लकडाउनमा कलाकार : रङमा रमाउँदै

लकडाउनमा कलाकार : रङमा रमाउँदै

काठमाडौं : कोरोना भाइरस (कोभिड­१९) को सम्भावित जोखिम हुन नदिन मुलकलाई 'लकडाउन' गरिएको छ। कतिपयलाई लकडाउनको एकान्तबास कटाउन मुस्किल छ। टेलिभिजन हेर्ने, रेडियो सुन्ने र सामाजिक सञ्जालमा व्यस्त रहनु आनन्द र बाध्यता दुवै  छ। तर कुची र रङमा रमाउने कलाकारलाई भने लकडाउन समस्याका बीचको वरदान सावित छ।

सो भाइरसले सिङ्गो विश्वलाई प्रभावित बनाइरहेको बेला कलाकार क्‍यानभास रङ्ग्याउन व्यस्त छन्। 'जहाँ चुनौती त्यहाँ अवसर' भने झैँ लकडाउनलाई नेपाली चित्रकारले महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गरेका हुन्। यतिबेला कलाकारले कोरेका चित्रमा उनीहरुको कल्पना मात्र हैन अहिलेको वास्तविकताले मूर्त रुप पाएको छ। क्‍यानभासमै  सो भाइरसको जोखिम र रोकथामका सन्देश चित्रकारिताबाटै समुदायलाई दिइरहेका छन्। कतिपय कलाकार रङको नौलो प्रस्तुति दिन अभ्यासरत छन्। फरक फरक शैलीमा रङ खेलाउँदै अनौठा आकार दिइरहेका छन्।

स्वदेश विदेशका दृश्यलाई समेटेर क्‍यानभास रङ्ग्याइरहेका चित्रकारले पुराना थाती रहेका काम छोट्याउँदै छन्। थन्किएका क्‍यानभासका खापा उघार्दैछन्। रातपछिको दिनजस्तै रङ्गीन उज्यालो चित्रमा भर्दैछन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य औपचारिक कामबाट फुर्सदिलो छन्। त्यसबीचमा थाती रहेका चित्रकारिताका काम गर्न थालेकाले उनलाई भ्याइनभ्याई छ। कर्माचार्य चित्र सिर्जना गर्ने र त्यसलाई भिडियो बनाएर युट्यूबमा राख्दै अरुलाई ऊर्जा दिँदैछन्। 

एक वर्षअघि शिवरात्रीका बेला पशुपतिमा खिचिएको साधुको मुहार चित्र  स्केचमै थन्किएको थियो। लकडाउनले त्यो स्केचलाई पूर्णता दिने अवसर लकडाउनले दियो।  उनका खाली हातमा कुची चले अनि रङले खुल्ने ठाउँ प्राप्त गरे। हेर्दाहेर्दै बन्यो सग्लो सुन्दर पोट्रेट। 'थाती रहेको पोट्रेट सकेँ,  एउटा एब्सट्र्याक पनि सकेँ, अब अर्को ठूलो एब्सट्र्याक बनाउने सोचमा छु', कुलपति कर्माचार्यले भने। बाबालाई एक्रेलिकले र अब्सट्र्याकलाई  तेल रङले सिंगारेका छन्। 

अन्य कलाकारलाई सुझाव दिँदै उनले भने 'मौकाको सदुपयोग गरौँ, एक त रोगको महामारी, अर्को आफ्नै काम पनि बन्ने भएकाले घरमै काम गर्ने अवसर नगुमाऔँ।' एउटा कलाकारका लागि चाहिने वातावरण बनेको भन्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्याय लकडाउनको भरपुर सदुपयोग गरिरहेका छन्। कलाकारका लागि चाहिने शान्ति उनलाई मिलेको छ। त्यसैले उहाँ बन्द कोठाभित्रै प्रकृतिसँग कुरा गर्न सजिलो महसुस गर्दैछन्। उनी रङसँग नियमित खेलिरहेका छन्। 

गीतामा कर्मअनुसारको फल प्राप्त हुने उल्लेख छ। अहिले कोरोनाको कहरलाई उपाध्याय गीताको सारसँग दाँज्छन्। प्रकृति बिगारिँदाको परिणामलाई बिम्ब बनाएर कोरोनाको सङ्क्रमण तथा रोकथामका लागि सिर्जनामार्फत उनले आह्वान गरेका छन्। एकातर्फ कोरोना भाइरसले प्रभावित बनाएको छ तर अर्कोतर्फ लकडाउनले विश्व शान्त भएका बेला आकाश र बादलसमेत मुस्कुराइरहेको अनुभव भइरहेको छ, उनले भने।

