बेसहारा वृद्धा दम्पतीको बन्‍ने भयो घर

बेसहारा वृद्धा दम्पतीको बन्‍ने भयो घर

वीरगन्ज : अर्कैले बनाइ दिएको खरको झुपडीमा वर्षौदेखि आश्रय लिएर बस्दै आएका बेसहारा वृद्ध दलित दम्पतीको सहयोगका लागि दाताहरु अगाडि सरेका छन् ।  पर्साको जीरभवानी १ बलुवाका वृद्ध बागड राम चमार र उनकी श्रीमती ठगीया देवीको बिचल्लीबारे अन्नपूर्णमा भोकभोकै बेसहारा शीर्षकमा समाचार प्रकाशन भएको थियो । 

समाचार प्रकाशन भएपछि बेसहारा दलित दम्पतीका लागि पक्‍की घर बनाइ दिन विभिन्न संघसंस्था र दाता अगाडि सरेका हुन् । जायजेथा र सन्तान समेत नभएका वृद्धा दलित दम्पती, छिमेकी गौरी महरा चमारले आफ्नो खेतको पाखामा बनाइ दिएको एक कोठे साँघुरो खरको झुपडीमा वर्षौदेखि आश्रय लिएर बस्दै आएका छन्।

त्यहि जग्गामा वृद्ध दलित दम्पतीका लागि पक्‍की घर बनाइ दिन दाताहरु अगाडि सरेका हुन्। आँखा पनि राम्रो सक्न देख्न नसक्ने वृद्ध दम्पतीको पक्‍की घर निर्माणका लागि बुधबारदेखि नगद सहयोग संकलन पनि सुरु भएको छ। 

कालीकामाइ गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत राजु साहले नगद १६ हजार सहयोग गरेका छन् । हेटौडा ४ थाहाचोककी अन्जु रानाभाटले ५ हजार, उनकी आमा सरस्वती रानाभाटले २ हजार ५ र रानाभाटकी छिमेकी मीना सन्जेलले पनि २ हजार ५ रुपैयाँ सहयोग गरेका छन् ।

घर निर्माणका लागि ४ जनाले सहयोग गरेको कुल २५ हजार १० रुपैयाँ बुधबार बलुवा टोलमै पुगेर वडा अध्यक्ष शेख नमान् आजममार्फत वृद्धा दम्पतीलाई हस्तान्तरण गरिएको छ ।

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत साहले वृद्धा दम्पतीलाई १ क्वीन्टल चामल पनि प्रदान गरे ।  गत फागुन २९ मा पनि वीरगन्जको समर्पण सेवा संस्थाकी संस्थापक गायत्री देवीले बुलवा गाउँमै पुगेर नगद २ हजारका साथै ३ महिनाका लागि खान पुग्ने खाद्यान्न र लुगाकपडा प्रदान गरेकी थिइन् । 

वृद्धा दम्पतीका लागि अहिले ३÷४ महिनासम्म खान पुग्ने गरी चामल दाल मरमसला सबै सहयोगमा आइसकेको छ, स्थानीय युवा कृष्ण मोहन साहले भने, 'अब उनीहरुका लागि सुरक्षित आवासको आवश्यकता देखिएको छ त्यसैले गाउँलेको सल्लाहअनुसार दाताको सहयोग लिएर पक्‍की घर बनाउन अगाडि सरेको हौं।' 

'५० देखि ६० हजारको खर्चमा ब्लकको सिमेन्टेट एक कोठे घर बन्छ, वडा अध्यक्ष आजमले भने, 'बुधबार मात्रै सहयोगी दाताबाट २५ हजार रुपैयाँ संकलन भइसकेको छ। बाँकी ३०÷५ हजार रुपैयाँ पनि हामी सहयोग मागेर सजिलै उठाइ हाल्छौं।'

अहिले झुपडी भएको जग्गाका जग्गाधनी गौरी महरा चमार पनि पक्‍की घर निर्माणका लागि जग्गा दिन राजी भइसकेको भन्दै वडा अध्यक्ष आजमले भने, '२÷३ दिन भित्रै जग खन्ने काम सुरु गराउँछौं, २० देखि २५ दिन भित्रमा ब्लकको पक्‍की घर बनाइ सक्छौं ।'

पक्‍की घर बन्ने भएपछि वृद्धा दम्पती खुशी भएका छन् । वर्षाका बेला खरको छानो चुहिन्छ , शीतलहरीमा चिसो सिरोटेले रात बिताउनै सकस हुन्छ, ७२ वर्षीया वृद्ध बागड भन्छन्, 'तर अब पक्‍की घर बनाइ दिने भएका छन्, एक रात भएपनि राम्रो घरमा सुतेर मर्ने धोको थियो।'

उमेरले ७ दशक पार गरिसकेका वृद्धा दलित दम्पती समाजिक सुरक्षा भत्ताबाट पनि बञ्‍चित छन् ।उनीहरुले अहिलेसम्म नागरिकता पाउन सकेका छैनन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.