अलपत्र २५० मजदुरलाई घर पठाइयो
भोजपुर : लकडाउनका कारण अलपत्र परेका मजदुरलाई घर पठाइएको छ । जिल्लाभित्र विभिन्न आयोजनामा काम गर्ने २ सय ५० जना मजदुरको उद्धार गरेर घर पठाइएको हो । जिल्ला प्रशासन भोजपुरले काठमाडौं, बाँके, बर्दिया, दाङ, कैलालीबाट आएका मजदुरलाई घर पठाउने प्रबन्ध मिलाएको हो ।
लकडाउनले अलपत्र परेका भोजपुर सदरमुकाममा सञ्चालित तीनभंगाले खानेपानी आयोजनामा काम गर्ने ७९ जना, मध्यपहाडी लोकमार्गमा काम गर्ने ९५ जनासहित अन्य विभिन्न आयोजनामा काम गर्ने मजदुरलाई घर पठाईएको हो । उनीहरुलाई यात्रुबसबाट घर फर्काईएको प्रजिख बसन्तराज पुरीले बताए ।
'विभिन्न आयोजनामा काम गरिरहेका मजदुरलाई उद्धार गरेर सतर्कताका साथ उनीहरुको घर पठाएका छौ, साथै उनीहरुलाई सतर्कता अपनाएर परिवार र समाजमा रहन पनि परामर्श गरेका छौँ,' प्रजिअ पुरीले भने । लकडाउनको प्रभावलाई हेरेर ३ महिनालाई पुग्ने खाद्यान्न भण्डारण गरिएको प्रजिअ पुरीले जानकारी गराए । कोरोनाको कारण जिल्लाबाट निर्यात गरिने सबै खाद्यान्न भण्डारण गरिएकोले सर्वसाधरणलाई नअतालिन आग्रह गरे ।
१२ जनालाई क्वारेन्टाइन
भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङस्थित ९ जना, षडानन्द नगरपालिकाको दिङ्लास्थित २ जना र रामप्रसाद राई गाउँपालिकामा १ जना गरी १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । वैदेशिक रोजगारको शिलशिलामा विभिन्न देशबाट घर फर्किएका र कामको शिलशिलामा अलपत्र परेका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
निमार्णाधिन अरुण तेस्रो जलविद्युत आयोजनामा काम गर्दै आएका ९ जनालाई क्वारेन्टाइनमा राखिएको साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले बताए । लकडाउनपछि खाँदबारीबाट भोजपुर छिरेका उनीहरुलाई संक्रमणको जोखिम नहोस् भनी क्वारेन्टाइनमा राखिएको अध्यक्ष राईले बताए । ती मजदुरहरुलाई खानबस्न छुट्टै व्यवस्था मिलाइएको छ ।
त्यस्तै कतार र मुम्बईबाट आएका षडानन्द नगरपालिका १, नेपालेडाँडाका दुई जना पनि क्वारेन्टाइनमा छन् । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । यस्तै दुबईबाट घर आएका रामप्रसादराई गाउँपालिकाका एकजनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । उनको अवस्था सामान्य रहेको बताईएको छ ।
मदिरामा कडाई
रामप्रसादराई गाउँपालिकाले लकडाउनको समयमा मदिरा विक्री वितरणमा कडाइ गरेको छ । गाउँपालिका अध्यक्ष बिजय राईले मदिराको बिक्री वितरण र सेवन बन्द गराउन प्रहरी, जनप्रतिनिधि र कर्मचारी परिचालन गर्ने निर्णयसहित सूचना जारी गरिएको बताए । संक्रमण जोखिम बढेकाले गाउँपालिका प्रवेश गर्ने सबै नाकाहरू बन्द गर्ने र कतै कोही जानुपरे अनिवार्य गाउँपालिकाको पास लिन अनुरोध गरिएको उपाध्यक्ष सम्झना राईले बताइन् ।
प्रतिक्रिया दिनुहोस !