उनका चित्रमा चरा, जनावरले आँशु चुहाइरहेका छन्। प्रकृतिले आँशु बगारहेको छ। जताततै दुःख र कष्टमात्रै छ। प्रकृतिले आफ्नो ठाउँ खोजेको भान देखिन्छ। त्यसैलाई विम्व बनाएर चित्रमार्फत प्रकृतिलाई जोगाउन आह्वान गरेको उनले बताए।  चराचर जगत नै रोइरहेको सन्देश उनका सिर्जनाले बोलेको छ। अर्कोमा पानी बगिरहेको र गुलाफको फूल झरिरहेको सन्देशमुलक सिर्जनाले मानिसको मन पगाल्छ। उपाध्याय भन्छन् 'हजारौं वर्ष अगाडिदेखिको प्रकृतिको विनाशबाट भएको असह्य वेदना आज कोरोना आँसुको रूपमा हाम्रो बीचमा आएर आफ्नो आँसुको मूल्य खोज्दै छ, आफ्नो अस्तित्व खोज्दै छ, त्यसैले आफू पनि बाँचौं र प्रकृतिलाई पनि बचाउँ।'

अग्रज कलाकार राधेश्याम मुल्मी पनि कला सिर्जनामा रमाउँदै छन्। उनले कोरोनाबाट सिर्जित समस्यालाई चित्रात्मक रुपमा सन्देश प्रवाह गर्दै छन्। एउटा मान्छेले बाँदरसँग हात मिलाउन खोज्दै, त्यो बाँदर भने हात मिलाउन आउँदैन। ऊ नमस्कार गर्छ। अन्य बाँदरहरु उक्त दृष्यलाई छक्क परेर नियालिरहेका छन्। उनको चित्रको 'थिम' त्यही छ। 

मानिसलाई गाली गर्दा कतिपयले उच्चारण गर्ने शब्द हो, 'कस्तो बाँदर जस्तो..।' कलाकार मुल्मीले आफ्नो तयार हुँदै गरेको सिर्जनाबारे प्रश्न तेर्स्याउँदै भने, 'उपद्रो मच्चाउने बाँदरहरु त वर्तमान अवस्थामा सचेत बने, हामी मान्छे झन सचेत बन्नु पर्ने होइन र ?' जनस्वास्थ्यको ख्याल गर्दै घोषणा गरिएको लकडाउनको पालना नभएको सन्दर्भमा उहाँको चित्र साधनाले समाजलाई ठूलो सन्देश प्रभाव गरेको छ। 

अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङ यय पटक रङ मिसाएर नौलो प्रयोग गर्दै छन्। कलाकारले चित्र साधनाको महत्वपूर्ण अवसर प्राप्त गरेको स्मरण गर्दै उनले अवसरको सदुपयोग गरी नयाँ नयाँ अभ्यास गरिरहेको बताए। विविध विषयवस्तु र नेपाली गाउँले परिवेशलाई क्‍यानभासमा सजाउँदै छन्। बनेका चित्रहरु उनी युट्यूबमा हालेर प्रचारप्रसार गरिरहेका छन्। 'तीन वटा युट्यूबमै गैसक्यो अन्य बनाउँदै छु, हाल्दै छु, लकडाउनको सदुपयोग भइरहेको छ, अली बढी उकुसमुकुसको महसुस छ', गुरुङले लकडाउनको दैनिकी र अनुभव सुनाउँदै उनले भने। यसपटक गोधुली साँझमा भारतको मुम्बईमा देखिएको दृश्यले उनलाई तानेको छ। 

समुद्र र आसपासको दृश्यलाई उनले क्‍यानभासमा उतारेका छन्। धमिलो आर्किटेक्चरमा क्षितीजबाट छिचोलेको सुनौलो प्रकाशले आनन्दानुभूति दिलाउँछ। त्यही चित्र सिर्जना गरेर सामाजिक सञ्जाललाई समेत रङग्याएका छन्। 

अन्य चित्रकार सुष्माराज भण्डारी डिराम पाल्पाली, दीपेन्द्रमान बनेपाली, डिवी राई, लालकाजी लामालगायत प्रायः कलाकार अहिले चित्र साधनामा नै व्यस्त छन्। चित्रकारले लकडाउनको राम्ररी सदुपयोग गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.