सङ्कटको समयमा महत्त्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छ : गृहमन्त्री

सङ्कटको समयमा महत्त्वपूर्ण कामको जिम्मा सुरक्षा निकायलाई नै दिइन्छ : गृहमन्त्री

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य रामबहादुर थापा सञ्चारमाध्यममा कमै आउन रुचाउने नेतामध्ये एक हुन् । ‘बादल’ नामले परिचित थापाले यतिखेर गृह प्रशासनको नेतृत्व सम्हालेका छन् । विश्वभर कोरोनाले जनजीवन आक्रान्त छ । नेपाल पनि त्यसबाट अछुतो छैन । कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यसमेत रहेका  गृहमन्त्री थापासँग रमेश लम्साल र नारायण ढुङ्गानाले  अन्तर्वार्ता गरेका छन्  ।


कोभिड–१९ रोकथाम समन्वय समितिको सदस्य पनि हुनुहुन्छ । खरिद प्रक्रियामा ठूलै विवाद भयो नि, खासमा समस्या के हो ?

पछिल्लो समयमा खरिद प्रक्रियामा केही विवाद देखियो । अघि नै भनेँ कि हामीसँग स्वास्थ्य सामग्री निक्कै अभाव थियो । हामीले त्यस्तो सङ्कटको आँकलन पनि गरेका थिएनौँ । हामीले छिटोभन्दा छिटो सामग्री ल्याउने आवश्यकता अनुसार यसको जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिएका थियौँ । स्वास्थ्य सेवा विभागमार्फत सामग्री ल्याउने प्रक्रिया चलिरहेको थियो । यसमा सबैसँग कुरा भएको पनि हो । अरु कसैले पनि नसकेपछि एउटा कम्पनीले म ल्याउँछु भन्यो । त्यहीँ कम्पनीलाई ल्याउन दिइएको हो । 

त्यहाँ स्वास्थ्य सामग्रीहरु केही महङ्गो पर्न गएको कुरा साँचो हो । बजार मूल्य भन्दा ३०/४० प्रतिशत बढी मूल्य छ भन्ने आएको छ । त्यसैबाट विवाद आएको हो । अहिले मूल्यभन्दा पनि सामग्री आवश्यक भएकाले यसलाई ध्यानमा राखेर सरकारले त्यही कम्पनीलाई नै जिम्मा दिएको हो । महङ्गो भए पनि ल्याएको हो । केही सामग्री आयो पनि । सम्झौता भए अनुसार आएन । कम्पनीले बाँकी सामग्री ल्याउन नसक्ने भनेपछि सम्झौतालाई रद्द गरेर स्वास्थ्य मन्त्रालय अर्को प्रक्रियामा अगाडि बढेको छ । अन्य निजी व्यवसायीले पनि ल्याउन थालेका छन् । सरकारले त्यसलाई सहजीकरण गर्ने भन्ने छ । सरकार–सरकार (जिटुजी) बाट सेनामार्फत पनि सामग्री खदिर गर्ने, यी तीनै प्रक्रिया हामीले अघि बढाएका छौँ । 

सेनाको कुरा उठाउनु भयो, सेनालाई सबै जिम्मा दिनु हुँदैन भन्ने कुरा पनि आएको छ नि ? 

दुनियाँमा सङ्कटको बेलामा सुरक्षा सङ्गठनलाई नै अधिकतम परिचालन गरिन्छ । यो एउटा महासङ्कट हो । यो घडीमा जहिले पनि सबै राष्ट्रले सबैभन्दा सङ्गठित शक्ति सेनालाई परिचालन गरेका हुन्छन् । विगतमा पनि महाभूकम्प, टोर्नाडो आउँदा पनि सेनालाई परिचालन गरेका थियौँ । अहिले पनि हामीले सेनालाई परिचालन गर्नुपर्ने आवश्यकता ठानेर नै सेनालाई जिम्मेवारी दिइएको छ । डेडिकेटेड अस्पतालको जिम्मा पनि सेनालाई नै दिएका छौँ । चीनबाट १७५ विद्यार्थी ल्याउँदा अरु कुनै निकायले मानेनन् । त्यहाँ गएर सेनाले नै ल्याएको हो । 

त्यसकारण सेना सङ्गठित शक्ति हो । सेना नागरिक सरकार माथि हुनुहुँदैन, त्यसले सरकारको अधीनमा नै काम गर्ने हो । अहिले पनि सरकारले जिम्मेवारी सेनालाई दिएको छ । अहिले सिसिएमसी बनाएका छौँ। त्यसमा पनि नागरिक सर्वोच्चतालाई कायम राखेर सेनालाई नै परिचालन गर्ने हो । त्यो हिसाबले मात्रै गरिएको हो । त्यसमा विवाद गर्नुपर्ने हामी देख्दैनौँ । चीनमा हेरौँ, इटालीमा हेरौँ ठूलो सङ्ख्यामा सेना परिचालन गरिएको छ । युद्धमा मात्रै होइन यस्ता विपदमा जनतालाई सुरक्षा गर्ने विषयसँग जोडिएकाले र सङ्गठित फोर्स भएकाले सेना र अन्य सुरक्षा निकायलाई फ्रन्ट लाइनमा परिचालन गरिएको हो । खरिद गर्ने कुरा पनि त्यसैसँग जोडिएको कुरा हो । 

नेकपाको सरकार छ, तपाईं सचिवालय सदस्य पनि हुनुहुन्छ, पार्टी र सरकारबीच समन्वय नभएको गुनासो छ नि ?

समन्वय नभएको कुरा कतिपय सञ्चारमाध्यममा आएको छ । मुलतः पार्टीको निर्देशन र नीतिअनुसार सरकार चल्ने हो । समन्वय गर्ने कुरा पार्टीको बैठक बसेर सरकारलाई आवश्यक निर्देशन दिने र मार्गदर्शन गर्ने कुरा हो । त्यो प्रक्रिया सामान्यतः चलिरहेको छ । अहिले बैठक हाम्रो सर्वोच्च निकाय सचिवालयको बैठक बसिरहेको छ कमिटीको बैठक नबसेको अवस्थामा दुई अध्यक्ष भेटघाट गरेर नीति तय गर्ने, सरकारलाई मार्गनिर्देश गर्ने काम भइरहेको छ । बीचमा अली छिटो बैठक बस्नुपर्छ भन्ने माग भइरहेको छ । अब छिट्टै बैठक बस्न सक्छ र अहिलेसम्मको समीक्षा गरेर आवश्यक निर्देशन पार्टीले दिन सक्छ ।

लकडाउनको घोषणापछि मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था कस्तो पाउनु भएको छ ?

लकडाउनपश्चात देशको शान्ति सुरक्षा मूलत: सामान्य अवस्थामा नै रहेको छ । तैपनि हाल विशेष परिस्थिति, हामीले यसलाई सङ्कटको परिस्थितिको रूपमा परिभाषित गरेका छौँ । यो स्थितिमा नेपाल मात्रै नभइ समग्र विश्व नै कोरोनाको सङ्क्रमणले आक्रान्त छ । हाल नेपाललगायत विश्व नै कोरोनाविरुद्धको लडाईंमा जुटिरहेको छ । हामीले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन समग्र सुरक्षा निकायलाई परिचालन गरेका छौँ । अवस्था सामान्य नै छ ।
 
लकडाउनको समयमा चोरी र डकैतीका केही घटना पनि सार्वजनिक भएका छन् । यसलाई दुरुपयोग गरेर शान्ति सुरक्षा र अमनचयनका सन्दर्भमा केही जटिलता पैदा भए भन्ने पनि आएका छन्, यसबारेमा के भन्नुहुन्छ ?

मूलभूत रुपमा यस्ता घटना त भएका छैनन् तर छिटफुट केही घटना सार्वजनिक भएका छन् । यसलाई पनि हामीले नियन्त्रण गर्न २४ सै घण्टा सुरक्षाकर्मीलाई परिचालित गरेका छौँ । मलाई लाग्छ, लकडाउन बढ्दै जाने क्रममा त्यस्ता घटना बढ्न सक्छ । यसबारेमा हामी सजक छौँ । 

यस अवधिमा महिला हिंसाका घटना सार्वजनिक भइरहेका छन् । यसतर्फ यहाँले गृह प्रशासनलाई कसरी परिचालन गर्नुभएको छ ? 

अहिलेसम्मको अवस्थामा यस्ता घटना बढ्नेभन्दा पनि नियन्त्रणको अवस्थामा नै रहेको छ । तैपनि यो लकडाउन बढ्दै जाँदा त्यस्ता घटनामा वृद्धि हुने हामीले आंकलन गरेका छौँ । त्यस्ता घटना नियन्त्रण गर्न वा घरेलु हिंसा नियन्त्रणका लागि पनि सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र जिम्मेवार बनाएका छौँ। 

कार्यस्थलमा खटिएका सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामग्री पाएनन् भन्ने गुनासो छ नि ? 

