विदेशबाट आएका निस्फिक्री हिँड्दा स्थानीय त्रसित

विदेशबाट आएका निस्फिक्री हिँड्दा स्थानीय त्रसित

काठमाडौं : कोरोनाबाट बढी सङ्क्रमित भएको देशबाट आएका मानिस क्वारेन्टाइनमा नबसी निस्फिक्री हिँडिरहँदा सङ्क्रमण फैलने डरमा स्थानीयवासी त्रसित बनेका छन्। गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि एक साताअघि विदेशबाट आएका १० जना छन्। तीमध्ये बढी प्रभावितमध्येको फ्रान्सबाट आएका मानिस क्वारेन्टाइनमा नबसी बिना रोकतोक हिँडिरहँदा स्थानीयवासी त्रसित भएको वडाध्यक्ष कृष्णबहादुर पण्डितले बताए। 

'यसरी हिँड्नेका विषयमा महानगरीय वृत्त बौद्ध, नगरपालिका, जनस्वास्थ्य कार्यालय सबैतिर खबर गरेँ, तर क्वारेन्टाइनमा राख्ने व्यवस्था भएन, बढी सङ्क्रमित देशबाट आएकालाई समाजमै घुलमिल भएर बस्न दिए रोग फैलनेमा स्थानीयवासीको चिन्ता छ, मैले जोखिम मोलेर पटकपटक गएर भन्दा पनि डुल्न छाडेका छैनन्', उनले भने। 

खबर गरिएका कार्यालयका प्रमुखले लक्षण देखिए मात्र लैजाने भनेकाले पनि त्यस बेलासम्म सङ्क्रमित भएको भए अरुलाई सर्ने चिन्ता बढेको वडाध्यक्ष पण्डितको गुनासो छ। सञ्चारमाध्यममा विदेशबाट फर्किएका जति क्वारेन्टाइनमा राखिएको भनी प्रसारण गरिए पनि आफ्नो वडामा भने त्यस्तो हुन नसकेको उनको भनाइ छ। अध्ययन गर्न भारत, दुबई गई फर्किएका विद्यार्थी भने घरमै क्वारेन्टाइनमा बसेका छन्। बाहिर निस्की रहनेकहाँ वडाध्यक्ष पण्डित दिनमा एकपटक पुगेर सम्झाउने गरे पनि घरमै क्वारेन्टाइनमा बस्न मानेका छैनन्। 

वडाको गतिविधि हेर्दा सञ्चारमाध्यममा कोरोनाको तयारीका सन्दर्भमा आउने गरेका समाचार सबै गफ रहेछन् भनी मान्नुपर्ने निष्कर्षमा आफू पुगेको स्थानीयवासी श्रीकृष्ण ज्योतिको दुःखेसो छ। 'वडामा विदेशबाट आएर घुमिरहनेलाई जिम्मेवार निकायले नियन्त्रणमा लिन नसक्दा सङ्क्रमण फैलन सक्ने देखियो, कसैले कसैलाई जोगाउने देखिएन, भगवान् पशुपतिनाथको कृपाले बाँचियो भने मात्र हो, हिँड्नेलाई लकडाउनले पनि रोक्न सकेन', उनले भने। 

विदेशबाट आई वडा नं २ को कार्यालय नजिकैको टहरामा बस्ने दुई जना मानिस बेलगाम हिँडिदिँदा वरपरका स्थानीयवासी भयमा बाँच्न बाध्य छन्। विश्वमा फैलिएको हेरेर पनि पाठ नसिके भयावह अवस्था आउनेतिर बेलैमा सचेत हुनुपर्ने स्थानीयवासीको माग छ। 

सङ्क्रामक रोग ऐनअनुसार यसरी निस्कनेलाई जेलसम्म हाल्न सकिने व्यवस्था भए पनि प्रहरीले समेत गम्भीररूपमा नलिएको जनप्रतिनिधि र स्थानीयवासीको भनाइ छ। महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्की गोकर्णेश्वर-२ को विषयमा प्रहरीमा सूचना आएपछि स्थलगतरूपमै पुगेर घरमै क्वारेन्टाइनमा बसिदिनुस्, परिवारमा पनि घुलमिल नहुनुस् भनी सम्झाएको बताए। 

'बौद्ध वृत्तले हेर्ने क्षेत्रमै अहिलेसम्म ५८ मानिस विदेशबाट आएका रहेको तथ्याङ्क सङ्कलन गरेका छौँ, छ जना त कतारबाट आएको उडानकै मानिस छन्, यहाँका हरेक वडामा विदेशबाट आएका मानिस छन्, सबैलाई क्वारेन्टाइनका लागि टेकुमा लगे त्यहाँ रोग देखिएर उपचार गरिरहेकाका लागि पनि अप्ठ्यारो हुन्छ भन्ने निर्देशन आएको छ', उनले भने। 

नगरपालिकाले तयारी गरेको क्वारेन्टाइन एवं एकान्तवास (आइसोलेसन) मा लैजानसमेत कसैले पहल नगरेकामा नयाँपाटीका स्थानीयवासी रुष्ट छन्। नगरपालिकाले यसअघि नै २७ शय्याको क्वारेन्टाइन र एकान्तवासका लागि तयार राखेको समाचार सार्वजनिक भएको थियो। 

नगरपालिकाले क्वारेन्टाइन र एकान्तवासमा राखिने सङ्क्रमण हुनसक्नेको उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा सुवास प्याकुरेलको नेतृत्वमा नौ सदस्यीय चिकित्सक समूहसमेत गठन गरेको छ। समूह संयोजक प्याकुरेल विदेशबाट आएकाको विषयमा सूचना लिएर फोनबाट के भइरहेको छ, लक्षण केही छ कि भनी दैनिक सम्पर्क गरिरहेको बताए। 'विदेशबाट आई नगर क्षेत्रमा बसिरहेका १७ जना कोरोनाको उच्च जोखिममा रहेकाले निरन्तर सम्पर्क गरी आवश्यक परे क्वारेन्टाइन र एकान्तवासमा लैजाने गरी तयारी गरिरहेका छौँ', उनले भने।

नगर क्षेत्रमा चार वटा अस्पताल रहेकाले आवश्यक देखिएमा लगेर राख्न सकिने नगरपालिकाको चिकित्सक समूहले जनाएको छ। कतार एयरवेजबाट आएका नगरपालिकाको वडा नं ६ का एक जना घरकै क्वारेन्टाइन नबसी हिँडिरहेपछि प्रहरीले लगी एकान्तवासमा राखेको छ।

अहिलेसम्म विदेशबाट आउनेमा मात्र कोरोना भाइरस देखिएकाले शङ्कास्पद मानिसलाई समयमै अलग्गै राख्ने व्यवस्था नगरेपछि पश्चात्तापबाहेक अरु गर्न नसकिने भएकाले सावधानी अपनाउनुपर्ने स्थानीयवासी नारायणभक्त श्रेष्ठ बताउनुहुन्छ। विदेशबाट आई नयाँपाटीमा हिँडिरहेकाप्रति प्रहरी पनि चिन्तित भएको आफूले पाएको उनले बताए।

वडासदस्यसमेत रहेका स्थानीयवासी कृष्णहरि श्रेष्ठ छुट्टै कोठामा बसेर एउटै भान्सामा खाना खाँदा पनि सङ्क्रमण फैलन सक्ने भएकाले अलग्गै खानपिन गर्नसमेत सल्लाह दिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.