कोभिड– १९ : नेपालले कसरी सिक्ने ?

कोभिड– १९ : नेपालले कसरी सिक्ने ?

अब परिवेशलाई भयावह हुन नदिई संयमका साथ आपत्को सामना गर्न तत्पर हुनुको कुनै विकल्प छैन


युवाले नोहा हरारीले ‘होमो डियुस : ए व्रिफ हिस्ट्री अफ टुमारो’ मा गरेको संकेत अब पृथ्वीका कुनाकुनामा बस्नेले पनि अनुभूत गर्दैछन्। कोभिड– १९ नाम दिइएको भाइरस अन्टार्टिकाबाहेक संसारका सबै भूभागमा पुगिसकेको छ। गएको वर्षको अन्त्यतिर चीनको वुहानमा देखिएको कोरोना भाइरसले संयुक्त राज्य अमेरिका, क्यानडा र युरोपका सबै देशमा उधुम मच्याउँदै छ। इटालीमा यसका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। तर प्रकोपको यस्तो वीभत्स रूप विश्वका लागि नौलो होइन। सभ्यताको आजसम्मको इतिहासमा मानव जातिले यस्ता महामारीका अतिरिक्त केही दशकको अन्तरालमा नियमित रूपमा संक्रामक रोगहरूको केही ठूलो वा सानो प्रकोपको सामना गर्दै आएको छ। त्यसैले सकेसम्म कम क्षति व्यहोरेर कोरोना भाइरसलाई परास्त गर्ने संकल्प गर्नुको विकल्प छैन।

हरारी चौधौं शताब्दीको मध्यअगावै पूर्वी र मध्य एसियाबाट उपियाँको टोकाइबाट सर्ने प्लेग मुसाको शरीरमा चढेर संसारभर पुगेको दृष्टान्त प्रस्तुत गर्छन्। उनी उपियाँको टोकाइबाट मानिसमा सुरु हुने एक प्रकारको ब्याक्टेरियाको संक्रमण समग्र एसियामा फैलिएर दुई दशकभन्दा कम समयमा युरोप र उत्तरी अफ्रिका हुँदै प्रशान्त महासागर तटीय क्षेत्र पुगेको स्मरण गराउँछन्। उनी आजका मानिसलाई स्मरण गराउँछन्, त्यही महामारीका कारण युरोप र एसियाका एकचौथाइ जनसंख्या अर्थात् साढे सातदेखि २० करोड मानिसको ज्यान गएको थियो। बेलायतमा प्लेगको संक्रमणबाट १० मध्ये चारजनाको मृत्यु भएको थियो।

तर आधुनिककालको सुरुवातअघि मध्यकालमा, मानिस रोगव्याधका लागि खराब वायु, भूतपिशाच वा क्रोधित देवी–देवतालाई दोष दिन्थे। किनकि त्यसबेलासम्म ब्याक्टेरिया र भाइरसको अस्तित्वबारे यति धेरै जानकारी थिएन। त्यही अज्ञान अवस्थाकै कारण मानिस सूक्ष्म उपियाँ, लामखुट्टेको टोकाइ वा एक थोपा वा छिटा दूषित तरलमा संक्रमणका असंख्य फौजी कीटाणुको प्रसार हुन सक्छ भन्ने कुराबाट त्यसबेला अनभिज्ञ थिए। त्यसैले त्यो समयका शासकहरू महामारीको प्रकोपका अगाडि निरिह थिए। महामारीको फैलावटलाई रोक्न ठूला–ठूला प्रार्थनासभा वा र्‍यालीबाहेक केही गर्न सकिन्छ भन्ने उनीहरूलाई थाहा थिएन। त्यसबेला हरेक व्यक्ति, एक्लैले आफू जोगिने उपाय गर्नुपथ्र्यो।

