिकांश घरका बासिन्दाको जापान गन्तव्य बनेको छ । जापानबाट आएका मूर्तिकार जुनीचिरो सुगीमोताले नेपाल जापानको द्धैत्य सम्बन्ध र रेमिट्यान्सले पारिरहेको असरको प्रतिकात्मक मूर्ति तयार गरेका छन् ।
'म जापानका अधिकांश रेष्टुरेन्टमा पुग्दा त्यहाँ नेपाल र त्यसमा पनि गलकोटका धेरै युवायुवतीलाई भेट्ने गरेको छु, 'जुनीचिरोले भने, 'अहिले गलकोट र घुम्टको काखमा आएर मूर्ति बनाउँदा यो गाउँ, यो ठाउँ र ती नेपालीहरुलाई सम्झिएर मूर्ति बनाउने प्रयास गरिरहेको छु ।'
जुनिचिरो विश्वमै चर्चित मूर्तिकार हुन् । उनको सम्मानमा जापानको एउटा शहरको नाम जुनिचिरोको नामबाटै राखिएको छ । भारतका प्रसिद्ध मूर्तिाकार टुटु पटानायक पनि सुन्दर घुम्टेको आँगनमा उभिए पछि फिदा बने । उनले घुम्टे पहाड हेर्दै हनुमानले पहाड बोकेर हिँडेको मूर्तिकलामा उतारिरहेका छन् । हिमालयको देशमा सञ्जिवनीको आशामा पहाड नै बोकेर हिँडेको किम्बदन्तीमा आधारित मूर्ति बनाउँदा पटानायकले घुम्टे हेर्दै मूर्ति बनाएको बताउँछन् ।
नेपालका कलाकार राजन काफ्ले पनि प्रकृतिले निकै लोभ्याएको उल्लेख गर्छन् । मानिसलाई कहिल्यै पनि प्रकृति र प्रविधिबाट अलग राख्न नसकिने भावको मूर्ति बनाइरहेको उनी बताउँछन् । 'प्रकृति भताभुंग पारेर विकास गर्ने लहड छ,' काफ्लेले भने, 'प्रकृतिले थेग्न सक्ने गरी मात्र विकास गर्नुपर्छ भन्ने भावको मूर्ति घुम्टे हेरेर बनाइरहेको छु ।'
जिल्ला सदरमुकामबाट चार घण्टाको सवारी साधनको यात्रामा पुगिने गलकोटको हरिचौर टेउवामा ११ देशका १५ मूर्तिकारले बिभिन्न भाव र सन्देश बोकेका १७ मूर्ति बनाइरहेका छन् । ठुला ठुला ढुंगामा कुँदेर बनाइदै गरेका मूर्तिहरुले आकार लिदै गर्दा अहिले दैनिक दुई तीन जनाले कार्यशालामा पुगेर मूर्तिको अध्ययन अवलोकन गरिरहेका छन् । गत फागुन ५ गतेदेखि जारी मूर्तिकला कार्यशालामा बनाइने आकर्षक मूर्तिहरु सोही स्थानमै खुल्ला संग्रहालय बनाएर राखिनेछ । 

पर्यटकीय सहर पोखरा र नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकलाई जोड्ने बीचको सेतुको रुपमा मूर्तिकला राखेर अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने उद्वेश्य राखिएको छ । ऐतिहासिक महत्व बोकेको गलकोट क्षेत्रलाई कलाको अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने र पर्यटक तथा कला पारखी र विद्यार्थीका लागि अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्य छ ।
अब कार्यशाला पछिको विस्तृत विकासका लागि १२ करोड लागतको डिपिआर तयार गरिएको छ । कार्यशाला दुर्गम गाउँलाई गन्तव्यको रुपमा पहिचान दिलाउन र कलाको जागरण ल्याउने सन्दर्भमा अभूतपूर्व रुपमा सफलताको नजिक रहेको मूर्तिकार एवम् कार्यक्रम संयोजक समेत रहेका स्थानीय ओम खत्रीले बताए ।
'दुर्गम गाउँमा यो कार्यशाला आयोजना गर्ने भन्दा सुरुमा स्थानीयदेखि सरकारी निकाय शिक्षित सचेत तप्काका व्यक्तिलाई पनि बुझाउन गाह्रो भएको थियो, उनले थपे, 'तर अहिले स्थानीयदेखि सबै खुशी, उत्साहित छन् । यसले भोलीका दिनमा राख्ने महत्वलाई समेत आँकलन गर्न थालिएको छ, हामी धेरै खुशी छौं ।'
कार्यशालामा नेपालबाट मूर्तिकार प्रविणकुमार श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटे सहभागी छन् । यस्तै जुनीचिरो सुगीमोतो (जापान), ल्यू याङ्ग (चीन), बिटिनो फ्रान्सेनी (इटाली), जिवियर गोञ्जालेज (फ्रान्स), लिन लि जेन (ताइवान), जुली ग्लास्पी (क्यानाडा), टुटु पटानायक (भारत), तान्या प्रिमेन्जर (इजरायल), जर्ज लुइज (ब्राजिल) र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्को कार्यशालामा सहभागी छन् । 












प्रतिक्रिया दिनुहोस !