कोरोना बिहान बेलुका पनि लाग्छ है !

कोरोना बिहान बेलुका पनि लाग्छ है !

काठमाडौं : लकडाउनमा दिनभर सुनसान भए पनि बिहान बेलुका भने सडक र चोकमा मानिसको भीड देखिन थालेको छ। वाध्यता वा कामले भन्दा पनि रहरले वा सडकमा टहलिन मानिसहरु बाहिर निस्कने गरेका छन्। राजधानीका सडक र चोकमा मानिसका चाप र गतिविधि हेर्दा लाग्छ मानौं बिहान बेलुका उनीहरुलाई कोरोनाले छुँदैन ।

लकडाउनले शान्तिको दैनिकीमा नसोचेको सकस ल्याइदिएको छ । बिहान बेलुका तरकारी बेचेर गुजारा चलाउँदै आएकी शान्तिको जीवनमा लकडाउनले अशान्ति नै छाएको छ । बागबजारमा झन्डै बीस वर्षदेखि तरकारी बेच्दै आएकी शान्ति भुसाल लकडाउन छल्दै बिहान र बेलुका एकछिन तरकारी बेच्न पुग्छिन् । उनी भन्छिन्, 'के गर्ने गुजारा चलाउनै पर्यो। तरकारी नबेचे हातमुख जोड्न मुश्किल हुन्छ।'

यसरी भीडभाडमा तरकारी बेच्दा कोरोना लाग्दैन त भन्ने जिज्ञासामा शान्ति भन्छिन्, 'खै बिहान बेलुका नलाग्ने हो कि। दिउँसो सुनसान भएपछि बिहान बेलुका सबै निस्केका हुन्छन् । म पनि त्यहीं देखेर आएकी हुँ ।' उनी थप्छिन् , 'कोरानासँग डराएर घरमै बसेर के गर्ने । पेट त पाल्नुपर्यो नि ।'

सरकारले लकडाउनको घोषणा गरेपछि बिहान बेलुका सानोतिनो व्यापार तथा श्रम गरेर हातमुख जोड्ने सर्वसाधरणलाई गुजारा चलाउन यतिबेला निकै कठिन छ । बिहान बेलुका वा दिनभरको कमाइले पेट पाल्ने उनीहरुको दैनिक गुजारा नै लकडाउनले संकटमा पारेको छ । शान्तिको चिन्ता छ, 'यो लकडाउन लम्बिँदै गयो भने खै कसरी बाँच्ने हो, कोराना नआउँदै मरिन्छ कि क्या हो ।'

तरकारी बेच्दा संक्रमणको त्रास उनलाई पनि छ । उनी भन्छिन्,'आफूले मात्र मास्क लगाएर के गर्ने, कहाँकहाँबाट कस्ता मान्छे आउँछन् तरकारी किन्न । सबै भगवान भरोसा हो।'

घरबाट निस्किनु शान्तिको त वाध्यता पनि हो । तर रहरले बिहान बेलुका सडकमा निस्किने, टहलिनेको संख्या बढी छ। लकडाउनमा दिउँसो सडक सुनसान भए पनि बिहान बेलुका भने मानिसहरु तरकारी किन्न, हावा खान भन्दै निस्किने गरेका छन् । प्रहरी गस्ती छल्दै मानिसहरु सडकमा हिँडिरहेको देखिन्छ, तरकारी पसल तथा किराना पसलमा बिहान बेलुका भीडभाड नै हुन्छ । 

इमाडोल सडकमा अपरान्ह हिँडिरहेकी सुनिता बस्नेतलाई लकडाउनमा यसरी हिड्न हुन्छ त’ भन्ने जिज्ञसा राख्दा उनी भन्छिन्, 'बेलुका हावा खाना निस्किएको हो ।  बिहान बेलुका त सबैजना निस्किरहेका हुन्छन् । म पनि त्यही देखेर निस्केकी हुँ । घरमा दिनभर गुम्सिएर बस्दा दिक्क हुन्छ । अनि के गर्ने ?'