आजको अवस्था नितान्त फरक छ। पहिलो कुरा आउने दिनमा यस्तो महामारी फैलन सक्छ भन्ने कुरा सम्बन्धित विषयका अनुसन्धानदाता, खोजकर्ता, विज्ञ र वैज्ञानिकको ज्ञानको क्षेत्रभित्रै रहँदै आएको छ। दोस्रोे कुरा, यस्ता विषयमा देश–देशका सरकारहरूका तहमा समेत छलफल हुँदे आएको छ, मानव जातिको जीवनरक्षाका उपायका विषयमा विमर्श हुँदै आएको छ। कुनै न कुनै किसिमका पहलसमेत हुँदै आएका छन्। त्यसैले कोरोना भाइरसको प्रसार र त्यसकै कारण उत्पन्न कोभिड– १९ महामारीको विश्वव्यापी प्रभावले संसारका सबै देशका सामाजिक र शासकीय प्रणालीको साँचो अर्थमा परीक्षण भइरहेको छ वा हुनेछ।

अब देशहरू दाता र प्रापकको परिचयमा मात्र सीमित हुने छैनन्। कोरोनाविरुद्ध जनतालाई सुरक्षा प्रदान गर्न सक्ने र नसक्ने देशको छुट्टाछुट्टै पहिचान स्थापित हुनेछ। आजका शासकहरू भाग्य वा देवीदेवताको क्रोधलाई दोषारोपण गर्न त सक्दैनन्। मानिसका आधारभूत अधिकारको दायरा निकै फराकिलो भएको अवस्थामा उनीहरू आफ्ना जिम्मेवारी र उत्तरदायित्वबाट समेत पन्छिन सक्दैनन्। आजको विश्वमा कुनै खास राजनीतिक मानचित्रभित्रको कोरोना भाइरसको संक्रमण कुनै देशको आन्तरिक मामिला मात्र होइन। त्यसैगरी विश्व राजनीतिमा समेत कोभिड– १९ लाई मात खुवाउने शक्ति नै भविष्यको मुख्य शक्तिका रूपमा उदाउने आकलन गर्न थालिएको छ। धेरैको अनुमान छ– कोरोनालाई परास्त गरिसकेपछिको विश्वको आर्थिक, सामाजिक र राजनीतिक आयाम अलग्गै हुनेछ।

उत्तरी छिमेकीको लक डाउनको सफलता र दक्षिणी छिमेकीमा जनता कफ्र्युको सन्देशमार्फत देखाइएको सावधानीबाट नेपालका शासक र जनता दुवैले गम्भीर पाठ गहण गर्नैपर्छ।

मार्क स्टेनले सन् २०११ मै ‘आफ्टर अमेरिका’ नामक पुस्तकमा भविष्यवाणी गरेका थिए– एक दिन वासिंटन बेइजिङका सामु स्वेजकै क्षणमा पुग्नेछ। उनले आफ्नो भनाइको अर्थ प्रस्ट्याउँदै भनेका थिए– चीनले अमेरिकालाई एक दिन त्यसैगरी लज्जित तुल्याउने छ, जसरी अमेरिकाले सन् १९५६ को स्वेज संकटका बेला बेलायतलाई अपमानित गरेको थियो। सन् १९५६ को जुलाईमा इजिप्सियन राष्ट्रपति नासेरले त्यतिबेलासम्म फ्रान्सिसी र बेलायती स्वार्थको अधीनस्थ स्वेज क्यानल कम्पनीको स्वामित्वमा रहेको स्वेज नहरलाई राष्ट्रियकरण गरेपछि बेलायत मर्माहत भयो। तर त्यही घटनाबाट उत्पन्न विवादकै क्रममा कुनै बेलाको बेलायती साम्राज्यको शक्तिशाली हैसियतको अपमानजनक अन्त्य हुन गयो।

