ज्वरो र रुघाखोकीका बिरामीले एम्बुलेन्स सेवा पाएनन्
![ज्वरो र रुघाखोकीका बिरामीले एम्बुलेन्स सेवा पाएनन्](https://annapurnapost.prixacdn.net/media/albums/ambulance-_20180527053057_7I3wBUZtKN.jpg)
बेनी : म्याग्दीमा ज्वरो र रुघाखोकीका बिरामी एम्बुलेन्स सेवाबाट बञ्चित भएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण एम्बुलेन्स चालकले ज्वरो र रुघाखोकीका बिरामी बोक्न नमानेका हुन् ।
बेनी नगरपालिका -४ सुर्केमेलामा ज्वरो र रुघाखोकीका बिरामीलाई अस्पताल पुर्याउन एम्बुलेन्स बोलाउँदा व्यक्तिगत सुरक्षाका सामग्री (पिपिसी) नभएको भन्दै चालक आउन नमानेका वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले बताए ।
तीन÷चार दिनदेखि थलिएकी १९ वर्षीया महिलालाई बेनी अस्पताल लैजान परिवारका सदस्यले आग्रह गरेपछि वडा अध्यक्षले नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको एम्बुलेन्सका चालकलाई सम्पर्क गरेका थिए ।
'बेनी अस्पतालको एम्बुलेन्स काठमाडौं गएको रहेछ । रेडक्रसको एम्बुलेन्स चालकले कोरोनाको जोखिमका कारण व्यक्तिगत सुरक्षाका सामग्री नभए सम्म ज्वरो र रुघाखोकीका बिरामी नबोक्ने बताए,' उनले भने, 'अन्य निजी गाडीले पनि बिरामी बोक्न मानेनन् । बिरामी घरमै छन् । औषधि लिन आफन्त बेनी गएका छन् ।'
म्याग्दीमा रेडक्रस सोसाइटीको जिल्ला शाखा, दरवाङ उपशाखा, बेनी अस्पताल र अन्नपूर्ण गाउपालिकाको चार वटा एम्बुलेन्स छन् । अन्य रोगका बिरामी र दुर्घटनाका घाइतेलाई सेवा दिएका छन् । व्यक्तिगत सुरक्षाका सामग्री नहुँदा सम्म ज्वरो र रुघाखोकीका बिरामी बोक्न जोखिम हुने चालकले बताए.
नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखाको एम्बुलेन्स सञ्चालन उपसमितिका संयोजक सुरज केसीले एम्बुलेन्स चालकको व्यक्तिगत सुरक्षाको सामग्री मगाइएको बताए । सामग्री आएपछि ज्वरो र रुघाखोकीका बिरामीले पनि एम्बुलेन्स सेवा पाउने उनले बताए ।
बेनी अस्पतालमा कोरोनाका बिरामीको उपचारमा आवश्यक पर्ने पर्याप्त व्यक्तिगत सुरक्षाका सामग्रीको अभाव भएको चिकित्सकले बताएका छन् । १८ सेट व्यक्तिगत सुरक्षाका सामग्री आएको अस्पतालका प्रमुख डाक्टर मनोज घिमिरेले बताए ।
'बिरामी बोक्ने एम्बुलेन्सका चालक, नजिकै बस्ने कुरुवा, उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीका लागि पिपिसी सामग्री आवश्यक पर्छ, 'उनले भने, 'थप सामग्री व्यवस्थापन गर्न समितिका पदाधीकारीलाई माग गरिएको छ ।'
लकडाउन घोषणा भएपछि मंगलबार बेनी अस्पतालमा ज्वरोका बिरामीको उपचारका लागि छुट्टै कक्ष बनाइएको छ । कोरोनाका शंकास्पद बिरामीको उपचारका लागि बेनीको हिलसाइडस्थित माउन्ट एभरेष्ट आवासीय माविको पुरानो भवनको ५ वटा कोडामा १० शैया क्षमताको अस्थायी अस्पताल स्थापना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)