निश्चय पनि केही हदसम्म अवस्था त्यस्तै छ। यस्तो प्रकारको सङ्कट आउँछ भन्ने हाम्रो अनुमान नै थिएन । त्यसकारण हामीले सङ्कटसँग जुध्न आवश्यक तयारी पनि गरेका थिएनौं। त्यसकारण सुरुका दिनमा त्यस्ता समस्या आएका हुन् । सुरक्षाकर्मीका अलावा स्वास्थ्यकर्मीलाई सुरक्षाका सामग्री उपलब्ध गराउन नसकिएको अवस्था थियो । पछिल्ला दिनमा आउँदा हामीले व्यक्तिगत सुरक्षाका सामग्री उपलब्ध गराएका छौँ। आगामी दिनमा ती सामग्री जुगाड गर्ने प्रक्रियामा लागेका छौँ । अब सबैलाई अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराइन्छ । कोही कसैलाई पनि जोखिममा पर्न दिइँदैन । 

विपद्का समयमा जनशक्तिलाई नै अत्यावश्यक सामग्रीको जोहो गर्नेतर्फ  र त्यसविरुद्ध जुध्न थप तयार पार्नु पर्दो रहेछ भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ, यो अवस्थालाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ ? 

निश्चय पनि घटनाक्रमले हामीलाई त्यो पाठ सिकाएको छ । न्यूनतमरूपमा विपद्को अवस्थामा गर्नुपर्ने व्यवस्था त हामीले गरेका थियौँ । तर, ती व्यवस्था अहिलेको सङ्कटको अगाडि नगन्य नै सावित भएको छ । पक्कै पनि यो घटनाले हामीलाई पाठ सिकाएको छ । यो अवस्थामा नेपालको सन्दर्भमा मात्रै नभइ अन्य विकसित देशमासमेत लागू भएको छ । अमेरिका जस्तो सम्पन्न र शक्तिशाली देशले पनि यो सङ्कटलाई सामना गर्न पर्याप्त तयारी गरेको र विपद्सँग जुध्नका लागि आवश्यक व्यवस्था गर्न नसकेको पाइएको छ । अहिले सिङ्गो विश्वले नै महत्वपूर्ण पाठ सिकेको हामीले अनुभव गरेका छौँ ।
 
सशस्त्र प्रहरीको विपद् व्यवस्थापनसँग जोडिएको एउटा युनिट नै क्रियाशील छ । यस्तो विपद्को समयमा जुध्न त्यस्ता अन्य यूनिटको विस्तार गर्नुपर्ने कति आवश्यक छ ? 

अब सशस्त्र प्रहरी बलको अस्पतालाई ‘डेडिकेटेड’ अस्पतालको रुपका विकास गरेका छौँ । यसलाई विस्तार गर्ने सरकारको योजना छ । सात वटै प्रदेशमा समेत यस्ता खालका डेडिकेट अस्पताल स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ । वास्तवमै अन्य यस्ता युनिट विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । हामीले आवश्यकता महसुस गरेका छौँ र सोही अनुसारको योजना बनाएर अगाडि बढाएका छौँ । 

 लकडाउनपछि दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति हुन नसकेको जन गुनासो छ। आपूर्ति व्यवस्थालाई सहज बनाउन गृह प्रशासनले कस्तो भूमिका खेलिरहेको छ ? 

आपूर्तिलाई व्यवस्थित वितरण गर्न हामीले स्थानीय तहलाई नै दिएका छौँ । एकद्वार नीतिअनुसार नै दैनिक उपभोग्य वस्तुको आपूर्ति र वितरणको व्यवस्था गरिएको छ । स्थानीय जनप्रतिनिधिलाई नै बढी जिम्मेवार बनाउनेतर्फ ध्यान दिएका छौँ । जनप्रतिनिधिको नेतृत्वमा स्थानीय सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । आपूर्ति गर्नुपर्ने भनेको खास स्थानीय जनतालाई नै हो । त्यसकारण कुन समुदायलाई दिनुपर्ने हो निर्क्यौल गर्ने गरिएको छ । आपूर्तिको क्षेत्रमा विगतका हाम्रा अनुभव राम्रा छैनन्, अराजकता देखिएको थियो । भूकम्पको समयमा पनि दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदा जथाभावी भएको पाइएको थियो । त्यसले सुरक्षा समस्या पैदा गरेको थियो ।

सो अवस्थालाई ध्यानमा राखेर, त्यसबाट शिक्षा लिएर हामीले हाल आपूर्ति तथा राहत वितरण जो कोहीले पनि गर्न नपाउने व्यवस्था गरेका छौँ । स्थानीय तहमार्फत नै एकद्वार नीतिको व्यवस्था गरिएको छ । संघसंस्थाले सहयोग गर्नुपर्ने भए पनि स्थानीय तहमार्फत नै दिने गरी तयारी गरिएको छ । उनीहरूले जम्मा गर्ने र सहयोग सामग्री दिएर सहयोग गर्ने गरी काम भएको छ । 

अत्यावश्यक सामग्री लिन बाहिर निस्केका नागरिकमाथि अनावश्यक बल प्रयोग गर्ने सुरक्षाकर्मीलाई के कस्तो कारबाही गरिएको छ ?
 
