कोरोना रोकथामका लागि पालिकामा आकस्मिक कोष
![कोरोना रोकथामका लागि पालिकामा आकस्मिक कोष](https://annapurnapost.prixacdn.net/media/albums/myaagdi-beni-malika-Raghunga-Gaupalika_20200327073014_cG8ma1Ogv5.jpg)
बेनी : म्याग्दीको बेनी नगरपालिकाको दैवी प्रकोप उद्दार विशेष कोषमा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि पचास लाख रुपैयाँ थप गर्ने निर्णय गरेको छ।शुक्रबार बसेको नगर स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले रकम थप गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए।
कोषको रकमबाट बेनी अस्पताललाई क्वारेन्टाइन, आइसोलेसन व्यवस्थान, उपचार र सुरक्षा सामग्रीको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ।
नगरबासीलाई कोरोनाका कारण उत्पन्न समस्या सम्बोधनका लागि नगरप्रमुख हरिकुमार श्रेष्ठको संयोजकत्वमा क्विक रेस्पोन्स टिम (द्रुत कार्यसम्पादन समिति) गठन भएको छ । समितको सदस्यमा उपप्रमुख सञ्जु बरुवाल, प्रशासकीय अधिकृत शर्मा, कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइली र कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा छन् । कोरोनाका कारणले नगर क्षेत्रका बिरामीले एम्बुलेन्स नपाएको अवस्थामा नगरपालिकाकै गाडीलाई बिरामी बोक्न प्रयोग गर्ने भएको छ ।
गाउँपालिका अध्यक्षले दिए चार लाख
रघुगंगा र मालिका गाउँपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गरेका छन् । कोषमा रघुगंगाले चौतीस लाख र मालिकाले बीस लाख रुपैयाँ विनियोजन गरेका छन् । रघुगंगाको पालिका स्तरीय विपद् व्यवस्थापन समितिले कोष स्थापना गर्न तीस लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
कोषमा अध्यक्ष भवबहादुर भण्डारीले व्यक्तिगत रुपमा थप चार लाख रुपैयाँ उपलब्ध गराएका गाउँपालिकाका नायव सुब्बा दयाराम पौडेलले जानकारी दिए । रघुगंगा गाउँपालिकाका ८ वटै वडामा पाँच/पाँच बेड क्षमताको क्वारेन्टाइन बनाइएको छ।
स्वास्थ्यकर्मीका लागि सबै वडामा पाँच/पाँच सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध गराइएएको छ । विदेशबाट पछिल्लो एक महिनायता आएकाको विवरण र अवस्था संकलन गर्न शिक्षक, महिला स्वास्थ्य स्वयमसेविका, जनप्रतिनिधि र कर्मचारी परिचालन गरिएको अध्यक्ष भण्डारीले बताए।
यसैगरी मालिका गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले कोरोना रोकथामका लागि स्थापित आकस्मिक कोषलाई बीस लाख रुपैयाँ विनियोजन गरेको अध्यक्ष श्रीप्रसाद रोकाले बताए।
दरवाङको छ्यारछ्यारेस्थित जनप्रिय माविको भवनमा ८ शैय्या क्षमताको आइसोलेसनसहितको अस्थायी अस्पताल बनाइएको छ । विभिन्न वडामा सचेतनामुलक कार्यक्रम, माइकीङ, विदेशबाट पछिल्लो समय घर फर्किएकाको लगत संकलन गरिएको उपाध्यक्ष खरमाया बिटालुले बताइन्।
तमानखोलाबाट मालिका गाउँपालिकामा आउने जाने बाटोमा पर्ने सोलेडाडामा अस्थायी चेक पोष्ट स्थापना गरिएको छ । शंकास्पद बिरामीहरुको उपचारका लागि दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकलाई तयारी अवस्थामा राखिएको छ । ८ सेट व्यक्तिगत सुरक्षाका सामग्रीको समेत व्यवस्थापन गरिएको छ।
यसअघि धवलागिरी गाउँपालिकाले कोरोना रोकथामका लागि पाँच लाख रुपैयाँको कोष स्थापना गरेको थियो।
यसैगरी जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीले कोरोना रोकथामको कामलाई थप प्रभावकारी र व्यवस्थित बनाउन पाँच लाख रुपैयाँ विनियोजन गरेको छ । बेनी अस्पताल, कोरोना विशेष अस्थायी अस्पतालका लागि आवश्यक सामग्री खरिद तथा सञ्चालनका लागि समितिको कोषबाट रकम विनियोजन गरेको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।
२०७२ को भूकम्पका बेला संकलन भएको ११ लाख ३२ हजार रुपैयाँ समितिको कोषमा थियो । समितिले विनियोजन गरेको रकम अपुग भएमा बेनी नगरपालिकाले पाँच लाख र रघुगंगा गाउँपालिकाले दुई लाख पचास हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । यसअघि पाँच लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले प्रत्येक जिल्लामा थप पाँच लाख पठाउने जनाएको छ।
यसैगरी कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि भएको गतिविधिको दैनिक समिक्षा र रिपोटिङ गर्न प्रजिअकै अध्यक्षतामा कमाण्ड पोष्ट गठन गरिएको छ । पोष्टमा सुरक्षा निकायका प्रमुख, स्थानीय तह, अस्पताल, स्वास्थ्य कार्यालय, उद्योग वाणिज्य संघ, रेडक्रसका प्रतिनिधिलाई राखिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)