लकडाउनमा निम्न गुणस्तरको मदिरा बिक्रि
अछाम : लकडाउनको मौका छोपेर गाउँका स्थानीय व्यापारीहरुले प्रतिबन्धित मदिराको कारोवार गर्न थालेका छन्। जिल्लामा प्रतिबन्धित निम्न गुणस्तरको मदिराको लुकिछिपी कारोवार भइरहेको प्रहरीले जनाएको छ।
चौरपाटी गाउँपालिकास्थित सिउडी प्रहरी चौकीले शुक्रबार अवैध १३ पेटी मदिरा नियन्त्रण लिएर नष्ट गरिएको छ। बिहीबार साँझ गोप्य सूचनाको आधारमा वडा नं १ सिउडि पातलटोलस्थित शेरबहादुर थापाको घरमा लुकाई छिपाई राखेको अवस्थामा ढुकुटी नामक निम्न गुणस्तरको सौफी नियन्त्रणमा लिएको सिउडि प्रहरी चौकीका प्रमुख जय सिंह भण्डारीले बताए। सोहि गाउँपालिकाको-४ बाट घरेलु मदिरा पनि बरामद गरेको उनले बताए।
नियन्त्रणमा लिएको मदिरा शुक्रबार गाउँपालिका उपाध्यक्ष माया कुँवर र निमित्त प्रमुख प्रशासकिय अधिकृत धनबहादुर थापाको रोहबरमा नष्ट गरिएको छ। मदिरा बेच्ने थापालाई आगामी दिनमा नबच्ने शर्तमा ५ हजार जरिवाना गरि छोडिएको प्रहरीले जनाएको छ। गाउँपालिकाले यस अघि नै कमसल मदिरा बेच्न तथा ओसारप्रसारमा बन्देज गरे पनि मदिराको कारोबार भने रोकिएको छैन्।
प्रतिक्रिया दिनुहोस !