त्रिविको परीक्षा यथावत रहने
काठमाडौं : कोभिड १९ (कोरोना) भाइरसको संक्रमण त्रासका कारण बिहीबारदेखि विश्वविद्यालय तथा अन्य तहका पठनपाठन बन्द गर्ने निर्णय भए पनि परीक्षा भने यथावत रहने शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालले विश्वविद्यालय अन्तर्गत सञ्चालन भइरहेका र हुन लागेका परीक्षाको विषयमा कुनै पनि निर्णय नभएको बताए । ‘बुधबारको निर्णय अनुसार पठनपाठन मात्र बन्द गर्ने भनिएको हो । परीक्षाको विषयमा परिस्थिति हेरेर निर्णय गरिनेछ’, दाहालले भने ।
त्रिविका निमित्त शिक्षाध्यक्ष शिवप्रसाद भुसालले पनि परीक्षा स्थगित गर्ने विषयमा सरकारबाट कुनै निर्देशन नआएको बताए । पढाइबाहेक अन्य गतिविधि यथावत रहने भुसालले बताए । त्रिविले अहिले इन्जिनियरिङ र व्यवस्थापन सङ्काय अन्तर्गत केहि विषयको परीक्षा सञ्चालन भइरहेको छ । स्नातकोत्तर तह पहिलो वर्षको परीक्षाको मिति चैत सात गतेदेखि तोकेको छ । त्यस्तै चैत ९ गतेबाटै एक वर्षे बीएडको परीक्षा तालिका सार्वजनिक भइसकेको छ ।
एलएलबी दोस्रो वर्षको परीक्षा चैत १४ गतेबाट सञ्चालन हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । चैत २७ गतेबाट अन्य तहको पनि परीक्षा सञ्चालनको तालिका तयार भएको पनिकाले जनाएको छ ।