वाइडबडी जहाज पहिलोपटक अष्ट्रेलिया उड्दै
काठमाडौं : चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउँदै नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाज बुधबार अष्ट्रेलिया उड्दै छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० आज साँझ ५:३० बजे मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको सहर ब्रिश्वेन पुग्ने निगमले जनाएको छ ।
निगमको उड्डयन इतिहासमै पहिलो पटक वाइडबडी जहाजले लामो गन्तव्यको उडान भर्न लागेको हो । मलेसिया ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।
वाइडबडी जहाजले अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिकको उद्धारका लागि उडान भर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताए । उनले छ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको उडान फेरि क्वालालम्पुर हुँदै बिहीबार राति नेपालमा अवतरण गर्ने तालिका रहेको जानकारी दिए ।
वाइडबडी जहाज बिहीबार राति १०:५० मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरिनेछ । निगमले बिहीबार चीनको ग्वाङ्जाओ गन्तव्यमा कार्गो उडान गर्दैछ । चीनबाट कोभिड–१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइडबडी जहाज चार्टर्ड गरेको बताइएको छ ।
यसअघि निगमको वाइड बडी ए ३३० जहाजले चैत १६ गते चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौँ ल्याएको थियो । हाल दुई वाइड बडी ए–३३० र दुई थान न्यारोबडी ए—३२० सिरिजको जहाजबाट निगमले अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !