आयोजक र मच्छिन्द्रबीच उपाधि भिडन्त
इलाम : माई भ्याली कप फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधिका लागि शनिबार आयोजक माई भ्याली फुटबल क्लब र ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लबबीच भिडन्त हुँदैछ। यी दुवै टोली उपाधि आफ्नो पोल्टामा पार्ने धुनमा छन्। फाइनलको अघिल्लो दिन शुक्रबार भएको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षकले उपाधि आफ्नो टोलीले जित्ने दाबी गरे।
यी दुवै टोली पहिलो पटक फाइनलमा भिड्न लागेका हुन्। गोर्खा ब्वाइजलाई हराउँदै फाइनलमा पुगेको हो, मच्छिन्द्र क्लब। त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनल प्रवेश गरेको आयोजक टोलीले घरेलु मैदानको फाइदा उठाउने दाबी गरेको छ। छैटौं संस्करणको माई भ्याली गोल्डकपले नयाँ च्याम्पियन दिनेछ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लिग जितेको मच्छिन्द्र क्लब स्टार खेलाडीहरूले भरिएको छ। आयोजक टोलीसँग भने मिश्रत खेलाडी छन्। जावलाखेलका विशाल तामाङ, फ्रेन्ड्स क्लबका देव लिम्बू र ब्रिगेड ब्वाइजको शिशिर लेखीलगायतको खेलाडी आयोजक टोलीमा छन्। घरेलु टोलीसँगको भिडन्त सहज नहुने धारणा मच्छिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवालले व्यक्त गरे। उनले भने, ‘फाइनल खेल ५०–५० को हो। टिमवर्क मिलेमा खेल जित्नेछौं।’
घरेलु दर्शक र घरेलु मैदानका कारण आफूहरूलाई कुनै दबाब नभएको दाबी आयोजक टोलीका प्रशिक्षक दर्शन राजभक्तले गरे। उनले भने, ‘घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जित्ने लक्ष्य लिएका छौं।’ प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो। गोल्डकपको विजेताले आठ लाख र उपविजेता टोलीले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !