दैलेखका दुई शंकास्पदको रिपोर्ट नेगेटिभ
दैलेख : नोबेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको आशंकामा दैलेखको राकमकर्णाली स्वास्थ्य चौकीको आइसोलेसनमा भर्ना गरिएका दुई जना बिरामीको रिर्पोट नेगेटिभ आएको छ । एकै घरका दुई दाजुभाइलाई ज्वरो र रुघाखोकी देखिएपछि गत बुधवार आठबीस नगरपालिका–४ स्थित राकमकर्णाली स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो ।
शुक्रबार स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत र स्वास्थ्य सेवा कार्यालय दैलेखको ल्याबको टोली राकमकर्णाली स्वास्थ्य चौकीमै पुगेर उनीहरुको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको थियो ।
आइतबार आएको रिपोर्टमा दुवैको कोभिड–१९ भाइरस संक्रमण नभएको पुष्टि भएको आठबीस नगरपालिकाका स्वास्थ्य शाखा संयोजक देवराज तिमिल्सेनाले जानकारी दिए ।
दैलेखबाट नमुना संकलन गरी कोरोना भाइरस परीक्षणका लागि पठाइएको यो पहिलो रहेको भएको दैलेख अस्पतालका प्रमुख डा. निरन्जन पन्तले जानकारी दिए । जिल्लाका विभिन्न स्थानीय तहमा भारत लगाएतका मुलुकबाट मजदुरी गरी फर्किएका व्यक्तिहरु क्वारेन्टाइनमा बसेको भएपनि आइसोलेसनमा राखेर उपचार गर्नुपर्ने बिरामी नआएको डा.पन्तले जनाए ।
प्रतिक्रिया दिनुहोस !