धमाधम नयाँ परीक्षा तालिका

धमाधम नयाँ परीक्षा तालिका

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोधपछि स्थानीय सरकार तथा विद्यालयले धमाधम नयाँ परीक्षा तालिका सार्वजनिक गरेका छन्। कोरोना (कोभिड १९) भाइरसको त्रास फैलन सक्ने आशंकामा मन्त्रालयले कक्षा १ देखि ९ सम्मका विद्यार्थीको परीक्षा चैत ५ गतेभित्र सम्पन्न गर्न विद्यालयलाई अनुरोध गरेको थियो।

चैत दोस्रो सातादेखि परीक्षा सञ्चालनको तयारी गरिरहेका सबैजसो विद्यालयले फागुनको अन्त्यबाटै परीक्षा चलाउने गरी तालिका बनाएका हुन्। कतिपय स्थानीय तहले कक्षा ८ को परीक्षा पनि अनुकूल समय मिलाएर आफैं सञ्चालन गर्न विद्यालयलाई अधिकार दिएका छन्। विगतमा जिल्ला स्तरीय भनिएको कक्षा ८ को परीक्षा स्थानीय तहबाट सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ। काठमाडौं महानगरपालिकाले कक्षा ८ को परीक्षा फागुन २८ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ। शनिबारको दिन पनि परीक्षा सञ्चालन गर्ने महानगरले जनाएको छ।

डिल्लीबजारस्थित विजय मेमोरियल माध्यमिक विद्यालयले कक्षा ८ बाहेकको परीक्षा फागुन २७ गतेदेखि चैत ५ गतेसम्म सकिने गरी तालिका सार्वजनिक गरेको छ। धादिङको थाँक्रे गाउँपालिकाले कक्षा ८ को परीक्षा पनि आफू सञ्चालन गर्न जिल्लाका विद्यालयलाई अधिकार दिएको छ। अन्य कक्षाका परीक्षा पनि आफैं सञ्चालन गर्न गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ। यस गाउँपालिकामा सम्पूर्ण कक्षाको परीक्षा चैत १० गतेबाट सञ्चालन गर्ने तालिका सार्वजनिक भएको छ।

काठमाडौंको उत्तर भेगीय संयुक्त विद्यालय समितिले पनि फागुन २७ गतेदेखि चैत ५ गतेसम्म परीक्षा चलाउने निर्णय गरेको छ। शनिबार पनि परीक्षा चलाउने समितिको निर्णय छ। काठमाडौंकै पश्चिम क्षेत्र परीक्षा समितिले पनि चैत ६ गतेदेखि सञ्चालन गर्ने गरी सार्वजनिक गरेको परीक्षा तालिकालाई परिवर्तन गरेर फागुन २८ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ। समितिका सदस्यसमेत रहेका विश्व निकेतन स्कुलका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘सरकारले नै अनुरोध गरेपछि दुःखसुख गरेर भए पनि परीक्षा चलाउँछौं।’

काठमाडौंकै शंकरापुर नगरपालिकाले कक्षा ५ र ८ को परीक्षा चैत ६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो। तर यो निर्णय संशोधन गरेर अर्को मिति तोकिने नगरपालिकाका शिक्षा शाखा प्रमुख बौद्धराज निरौलाले बताए। निजी विद्यालयहरूको संगठन प्याब्सनले फागुन २८ गते वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सहअध्यक्ष डीके ढुंगानाले जानकारी दिए। मुलुकभर ६ हजार निजी तथा संस्थागत विद्यालय छन्। सामुदायिक विद्यालय २८ हजार छन्। ती सबै विद्यालयमा गरेर कक्षा १ देखि १२ सम्म ७५ लाखको हाराहारीमा विद्यार्थी अध्ययन गरिरहेका छन्।

कक्षा ११ र १२ को वार्षिक परीक्षा भने यसअघि निर्धारण गरिएकै मितिमा हुने परीक्षा बोर्डले जनाएको छ। परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले तोकिएकै समयमा परीक्षा हुने बताए। बोर्डले कक्षा १२ को वार्षिक परीक्षा वैशाख ८ तथा ११ को वैशाख २१ गतेबाट सञ्चालन गर्ने तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। कोरोना भाइरसको संक्रमण फैलन सक्ने आशंकामा सरकारले विद्यार्थीलाई भाइरसको प्रक्रोप फैलिएका मुलुकमा अध्ययनमा जानसमेत प्रतिबन्ध लगाइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.