इँटा भट्टाबाट फर्किएका ४६ जना क्वारेन्टाइनमा
![इँटा भट्टाबाट फर्किएका ४६ जना क्वारेन्टाइनमा](https://annapurnapost.prixacdn.net/media/albums/rolpa-korchabang_20200401082130_JxPhm38MNk.jpg)
रोल्पा : काभ्रे र भक्तपुर जिल्लाका इँटा भट्टाबाट गृह जिल्ला फर्किएका ४६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । माडी गाउँपालिका-६ कोर्चाबाङको सिद्ध कैलाश माध्यमिक विद्यालयमा तयार पारिएको क्वारेन्टाइनमा ८ बालबालिकासहित ४६ जनालाई सुरक्षित राखिएको हो ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै इँटाभट्टामा यहाँका मजदुर फस्दै आएका थिए । गाउँपालिकाको समन्वयमा उनीहरुलाई उद्दार गरेर गाउँ फर्काइएको हो । नाइके टेकबहादु पुन सहित सबै मजदुर बसबाट बुधबार बिहान गाउँ आइपुगेका हुन् ।
माडीगाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनमगरका अनुसार क्वारेन्टाइनमा बसाइएका मध्ये ४२ जना कोर्चाबाङका छन् भने माडीगाउँपालिका-५ भाबाङका ३ र २ नं. वडा ब्याङखोलाका १ जना छन् ।
विद्यालयको कक्षा कोठामा उनीहरुलाई बस्ने व्यवस्था मिलाइएको छ । 'क्वारेन्टाइनमा राखिएका सबैलाई गाउँपालिकाबाट खानाको व्यवस्था गरिने भएको छ, 'अध्यक्ष पुनमगरले भने, 'ओछ्याउनका लागि पिफर्म दिएका छौं ।'
इँटाभट्टामा बस्दा मजदुरले प्रयोग गरिल्याएको ओढ्ने र विछौना प्रयोग गर्ने भएका छन् । विद्यालयको पाँचवटा कोठामा उनीहरुलाई राखिएको छ । दुई मिटर टाढाको दूरीमा फरक हुनेगरी सुत्ने भएका छन् ।
इँटाभट्टाबाट फर्किएकालाई क्वारेन्टाइनमा बसाईँ मिलाउन गाउँपालिका अध्यक्ष पुनमगर मंगलबारदेखि खटिएका थिए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सबिनसिंह चौधरी, इलाका प्रहरी चौकी घर्तीगाउँका इन्चार्ज शंकर खड्का, स्वास्थ्य शाखा प्रमुख इश्वरी गौतम र वडा अध्यक्ष खर्कबहादुर पुन क्वारेन्टाइनमा बस्नुको महत्व दर्शाउन क्वारेन्टाइन केन्द्रमा पुगेका थिए । मजदुर १४ दिन क्वारेन्टाइनमा बस्नेछन् ।
धमाधम क्वारेन्टाइन बनाउँदै
रोल्पाको माडी गाउँपालिकाले सबै वडामा धमाधम क्वारेन्टाइन बनाईरहेको छ । काठमाडौ लगायतका विभिन्न ठाउँमा इट्टभट्टाबाट गाउँ फर्किनेलाई राख्नका लागि क्वारेन्टाइन निर्माण हुँदैछन् ।माडी गाउँपालिकाका अध्यक्ष पुनमगरका अनुसार लकडाउनसँगै माडी गाउँपालिकाको स्वास्थ्यचौकीमा १२ वटा क्वारेन्टाइन निर्माण गरिसकिएको छ । ६ वटा वडामै क्वारेन्टाइन बनाउने कार्यपालिकाले निर्णय गरिसकेको छ । प्रत्येक वडाका १÷१ वटा माध्यमिक विद्यालयमा क्वारेन्टाइन बनाइदैछ ।
माडी गाउँपालिका-५ भाबाङका वडा अध्यक्ष भरतबहादुर बुढामगरले बागेश्वरी माध्यमिक विद्यालयमा क्वारेन्टाइन बनाईरहेको जानकारी दिए । ‘करिव १ सय जनालाई राख्नेगरी क्वारेन्टाइन बनाउँदैछौं, 'वडा अध्यक्ष बुढागरले भने, 'हाम्रो वडाका सय बढि मजदुर विभिन्न इँटा भट्टामा फसिरहेका छन् । उनीहरुको उद्दार गरी गाउँ फर्काउने पहल भैरहेको छ ।'
विभिन्न इँटा भट्टामा माडीगाउँपालिका सयौं मजदुर अलपत्र परेका छन् । उनीहरुले गाउँ फर्काउन जनप्रतिनिधिलाई आग्रह समेत गरिरहेका छन् । उनीहरु गाउँ फर्किएमा क्वारेन्टाइनमा राख्नकै लागि पालिकाले धमाधम क्वारेन्टाइन बनाउन थालेको हो । माडीगाउँपालिका अध्यक्ष पुनमगर क्वारेन्टाइन बनाउन र अनुगमन गर्न सक्रिय बनेका छन् ।
सरकारले जो जहाँ छ, त्यहीँ बस्न तर्फ जोड दिएकाले इँटा भट्टामा फसिरहेका मजदुर गाउँ फर्कन कठिन भएको छ ।
इँटा भट्टामा काम नगरी त्यसै बसेर खान समस्या भइरहेको जनाएका छन् । केही इँटा भट्टा उद्योगले बिहान र बेलुकापख मजदुरलाई काम लगाईरेहेका छन् । माडीमा भारत र विदेशबाट गाउँ फर्किएकालाई अनिवार्य होम क्वारेन्टाइनमा बस्न भनिएको छ । विदेशबाट फर्किएका कतिपय स्वयम क्वारेन्टाइनमा बसेका छन् । गाउँपालिकाले भारत लगायतका अन्य देशबाट गाउँ फर्किएको तथ्यांक समेत संकलन गरिरहेको छ । गाउँमा अनावश्यक हिडडुल नगर्न समेत सूचित गराएको छ ।
वडा अध्यक्ष भरतको सक्रियता
माडीगाउँपालिकाका ५ नं. वडा भाबाङमाका वडा अध्यक्ष बुढामगर कोरोना विरुद्ध सचेतना फैलाउन सक्रिय बन्दै आएका छन् । साउण्ड बक्स बोकेर अध्यक्ष समेत गाउँगाउँमा माईकिङ गर्न निस्कन्छन् । 'कोरोनाबाट गाउँले निकै त्रसित थिए । म आफै सहि सूचना दिन गाउँगाउँ पुगें । अहिले त्रास कम हुँदै गएको छ । गाउँलेले सचेतता अपनाउन थालेका छन् ।’, वडा अध्यक्ष बुढामगरले भने ।
गाउँपालिकाले विपत् कोषमा रहेको १५ लाखबाट कोरोना विरुद्धको अभियानमा खर्च गर्ने जनाएको छ । प्रचार सामग्री निर्माण, प्रचार-प्रसार गर्न, आवश्यक मेडिकल सामग्री खरिद गर्न र क्वारेन्टाइनको व्यवस्थापन र खानाका लागि कोष खर्चिने भएको हो । रकम नपुग भएमा गाउँपालिकाको अन्य बजेटबाट समेत व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)