लकडाउनको उल्लङ्कन गर्दै मदिरा ओसारपसार
![लकडाउनको उल्लङ्कन गर्दै मदिरा ओसारपसार](https://annapurnapost.prixacdn.net/media/albums/Madira-Osarpasar-myagdi_20200331052159_TSAWUCBjS6.jpg)
बेनी : म्याग्दीमा लकडाउनको उल्लंघन गर्दै व्यापारीले मदिरा ओसारपसार गरेका छन्। अत्यावश्यक सामग्री ओसारपसार गर्ने बहानामा मादक पदार्थ ओसारपसार गरेका हुन्। सदरमुकाम बेनी लगायतका बजार क्षेत्रबाट गाउँमा औद्यागिक र गाउँबाट बजारमा घरेलु मदिरा ओसारपसार भएको हो।
लकडाउनको उल्लंघन गर्दै मदिरा ओसारपसार गर्ने दुई जनालाई गाडी र मदिरासहित प्रहरीले पक्राउ गरेको हो। बेनीबाट राखुतर्फ जाँदै गरेको ग२च ८८६९ नम्बरको जिप र ६ कार्टुन मादक पदार्थसहित चालक बेनी-८ का १९ वर्षीय सुनिलकुमार साह र सहचालक जलजला-३ का १८ वर्षीय असल परियारलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए।
कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि २५ गते राति १२ बजेसम्म अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाउँदै लकडाउन गरेको छ। जिल्ला प्रशासन कार्यालयले चैत ११ गतेदेखि नै लकडाउनलाई प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरेको छ।
उनीहरुले निषेधाज्ञा विरुद्धका कार्य गरेकाले संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा १ बमोजिम सरकारले गरेको आदेशको अपहेलना कसुरमा सोही ऐनको दफा ३ उपदफा १ बमोजिम कारबाही हुने डिएसपी किरनजंग कुँवरले बताए। आइतबार साँझ पक्राउ परेका साह र परियारलाई गाडी र मदिरासहित सोमबार जिल्ला प्रशासन कार्यालयमा बुझाएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)