कोरोनाका संक्रमण त्रास : मनकामना केवलकार पनि बन्द
गोरखा : गोरखाको सबैभन्दा धेरै यात्रुको भीडभाड हुने मनकामना केबलकार चैत मसान्तसम्मका लागि बन्द हुने भएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) को संक्रमणबाट जोगिन तथा जोगाउनका लागि सेवा बन्द गर्ने निर्णय गरेको मनकामना केवलकार प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थले जानकारी दिए।
‘कोरोनाबाट सुरक्षा अपनाउँदै सरकारले विद्यालय, कलेज पनि चैत मसान्तसम्मका लागि बन्द गराएको छ। सरकारले २५ जनाभन्दा धेरै जमघट हुन नपाउने व्यवस्था गरेको छ’, कायस्थले भने, ‘त्यसैले हामीले पनि यात्रुको धेरै भीड लाग्ने भएकाले केवलकार सेवा पनि चैत महिनाभरिका लागि बन्द गरेका छौँ।’ चैतपछि के गर्ने भन्ने बारे पछि नै निर्णय हुने उनले बताए।
मनकामना केवलकारमा दैनिक करिब तीन हजारदेखि नौ हजार जनासम्म यात्रु आवतजावत गर्ने मनकामना दर्शन प्रालिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !