कोरोना त्रास : माथिल्लो तामाकोशीको निर्माण रोक्न स्थानीयको अल्टिमेटम
चरिकोट : साढे ९९ सय प्रतिशत निर्माण सम्पन्न राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा 'लकडाउन' गर्न स्थानीयले अल्टिमेटम दिएका छन् ।
सरकारले एक हप्तादेखि गरिरहेको लकडाउनमा पनि आयोजनाको निर्माण कार्य निर्वाध रुपमा चलिरहेको छ। आयोजनाले निर्माण कार्य जारी राख्दा मानिसको आवतजावतले कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न विगु गाउँपालिका १ लामाबगरका स्थानीयले अल्टिमेटम दिएका हुन् ।
स्थानीय ६७ जनाले संयुक्त हस्ताक्षर गरी आइतबार साँझ आयोजनाको मुख्य कार्यालय गोंगरखोलामा निवेदन बुझाउँदै सरकारले गरेको 'लकडाउन' पूर्ण पालना गर्न अल्टिमेटम दिएका हुन् । आयोजना व्यवस्थापन र आयोजनाको मुख्य ठेकेदार कम्पनी सिनो हाइड्रोलाई सम्बोधन गरी दिइएको अल्टिमेटममा लकडाउनको पूर्ण पालना नभए भविष्यमा पर्न आउने जोखिमलाई आयोजना र सिनो हाइड्रोले व्यहोर्नु पर्ने उल्लेख छ ।
बाहिरी मान्छेको आवतजावतलाई रोक्नु र काम बन्द गर्नु भन्ने व्यहोराको स्थानीयको निवेदन प्राप्त भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिए । निवेदन उपर आयोजना व्यवस्थापनसँग छलफल गरेर 'लकडाउन' सम्बन्धि निर्णय गरिने प्रवक्ता डा. न्यौपानेले जनाए ।
स्थानीयले सिनो हाइड्रो, सीमा प्रहरी चौकी लामाबगर, आयोजना, सशस्त्र प्रहरी बल लामाबगर र नेपाली सेनाको तारादल गण 'ख' गुल्म लामाबगरलाई बोधार्थ दिएर आयोजनाको गोंगर कार्यालयमा अल्टिमेटम दर्ता गराएका छन् । स्थानीय व्यवसायी, शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, कृषक, महिलालगायतको उपस्थितिमा निर्णय नै गरेर आयोजनालाई अल्टिमेटम दिइएको स्थानीय शिक्षक प्रदिप सुनुवारले जानकारी दिए ।
ठेकेदार कम्पनी र परामर्शदाताले लकडाउन गर्ने आशयको पत्राचार समेत गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए । इन्धनको व्यवस्थापन गर्न नसक्दा धेरै काम रोकिँदै गइरहेको आयोजनाले जनाएको छ । आयोजना क्षेत्रमा चीनियाँ, भारतीय र युरोपका गरी चारसयभन्दा बढी कामदार खटिरहेका छन् । एक हप्ताको लकडाउनले खाद्यन्न पनि रित्तिँदै गइरहेको बताइएको छ ।
बाँधमा जमाइएको पानी घटाउने काम र भूमीगत विद्युतगृहभित्रको विभिन्न संरक्षणका कार्यहरु नरोकिने प्रवक्ता न्यौपानेको भनाइ छ । तर आयोजनाको सबैभन्दा कठिनमध्ये मानिएको माथिल्लो तथा तल्लो ठाडो सुरुङको काम भने रोकिने भएको छ । आयोजनाको मुख्य बाँकी रहेकै काम रोकिँदा विद्यृत् उत्पादन गर्ने अवधि अझ लम्बिने पक्का भएको छ ।
गत चैत ३ गतेदेखि सुरु गरिएको आयोजनको बालुवा थिग्राउने पोखरी (डिस्यान्डर बेसिन), बाँधलगायतका संरचनाको प्राविधिक परीक्षण निरन्तर चलिरहेको छ । विभिन्न कारण १७ इन्च भासिएको बाँधमा ग्राउटिङ प्रविधि अपनाएर मर्मत गरेपछि बाँधलगायतको संरचनाको पहिलोपटक गरिएको परीक्षण पनि सफल हुँदै गईरहेको आयोजनाले जनाएको छ ।
स्थानीयले आयोजनालाई दिएको अल्टिमेटम सहितको निवेदन।
प्रतिक्रिया दिनुहोस !