निश्चय पनि केही छिटफुट घटना अपवादका रूमपा घटेका छन् । आम रूपमा हाम्रा सुरक्षाकर्मीले कानुनअनुसार नै काम कारबाही गरेका छन् । कतिपय अवस्थामा हाम्रा निर्देशन तल स्पष्ट रूपमा पुग्न नसक्दा घटेका छन् । कतिपय घटनाहरू अलिकता राज्यको निर्णयबारे अनविज्ञता नहुँदा घटेका छन् । केही स्थानमा कालोबजारी गर्ने क्रममा यस प्रकारका घटना घटेका छन् । खाना पकाउने ग्यासको सन्दर्भमा केही दिन पहिले कालोबजारी भएको पनि तथ्य जानकारीमा आएको थियो । ती घटना घटे पनि हाम्रा सुरक्षाकर्मीले केही स्थानमा केही बढी गरेको भए ती कानून विपरितका कुरा हुन् । सुरक्षाकर्मीलाई बढी प्रशिक्षित गर्ने र सरकारको निर्णय जानकारी गराउनेतर्फ ध्यान दिनुपर्ने देखिएको छ । हामीले त्यसतर्फ ध्यान दिएका छौँ । 

कालोबजारीको नियन्त्रणका लागि गृह प्रशासन पनि जोडिन्छ । खाद्य र औषधिजन्य सामग्रीमा मौकाको फाइदा उठाउने प्रवृत्ति पनि यदाकदा देखिएका छन्, त्यसलाई नियन्त्रण गर्नेतर्फ कसरी लाग्नुभएको छ ?

सङ्कटको समयमा फाइदा उठाउने तत्व पनि छन् । नयाँ व्यवस्थाअनुसार सबै जिल्लामा सिडियो नेतृत्वमा कडाइका साथ अनुगमनगर्ने योजना अघि सारिएको छ । सुरक्षा निकाय, उद्योग मन्त्रालयका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिको समूह बनाएर अनुगमनलाई चुस्त बनाउन लागिएको छ । सूचना पाउने भनेको मुख्यतः जनताबाटै हो, त्यसैले नागरिक समाजलाई पनि अनुगमनमा जोड्ने नीति तय गरेर अघि बढेका छौँ । बीचमा ग्यासमा केही कालोबजारी भएको सूचना प्राप्त भएको थियो । कडाइ गरेका कारण अहिले सहज भइसकेको छ । 

धार्चुलामा करीब एक हजार नेपालीलाई भारतले क्वारेन्टाइनमा राखिएको भनेको छ । त्यहाँबाट आएका प्रतिक्रियाअनुसार गाईगोठमा राखियो, न्यूनतम सेवा पनि दिइएन भन्ने छ । कैलालीमा अड्किएकाले हामी घर आउँछौँ भन्दा पनि आउन पाएनन् । यो बाध्यता हो कि रोकिएको हो । यसलाई थप प्रष्ट पारिदिनुस् ?

यो बाध्यताभन्दा पनि अहिलेको आवश्यकता हो । जनताको सुरक्षाका निम्ति त्यो चाहे सीमा पारी होस् या वारी । आम जनताका सुरक्षाका निम्ति यो किसिमको नीति लिनुपर्ने आवश्यकता महसुस गरेर नै लकडाउनको नीति लिइएको हो । भारतमा पनि लिइएको छ । नेपाली जो भारतमा या विदेशमा छन् । उनीहरूका निम्ति पनि यो आवश्यक छ । यसलाई बाध्यताभन्दा पनि सही किसिमको सुरक्षा नीति हो भन्ने हामीले ठानेका छौँ । त्यसकारण सीमापारी रहेका नेपालीले पनि यो कुरा बुझ्नु जरुरी छ । नेपाली जनताका निम्ति हो भन्ने बुझ्नु पर्छ । हामीले थाहा पाएसम्म भारतीय सरकारले राम्रोसँग राखेको छ भन्ने जानकारी छ । ठूलो सङ्ख्यामा भएकाले त्यहाँ केही समस्या हुन सक्छ । वारीपट्टी पनि ४९१ भारतीय नेपालको क्वारेन्टाइनमा छन् । पारी पनि भारत सरकारले राखेको छ । तै पनि आएको समस्या समाधानमा दुवै देशको समन्वयमा व्यवस्थापन गर्छौँ । 

तपाईँले यसो भनिरहँदा झापामा भारतबाट काम गर्न भारतीय नेपाल आएको भन्ने छ, अर्को सूचना के छ भने दिल्लीको एक ठूलो मस्जिदमा नेपालका मुस्लिम समुदायका नागरिक सहभागी भएर आएका छन् । गृह प्रशासनलाई त्यो सूचना आएको छ कि छैन ?

अवश्य पनि सूचना प्राप्त छ । भारतले तबलीगी जमातको धार्मिकसभामा विश्वभरिका मुस्लिम आएको भनेको छ। त्यहाँ सङ्क्रमित मुस्लिमबाहिरबाट आएका र भारतमा सङ्क्रमण फैलाएको भन्ने आएको छ । भारतमा यो ठूलै विषय बनेर उठेको र सेनासमेत परिचालन भएको अवस्था छ । त्यहाँ गएका नेपाली र इन्डोनेसियन मुस्लिम थिए । उनीहरू सप्तरीमा आएका थिए । यसलाई गम्भीरतापूर्वक लिएर उनीहरूलाई खोजेर क्वारेन्टाइनमा राखिएको छ । केही खोजी कार्य जारी छ । अधिकांशलाई क्वारेन्टाइनमा राखिसकेका छौँ । 

सीमा क्षेत्रमा थप सतर्कता आवश्यक छ भन्ने कुरा त यसले देखायो नि ? 

पक्कै पनि हो । यसलाई ध्यानमा राखेर सीमा सुरक्षालाई अझ बढी कडाई गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलले सुरक्षाको जिम्मा लिएको छ । त्यसमा अहिलेसम्म ११ हजार फोर्स खटाएका छौँ । अझै तीन-चार हजार फोर्स थप्दै छौँ । भारतबाट आउने गोरेटोलाई ध्यानमा राखेर सशस्त्र प्रहरी बललाई खटाएका छौँ । पछिल्लो समय तीन हजार फोर्स थपेका छौँ । त्यसैले सीमामा थप कडाई गरिएको छ । 

सबैभन्दा जोखिम क्षेत्र दक्षिणी सीमा हो । सीमा क्षेत्रमा डेडिकेटेड अस्पताल चाहियो भनेर वीरगञ्जलगायत नाकाबाट माग आइरहेको छ । त्यस्ता जोखिम क्षेत्रको समस्या समाधानमा सरकारको योजना के छ ? 

सातै प्रदेशमा परीक्षण ल्याव विस्तार गर्ने भन्ने छ । सात ठाउँमा ल्याव राख्ने काम जारी छ । केही क्षेत्रमा भइसकेको र केहीमा सुरु पनि भएको छ ।  नाकामा भएका अस्पताल जस्तै विरगञ्जको नेशनल मेडिकल अस्पताल छ । त्यसलाई पनि प्रयोग गर्न सकिन्छ । अहिले निश्चित आईसोलेटेड र आईसियू बेड बनाइएको छ । त्यतिले अझै पुग्दैन । त्यहाँ रहेका अस्पताललाई डेडिकेटेड अस्पतालमा बदल्नु आवश्यक हुन्छ । पश्चिमतिरका अस्पतालहरुलाई विशेष अस्पतालमा बदल्ने नीति सरकारको छ । क्रमशः प्रक्रिया सुरु हुन्छ । अहिले हामी तयारी फेजमा छौँ । जुनजुन नाकाबाट छिर्ने सम्भावना छ त्यहाँ विशेष अस्पताल बनाउने भन्ने सरकारको नीति छ । 

अन्त्यमा केही भन्नु छ कि ? 

सरकारले जुन नीति लिएको छ, कोरोनाविरुद्ध लकडाउनको नीति । यो नेपाली जनताको जीवन सुरक्षाको निम्ति हो । यो आफ्नै नीति हो भनेर जनताले समर्थन गर्ने र लकडाउनको स्थितिमा अति आवश्यक कामबाहेक बाहिर आवागमन नगर्ने कुरालाई आत्मसात् गर्न सक्यौँ भने कोरोनाविरुद्धको लडाइँमा हामी विजय प्राप्त गर्न सक्छौँ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.