सात महिनापछि प्रसूति सेवा सञ्चालनमा
भोजपुर : दक्ष चिकित्सक अभावमा विगत ७ महिनादेखि ठप्प जिल्ला अस्पतालको प्रसूति सेवा पुनः सञ्चालनमा आएको छ । विशेषज्ञ डाक्टरको पदपूर्तिसँगै सेवा पुनः सूचारुमा आएपछि ग्रामीण भेगका महिलालाई सहज भएको हो । रिक्त दरबन्दीमा विशेषज्ञ एमडीजीपी डाक्टर अमितेशराज पाण्डे नियुक्ति भएपछि सेवा सूचारु गरिएको अस्पतालले बताएको छ ।
दक्ष प्रसूती चिकित्सक अभावमा गत साउन १९ देखि सेवा अश्चितकालका लागि ठप्प थियो । यसअघि प्रसूतितर्फका स्थायी र करार गरी ८ जना प्रसूति चिकित्सकमध्ये शल्यक्रिया गर्ने प्रमुख डाक्टरको सरुवा भएपछि सेवा बन्द थियो ।
रिक्त दरबन्दी, सेवा सञ्चालन गर्ने, उपकरणको उपयोगितासम्बन्धि ज्ञान भएका डाक्टर नहुँदा सेवा बन्द गर्नुपरेको अस्पतालका सिनियर अनमी बसन्ता तामाङले बताइन् ।
कर्मचारी समायोजनपछि अन्यत्र सरुवा गएपछि चिकित्सक अभावमा सेवा बन्द गर्नुपरेको तामाङले सुनाइन् ।प्रत्येक महिना ७ जनासम्म महिलाले शल्यक्रियाबाट प्रसूती गराउने गरेको अस्पताल प्रमुख डाक्टर पवित्रा श्रेष्ठले जानकारी दिइन्।
सेवा बन्द हुँदा रातारात गर्भवतीलाई कष्टकर यात्रा गरेरै जिल्ला बाहिर लैजानुपरेको भोजपुर नगरपालिका १२ टक्सारकी माया राईले सुनाइन् । उनले भनिन्, 'जिल्ला अस्पतालमा अपरेसन सेवा नहुँदा साह्रै समस्या भएको थियो, अब त डाक्टर आएका छन् सहज होला।'
सडकको सहज पहुँच नहुँदा उत्तरी साल्पासिलिछो, टेम्केमैयुङ गाउँपालिका, दक्षिणी आमचोक, हतुवागढी, रामप्रसाद राई गाउँपालिकाका केही दुर्गम भेगका बिरामीलाई जोखिम मोल्नुपर्ने अवस्था छ।
तीनै तहका सरकार र सरोकारवाला निकायको लापारबाहीले दक्ष डाक्टर नपठाउँदा गर्भवती अकालमै ज्यान गुमाउनु परेको स्थानीय फविन्द्र प्रधानले गुनासो गर्छन् । खराब कच्ची सडक र नियमित हवाई उडान नहुनाले गर्भवती महिलालाई झन सास्ती हुने गरेको चिकित्सक रञ्जना श्रेष्ठले सुनाइन् ।
प्रसूति सेवा बन्द हुँदा सामान्य किसिमका गर्भवतीलाई कष्टकर यात्रा गर्दै अन्यत्र लैजानुपर्ने बाध्यता थियो।हङकङ निबासी भोजपुरबासीको चन्दा संकलनबाट ०६७ सालमा प्रसूति भवन बनाइएको हो।
प्रतिक्रिया दिनुहोस !