त्यतिबेला बेलायतले सैन्यशक्तिका अगाडि होइन आर्थिक विवशताका सामु घुँडा टेकेको थियो। अमेरिकाले बेलायती पाउन्डलाई सहयोग गर्न अस्वीकार गरेपछि बेलायती सरकार मौद्रिक संकटमा परेको थियो। त्यहीकारण बेलायत फ्रान्स र इजरायललाई स्वेज नहर पुनः कब्जा गर्ने ध्येयबाट पछाडि फर्काउन बाध्य भएको थियो। आज फेरि कोरोनाले अन्तर्राष्ट्रिय ऋण बढ्दै जाँदा संयुक्त राज्य अमेरिका स्वेजकै क्षणमा पुग्न सक्ने आशंकालाई ब्युँताइदिएको छ।

कतिपयलाई लागेको छ– विश्वका दुई ठुला शक्ति राष्ट्र चीन र अमेरिकाको भाइरस नियन्त्रण गर्ने शैली र अनुभवमा खासै अन्तर देखिएन। तर चीनले कोरोना भाइरसलाई परास्त गरेर एपिसेन्टरका रूपमा प्रचारित वुहानमा समेत करिब दुई महिनाको तालाबन्दी र रोकपश्चात् जनजीवन सामान्य तुल्याउने सफलता हासिल गरेको छ। कोरोनो भाइरसविरुद्धको विश्वव्यापी युद्ध कठिन मोडबाट अघि बढिरहेको अवस्थामा चीनको अवि श्रान्त मेहनत सबैतिर अनुकरणीय पनि ठानिएको छ।

बितेका साताहरूमा कोभिड– १९ ले अब भयानक र विश्वव्यापी महामारीको रूप मात्र धारण गरेको छैन, विद्यार्थी–शिक्षकलाई स्कुल–कलेजबाट बाहिर पारेको छ। लाखौं मानिस सामाजिक दूरी र एकान्तवासको सिद्धान्त अंगीकार गर्न विवस भएका छन्। सबै पेसा र तहका मानिसलाई अति ठूलो संख्यामा काम धन्दाबाट विमुख गराएर कोरोनाले विश्व अर्थतन्त्रलाई तहसनहस पार्ने बाटो खोलेको छ। यति उथलपुथलकारी कोरोना भाइरसको दुनियाँभरको उत्पात देखेको नेपालले आज सम्भावित अनिष्टको सामना गर्ने तयारी गर्ने मौका पाएको छ। संसारभरबाट सिक्ने अवसर पाएको छ। उत्तरी छिमेकीको लक डाउनको सफलता र दक्षिणी छिमेकीमा जनता कफ्र्युको सन्देशमार्फत देखाइएको सावधानीबाट नेपालका शासक र जनता दुवैले गम्भीर पाठ गहण गर्नैपर्छ।

कोरोनाविरुद्धको रणनीतिमा उल्लेखनीय सफलता हासिल गरेका देशबाट मात्र होइन, अव्यवस्था र लापरबाहीका कारण स्थितिलाई झन् भयावह बनाउने देशहरूबाट पनि नेपालले पाठ सिक्नुपर्छ। यस सन्दर्भमा भएका असल अभ्यासबाट विशेष लाभ लिने अवसर हामीले पाएका छौं। इटालीमा कोरोना भाइरसको फैलने शृंखलालाई तोड्न नसकेकै कारण भयावह अवस्था उत्पन्न हुन पुगेको थियो। सुरुमा त्यहाँ भाइरस फैलँदै गरेको थाहा नै हुन सकेन। त्यहीकारण केही दिनमै कोभिड– १९ ले भयावह रूप धारण गर्न सक्यो।