भृकुटीमण्डपमा फलफूल पसल चलाउँदै आएकी बालकुमारी कार्कीको दैनिकी पनि लकडाउनले पुरै खुम्चिएको छ । उनी भन्छिन्, 'व्यापार व्वसाय पुरै थप्प छ । अब त भाडा तिर्न पनि गारो होला जस्तो भयो । कोठामा दिनभर के गरेर बिताउने सकस भइसक्यो।'

बेलुकापख पुतलीसडकमा भेटिएका राजकुमार लामा त्यहाँका कर्मचारी हुन् । बजार व्यवस्थापन उनले हेर्छन् । बिहान बेलुका मानिसको भीड देखेर उनलाई पनि अचम्म लाग्छ । उनी भन्छन्, 'बिहान बेलुका कोरोना लाग्दैन जस्तो गरी मानिसहरु सडकमा हिडिँरहेका हुन्छन्। संक्रमणको खतरा हुन्छ भन्दाभन्दै पनि मानिसहरु किन यसरी अटेर गरेका होलान्।'


 
बिहान बेलुकाको भीडभाडले संक्रमणको खतरा बढाउनसक्ने उनलाई पनि लागेको छ। राजकुमार भन्छन्, 'घरमा रेडियो सुन्दा, टिभी हेर्दा डर लाग्छ । बाहिर सडकमा मानिसको चाप हेर्दा केही हैनजस्तो लाग्छ । के हो के हो यो कोरोना ?'

बिहान बेलुका पनि सडकमा निस्किने मानिसलाई सुरक्षकर्मीले रोकेर सम्झाउने गरेका छन् । तर कतिपयले अटेर गर्दै 'के हामी कोरोना संक्रमित हौं र' भनेर उल्टै झर्किने गरेको छन् । युएन पार्क चोकमा सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीले भने, ’हामीले उहाँहरुका लागि भनेको हो तर उल्टै हामीले के-के सुन्नुपर्छ । बिहान बेलुका त मान्छेलाई रोक्नै गाह्रो ।'

सनराइज ब्वाइज होस्टेलका सञ्चालक नवराज पराजुलीलाई पनि बिहान बेलुका मानिसको भीड देखेर डर लाग्छ । उनी भन्छन्, 'कतिपयको त वाध्यता पनि होला तर धेरै त कामबिना नै सडकमा निस्किने गरेका छन्। यो रोक्नुपर्छ ।' आफ्नो होस्टेलमा भएका विद्यार्थीलाई दैनिक खाद्यन्न जुटाउन बजारमा निस्कनु आफ्नो वाध्यता भएको बताउँदै नवराज भन्छन्, 'घर जान नपाएर हास्टेलमै  बसेका विद्यार्थी छन् । कोराना लाग्यो भन्दै उनीहरुलाई भाकै राख्न भएन ।'

बिहान बेलुका सडकमा देखिने भीडभाडले झन् संक्रमणको खतरा बढाउने चिकित्सकहरु बताउँछन् । डा. जगदिश अग्रवाल भन्छन्, 'यसरी भीडभाडमा जानु झन् खतरा हुन्छ । बिहान बेलुका कोरोना नै आउँदैन जस्तो गरी मानिसहरु घरबाट निस्किन्छन् । यो गलत हो । यसलाई हामीले रोक्नुपर्छ ।'

महानगरीय प्रहरी कार्यालय काठमाडौंका नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रहरीले जबरजस्ती गर्नुभन्दा पनि स्वस्फुर्त रूपमा लकडाउनको कार्यान्वयन गरी अत्यावश्यक कामभन्दा बाहेक बाहिर ननिस्कन सबैमा आग्रह गर्दै आएको बताउँछन्। 

उनी भन्छन्, 'खासगरी बिहान बेलुका मान्छे बाहिर निस्कने गरेका छन्। त्यो भीडभाडले संक्रमणको खतरा नहोस् भनेर हामीले व्यक्ति र समुदायलाई सचेत गराएका छौं।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.