भीमेश्वरमा एक घर, दुई साबुन अभियान
चरिकोट : भीमेश्वर नगरपालिकाले एक घर, दुई साबुन, एक व्यक्ति एक मास्क अभियान संचालन गर्ने भएको छ । कोरोना भाइरसको सम्भावित संक्रमण फैलन नदिनका लागि दोलखाको सदरमुकाम चरिकोटस्थित भीमेश्वर नगरपालिकाले सो अभियान संचालन गर्ने भएको हो ।
कोरोना भाइसरको संक्रमण रोक्नका लागि शनिबारबाट एक घर, दुई साबुन, एक व्यक्ति एक मास्क अभियान संचालन गर्न लागिएको भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले जानकारी दिए । नगरपालिकाभरीका १० हजारभन्दा बढी घरधुरीमा सो अभियान सञ्चालन गर्न लागिएको मेयर केसीको भनाई छ ।
नगरको एक घर दुई सावुन एक ब्यक्ति एक मास्क अभियान लाई भीमेश्वर नगरपालिका भित्र मुख्य कार्यालय रहेका सहकारीहरुले ५ लाख ४४ हजार रकम सहयोग गर्ने भएका छन् । नगरपालिकाको समन्वयमा बिहीबार भीमेश्वर नगरपालिका भित्र मुख्य कार्यालय रहेका २१ वटा सहकारीको बैठकले सो निर्णय गरेको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए ।
नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगरवासी अपाङ्ग, जेष्ठ नागरिक, सुत्केरी तथा विपन्नलाई विरामी भए अस्पताल लैजानका लागि एम्बुलेन्स पठाइने भएको छ । यस्तै मजदुर तथा अतिविपन्नलाई खानाको समस्या भएमा वडाअध्यक्षमार्फत नगरमा सम्पर्क गरेमा टोलमा नै खाद्यान्न उपलब्ध गराईने भीमेश्वर नगरपालिकाले जनाएको छ ।
कोरोनाको संक्रमण फैलन सक्ने सम्भावनलाई रोक्न लकडाउन गरिएको समयमा विपन्नहरु तथा मजदुरहरुलाई समस्या नपरोस भनी नगर कार्यपालिकाले उक्त निर्णय गरेको मेयर केसीको भनाई छ ।
नगरवासीलाई घरमै बसेर लकडाउनको पूर्ण रुपमा पालना गर्न समेत नगरपालिकाले आग्रह गरेको छ । कोरोनाको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै नगरले ८ वेडको आइसोलेसन वार्डको ब्यवस्था गरको छ । सामान्य रुघा, ज्वरोका बिरामीको संख्या बढे पनि हालसम्म दोलखामा कोरोना संक्रमित भेटिएका छैनन्।
प्रतिक्रिया दिनुहोस !