कोरोना भाइरसविरुद्धको प्रयासका मामलामा ताइवानले पनि उदाहरण प्रस्तुत गरेको छ। विश्व स्वास्थ्य संगठनले चीनकै अंंग मानेको भए पनि अहिलेसम्म बेग्लै राजनीतिक अस्तित्व कायम गर्दै आएको ताइवानमा गरिएको संक्रमण रोकथाम प्रयासको सराहना गरिएको छ। त्यहाँ अन्य कतिपय देशमा जस्तो परीक्षण नभएका कारण संक्रमितको संख्या प्रकाशमा नआएको अवस्था छैन। इन्टरनेटमा आधारित सूचना प्रविधि र नागरिक सहभागिताका कारण त्यहाँको सम्भावित संक्रमणबाट बच्ने वा बाहिरबाट संक्रमितको प्रवेशमा रोक्ने पहल प्रभावकारी र असल अभ्यास सावित भएको छ।

नागरिककै तहबाट महत्वपूर्ण सूचना सरकारका तहमा प्रविधिको माध्यमले द्रूतगतिमा पुग्ने मात्र होइन, तत्कालै सूचना सम्बन्धित तहरूमा कार्यान्वयनका लागि सम्प्रेषित हुनेजस्ता व्यवस्थापनका कारण ताइवानको डिजिटल डेमोक्रेसीकोे प्रशंसा गरिएको छ। दुई करोड २३ लाख जनसंख्या भएको ताइवानमा प्रविधिको मद्दतले तयार भएको सुशासनको आधारकै कारण कोरोनाविरुद्धको लडाइँ प्रभावकारी भएको विश्लेषणसमेत गरिएको छ। सन् २००३ मा सार्सको महामारीको सामना गर्ने ताइवानमा यसपटक कोरोना भाइरसविरुद्धको प्रयासमा सरकार र नागरिकबीच निकै सहमतिपूर्ण, समन्वयकारी र पारदर्शिता सम्बन्ध कायम भएकोे चर्चा गरिएको छ।

संसारभरका अनुभवबाट सिकेर नेपालमा जनस्तरबाटै पनि महामारीबाट बच्न आनीबानीमा परिवर्तन गर्ने प्रयत्न बढेको छ। सरकारले यातायात र कार्यालयहरू स्थगित गर्ने आह्वान गरेको छ। अन्यत्र प्रभावकारी सावित भएको आवतजावत र सामाजिक दूरी घटाउन सघाउ पुर्‍याउने सरकारका निर्णय सार्वजनिक भएका छन्। क्वारेन्टाइन स्थल र अस्पताल तयार गरिएका छन्। कोरोना संक्रमितका लागि आइसोलेसन वार्ड तयार गरिएका छन्। अब परिवेशलाई भयावह हुन नदिई संयमका साथ आपत्को सामना गर्न तत्पर हुनुको कुनै विकल्प छैन।

हाम्राअगाडि विज्ञानका वरदान मात्र छैनन्। हरारेले उल्लेख गरेजस्तै गएको शताब्दीमा मानव जाति दुइटा कारणले महामारीको झन् नजिक पुगेको छ। बढ्दो जनसंख्या र उत्कृष्ट यातायात सुविधाका कारण महामारीको जोखिम झन् बढेको आकलन उनले पाँच वर्षअघि नै गरेका थिए। अहिलेको संसारमा कुनै एक ठाउँको भाइरस चौबीस घन्टा बित्दानबित्दै संसारको कुनाकन्दरा वा टाढाटाढाका बसोवाससम्म पुग्न सक्छन्। उनी त्यसैले भन्छन्– हामीले महामारीको नर्कमा बस्न तत्पर हुनैपर्छ, जहाँ एकपछि अर्को प्रलयकारी संंक्रमण फैलिइरहन्छन्। आज संसार कोरोना भाइरसविरुद्ध यति सबै बुझेर, त्यसको विनाशकारी शक्तिको मापन गरेर त्यसलाई परास्त गर्न अग्रसर छ। हामी सबैले आआफ्नो ठाउँबाट कोभिड– १९ को पराजित गर्ने विश्व रणनीतिलाई सघाउनुपर्छ। यो लडाइँमा हामी विश्वभरका मानव जाति एक ठाउँमा छौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.