बेनीको आइसोलेशनमा रहेकी युवतीमा कोरोना नभएको पुष्टि
![बेनीको आइसोलेशनमा रहेकी युवतीमा कोरोना नभएको पुष्टि](https://annapurnapost.prixacdn.net/media/albums/beni-hospital_20200403064417_HU6AMlzCIb.jpg)
बेनी : जिल्ला सदरमुकामस्थित बेनी अस्पतालको आइसोलेशनमा रहेकी युवतीमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बागलुङ घर भई पर्वतको जलजला गाउँपालिकाको वारीबेनीमा बस्दै आएकी २७ वर्षीया युवतीमा कोरोनासँग मिल्ने लक्षण देखिएपछि आइतबार बेनी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
उनमा कोरोना संक्रमणको आशंकामा स्वाबको नमुना संकलन गरेर मंगलबार पोखराको प्रयोगशालामा पठाइएको थियो । अस्पतालका डाक्टर मनोज घिमिरेले प्रयोगशालाबाट शुक्रबार बिहान युवतीको रिपोर्ट नेगेटिभ भएको अनौपचारिक जानकारी आएको बताए ।
उनका अनुसार ज्वरो, रुघाखोकी र स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पतालको आइसोलेशनमा भर्ना भएकी ती युवतीको स्वास्थ्य अवस्था सामान्य छ । यसैगरी बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविको क्वारेन्टिममा रहेका एक युवाको स्वास्थ्इमा समस्या देखिएपनि कोरोना आशंकामा बिहीबार उनको स्वाबको नमुना संकलन गरेर पोखरा स्थित प्रयोगशालामा पठाइएको डाक्टर मनोज घिमिरेले बताए ।
१७ वर्षका ती युवक हालै भारतको मुम्बईबाट आएका थिए । बेनी नगरपालिका-९ का ती युवकलाई क्वारेन्टाइनमा बसेकै अवस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएको छ ।
म्याग्दी जिल्लाभर १२५ शैयाका क्वारेन्टाइन छन् । विदेशबाट फर्किएका र कोरोना आशंका गरिएका ५१ जना क्वारेन्टाइनमा बसेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)