दोलखामा विदेशबाट आएकाको तथ्याङ्क निकाल्न ढिलाइ : २ सय १० बेडको क्वारेन्टाइन रित्तै
दोलखा : दोलखाका विभिन्न स्थानमा बनाइएको २१० बेडको क्वारेन्टाइन लकडाउनको छैटौं दिनसम्म पनि रित्तै छ । विदेशबाट आएका व्यक्तिको तथ्याङ्क, निगरानी र क्वारेन्टाइनमा पठाउने विषयमा लकडाउनको छैटौँ दिनसम्म पनि सम्बन्धित निकायले काम गर्न नसक्दा ३ स्थानीय तहले निर्माण गरेको २१० वेडको क्वारेन्टाइन रित्तै भएको हो ।
स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले आइतबारसम्म जिल्लामा स्थापना भएको क्वारेन्टाइन सबै रित्तै अवस्थामा रहेको बताए ।
जिल्लाका जिरी नगरपालिकाले दुईसय, शैलुङ गाउँपालिकाले ८ र बैत्यश्वर गाउँपालिकाले २ गरी कूल २१० वेडको क्वारेन्टाइन रित्तै अवस्थामा पुगेको छ । विदेशबाट आएकाबाट नेपालमा कोरोना संक्रमण फैलिएको पुष्टि भइसक्दासमेत दोलखामा विदेशबाट भित्रिएकाको आइतबारबाट बल्ल खोजी सुरु गरिएको छ । दोलखामा भारत, मलेसिया, कतार, जापान, बंगलादेश लगायत मुलुकबाट करिब पाँचसयको संख्यामा मानिस जिल्ला प्रवेश गरेको अनुमान छ ।
विपद् व्यवस्थापन समिति तथा जनप्रतिनिधिको गैरजिम्मेवारीको कारण बिदेशबाट फर्किएका गाउँघरमा खुलेआम हिँडडुल गरिरहँदा क्वारेन्टाइन भने रित्तै हुन पुगेको हो । पछिल्लो २ हप्ताभित्र विदेशबाट फर्किएकामा संक्रमण हुनसक्ने सम्भावना प्रति जिम्मेवार निकायले बेवास्ता गर्दा स्थानीयमा संक्रमणको त्रास बढेको छ । सो बारे स्थानीय जनप्रतिनिधि र अधिकारीहरू जानकार भए पनि क्वारेन्टाइनमा पठाउने विषयमा गम्भीर हुन नसक्दा आम नागरिकको ज्यान जोखिममा परेको स्थानीयको आरोप छ ।
जिल्लामा विदेशबाट फर्किएका शंकास्पद व्यक्ति र संक्रमित विरामीका लागि ५९ ओटा आइसोलेसन कक्ष तयार गरिएको छ । कालिञ्चोक गाउँपालिकामा दुई हप्ताको अवधिमा ६४ जना भित्रिएको विवरण संकलन गरिएको छ । तर उनीहरू घरमै सामुहिक क्वारेन्टाइनमा रहेको सूचना प्राप्त भएको छ । सूचना अधिकारी झाले बिदेशबाट जिल्ला फर्किएका सबैलाई सुविधासम्पन्न क्वारेन्टाइनमा राख्न सक्ने सम्भावना नरहे पनि यसबारे छिट्टै ठोस निर्णय हुने बताए ।
कोरोना भाइरस संक्रमणको सम्भावित नियन्त्रण र जिल्लामा प्रभावकारी समन्वयका लागि जिल्ला समन्वय समितिका संयोजक डवल पाण्डेको संयोजकत्वमा जिल्ला समन्वय तथा सहजीकरण समिति गठन गरिएको छ । समितिमा प्रमुख जिल्ला अधिकारी, सुरक्षाका सबै निकाय तथा सबै स्थानीय तहका प्रमुख, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !