प्रतिरोधी चेतनाको मियो
‘ती नेताहरू जो जनतालाई भन्दा बढी पार्टीको सत्तालाई चिन्दछन् र कोरा महत्वाकांक्षालाई राजनैतिक बलिदान भन्दै घोक्र्याइँहरूको माला लगाएर बाहिर निस्कन्छन् र जसलाई आफ्नो विज्ञापनका निम्ति प्रेस रिपोर्टर र कन्फ्रेन्स चाहिन्छ। कति कति रङ फेरेर, कति लुगा फेरेर, वचन फेरेर अझ सिद्धान्त फेरेर नेता भएका छन्।’
यी हरफहरू लेखिएर छापिएको पनि तीन दशक जोड तीन वर्ष निख्रिसकेको छ। निश्चित आग्रहको, सत्ता दासताको झोला बोक्नेबाहेकका, पढ्ने हरेकलाई लाग्छ, यो ३३ वर्षअघिको देशको यथार्थ त हो नै, त्यसभन्दा बढी देश गुज्रिरहेको वर्तमानको यथार्थ चित्र पनि हो। २०३४ सालमा छापिएको पारिजातको ‘पर्खालभित्र र बाहिर’का यी हरफहरू यति कालजयी लाग्छन् हरेकपटक। जब पढ्छु, पारिजातका यी कृतिहरू, हरेक हरफहरू, शब्दहरू लाग्छ, कुरूप र विषालु वर्तमानविरुद्ध खबरदारी गरिरहेछन्।
उत्तिकै उदात्त लाग्दछन्, विम्बात्मक अभिव्यक्तिका यी उच्चतम शैलीहरू, जसमा देशको कुलषित यथार्थ वाचाल भइरहेका हुन्छन्, ‘यो बुद्ध र जनकको आदर्शले खँजो बनाएको देशमा, यो प्रकृति वर्णनले नक्कली बनाएको देशमा, हिमाली टाकुराहरूले होच्याइदिएको देशमा, यो शासकहरूको इतिहासले भरिया बनेको देशमा हामीले आफ्नो अनुहार हेर्न पाएका छैनौं। ...कस्तो चित्रमय छ हाम्रो देश, सेतो हिमाल र नीला नदीहरूले जेलिएको एउटा सुखी कल्पना जस्तो, मीठो सपना जस्तो तर म सधैं देश भन्यो कि एउटा मरञ्च्याँसे रोगी शिशु मात्र देख्छु, जसलाई केही दाह्रा र नङ्ग्रा भएका डरलाग्दा प्राणीहरूले खेलाइरहेका हुन्छन्। जति आऊन् यी लोलोपोतोका भाषणहरू, गीतहरू, कविताहरू, जति लेखिऊन् झुटो इतिहासका ठेलीहरू, देशले अनुहार फेरेको छैन।जनता शब्द धोका दिने शब्द भइसकेको छ अब। शासक र नेताहरू यही शब्दको आडमा ठगिरहेछन् बेस्कन। ...सिम्रिक पोतेर कोही राष्ट्रलाई रंगाउन सक्दैन। ...पसिनाको रङ कहाँ हुन्छ र ? त्यसैले त यो बेरंग पसिनाको इतिहास लेखिएन यहाँ ... (पर्खालभित्र र पर्खालबाहिर)।
पचासको दशकको दोस्रो र तेस्रो वर्ष देशमा आँधीको खाल खोलेर चलायमान भएका थिए। त्यही माचोमा भरुवा बन्दुक बोकेर आएको एउटा चित्ताकर्षक तन्नेरीले धेरैपटक मेरो खाटमुनि त्यो भरुवा बिसाएको थियो। म विद्यालय शिक्षाका आखिरी दिन निखारिरहेको थिएँ। चस्मा लगाएर आउने त्यही खिरिलो तन्नेरी नै थियो, जसले मलाई पहिलोपटक पाठ्यक्रमका किताबभन्दा बाहिर पनि पढ्ने किताब हुन्छ भनेर सिकाएको थियो। अमृत साइन्स क्याम्पसको स्नातक तहको पढाइ हापेर देश बदल्ने सपनालाई आकार दिन भरुवा भिरेर हिँडेको त्यो तन्नेरी थियो चूडामणि बञ्जरा ‘विदुर’।
अँ, तिनै विदुरले पाठ्यक्रमबाहिर मलाई लगेका थिए पहिलोपटक। तिनैले पढाएका थिए मलाई पहिलोपटक पाठ्यक्रमबाहिरकी पारिजातलाई। तिनले त्यसबखत थुप्रै पुस्तकहरू पढ्न दिन्थे। पढिसक्यो ती लगेर अरू ल्याइदिन्थे। जानेको बुझाउँथे। विज्ञान यति सरलसँग बुझाइदिन्थे कि त्यसको परिणाममा एसएलसीमा आएको आफ्नै विज्ञानको नम्बर हेरेर अहिले पनि चित् खान्छु म। त्यसरी उनले दिएका अनेकन् पुस्तकमध्ये दुइटा पुस्तक पारिजात लिखित थिए ‘अनिँदो पहाडसँगै’ र ‘पर्खालभित्र र पर्खालबाहिर’। अन्याय, अत्याचार, बेहालत देशको अवस्थाविरुद्ध विद्रोहको अपिल गरिएका पारिजातका यी उपन्यास गरिखाने भुइँ मानिसहरूको जिन्दगी तैबिसेक बनाउने सपनामा जोडिएर भरुवा भिरेर हिँडेको तन्नेरीले थमाउनु आज फर्केर हेर्दा बडो रोमाञ्चक लाग्छ।
शिरीषको फूललाई निस्सार र घोर परपीडक उपन्यास मान्दछु। त्यो उपन्यासले समाजलाई उँभो लगाउनु होइन, सक्दो बिगाथ्र्यो। युवा पिँढीलाई बिगाथ्र्यो। त्यसलाई म आफैँले जनविरोधी उपन्यास भनेर घोषणा गरिसकेको छु।
आफूसँग रहेका पुस्तकको पुनर्पठनका क्रममा हालैका दिनमा फेरि पल्टाउँछु, पारिजातका संकलित रचनाहरू। उस्तै उद्वेलित बनाउँछन्, पारिजातको लेखनले जसरी पन्ध्र, सोह्र वर्षको उमेरमा पारिजात पढेर उद्वेलित भएको थिएँ। एउटा पाठकलाई आफ्नो लेखनीमार्फत सधैंभरि उस्तै उत्साह, हुटहुटी, जागरण, सपना, चेतना दिनसक्ने लेखक हामीकहाँ कति पो होलान् र !
पंक्तिकार पारिजातको लेखनप्रति बढी नै अनुराग रहेको लागेर आफ्नै उमेरवयका मित्रहरूसँग पारिजातको कृतिबारेको धारणा जान्न खोजेको थियो। ती सबैले मित्र बन्धुबिक्रम क्षत्रीले जस्तै धारणा राखे, ‘अनिंदो पहाडसँगैले युवाहरूलाई स्वप्नद्रष्ट बन्न र संघर्षशील बन्न प्रेरित गरिरहन्छ। समाजको उकुसमुकुस, छटपटी र परिवर्तनको उत्कट चाहना पुस्तकमा अभिव्यक्त भएको छ। यसले आजको दिग्भ्रमित युवा पुस्तालाई आत्मविश्वाससाथ अघि बढ्न उत्प्रेरित गर्छ।’
यसले समकालीन पुस्ता एकसाथ पारिजातको प्रतिरोधी चेतनाबाट प्रभावित देखिन्छ। पारिजातको निधनपछि सञ्चालित जनयुद्धमा लागेका शिक्षक नेता गुणराज लोहनीलाई ‘पर्खालभित्र र पर्खालबाहिर’ उपन्यास मन पर्छ। हालैका दिनमा उनी उपन्यासको पात्र जस्तै हिजो सँगै लडेका साथीद्वारा पटकपटक पक्रिइएर हिरासत लगिए। भन्छन्, ‘यसमा एकातिर एकजना वामपन्थीमा कसरी वैचारिक विचलन आउँछ र अर्कोतिर कसरी मान्छे क्रान्तिकारी हुँदै जान्छ भन्ने देखाइएको छ।’
जतिपटक पढे पनि पारिजातको लेखाइ तीसको या चालीसको दशकको देशीय यथार्थमा सीमित भएजस्तो लाग्दैन। उनका शब्द विषालु वर्तमानविरुद्ध प्रतिरोधी चेतनाको मसाल बालेर वगावत् गरिरहेका यथार्थ चित्र जस्ता लाग्छन्। घरिघरि लाग्छ उनका शब्द आजैको कुरूपताविरुद्ध मुठी उचालिरहेछन्-
‘आज देश भोक, रोग, महँगी, अभाव, भ्रष्टाचार, व्यभिचार, अवैधबजार, तस्करी तथा गुण्डागर्दीले ग्रस्त छ। जनता गरिबीको रेखामुनि पिल्सिएर बाँचिरहेका छन्, जोसँग खान लाउनको न्यूनतम ग्यारेन्टी छैन। एकमुट्ठी शोषक, सामन्त र तिनका तलुवा चाट्नेहरू देशमा बसेर विदेशी पाराको भोज, विलासितापूर्ण जीवन बाँचिरहेका छन्। जनताले हाड घोटेर चुहाएको पसिना विदेशी बैंकहरूमा थुप्रिँदैछ। सरकारसँग जनताको गाँस, बास, कपासको कुनै कार्यक्रम छैन। विकासको नाउँमा दुई-चारजना पहुँच पुगेकाहरू मोटाएका छन् (अनिँदो पहाडसँगै)।’
एउटा लेखकले शब्दमा कोरेको आफ्नो समयको देशको चित्र तीन दशकसम्म पनि नबदलिनु र देश बदल्छु भनेर राजनीतिलाई पेसा बनाउनेहरू निर्लज्ज नेता भनाइएर साइरन बजाउँदै हिँड्नु कति लज्जाजनक छ यो देशमा !र पनि, देशको बेहालत बनाउने बिचौलियाजस्ता प्रतीत हुने राजनीतिक पेशेवरहरूको गीता गाएर सीताको जोहो गर्नेहरूको बिगबिगीले आक्रान्त छ, देश। एउटा मन्त्री करोडौं कमिसनका लागि बिचौलियासँग खुलेआम मोलमोलाइ गर्छ, उसको बचाउ गरेर जीविका चलाउन अभिशप्तहरू नागरिक चेतना डाम्न बिनालाज अघि सर्छन्। सिंगो संसार संक्रामक महामारीले आक्रान्त छ। मन्त्रीहरू, सत्तामा अडेस लागेर बसेको पेशेवरहरू महामारी रोक्न उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने लुगा र स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार मच्चाउँछन्। बचाउमा प्रधानमन्त्री नै अघि सर्छन्, देशको माइकसमाएर। देशमा जनताको प्रतिनिधि प्रधानमन्त्री पदमा छन् कि बिचौलिया, दलाल, भ्रष्टहरूको संरक्षक भनेर कोही बाहिरियाले प्रश्न उठाए लज्जापूर्ण मौनताबाहेक हामीसँग अर्को बाटो हुँदैन।
यति हुँदा पनि समय पारिजात लिखित यी शब्दचित्रसँग मेल खाने अवस्थाबाट गुज्रिइरहेछ, ‘...यो मुर्दा नै मुर्दाको देशमा ...सयौं जुत्ता खाएर पनि चुप लागेर बसेका छन्। सयौं घैला पानी खन्याइदेऊ न यहाँका मानिस उठ्दैनन्। ...सायद देशमा क्रान्ति गर्नका निम्ति पनि कसैले किन्न आउला भनी हामी पर्खेर बसेका छौं। सायद हामी ज्यालामा मात्र लड्छौं(पर्खाल भित्र र पर्खालबाहिर)। ... चौबिसै घण्टा दुख्ने घाउ सहेर पनि कोही आरामको निद्रा सुत्न सक्छ भने त्यो मान्छेको जात नै होइन। अन्याय-अत्याचारको खाटमुनि इतिहास सुत्छ भन्ने कुरा मलाई थाहा छैन। ...यहाँ आधा पेट खान लेऊ भन्दै माग्न आउला भनी सरकारले गरीबहरूको मुखमा डण्डा तेस्र्याएर राखेको छ (अनिँदो पहाडसँगै)।’
०००
१९९४ वैशाखमा दार्जिलिङ लिंगिया चियाबगानमा आमा अमृत मोक्तान र पिता कालुसिंह (के. एस.)वाइबाकी छोरीपहिले विष्णुकुमारी वाइवा र पछिबाट पारिजातका नामले सुप्रसिद्ध लेखक बनिन्। उनको भवानी भिक्षु सम्पादित ‘धरती’ पत्रिकामा चित्तरञ्जन नेपालीमार्फत पहिलो कविता छाापिएपछि सुरु हुन्छ लेखनको अविराम यात्रा। लेखन विचारहीन स्वैरकल्पना कि सामाजिक उत्तरदायित्व भन्नेमा पारिजातको लेखन सुरुका दिनमा आफैंसँग लाप्पा खेलिरहेका पाइन्छन्। आरम्भका दिनका उनका कविता या ‘शिरीषको फूल’जस्ता कृतिहरूले सामाजिक निराशा, कुष्ठा, प्रेम शीर्षकका भद्दा भागदौड, व्यक्तिवादी अराजकतावादलाई खुब सिञ्चन गर्छन्। उप्रान्तका उनका कृति आफू बाँचेको समाज, समय, वर्ग, विद्रोहप्रति सचेत छ। परिवर्तन र अघि बढ्ने हुटहुटीलाई पुट दिन्छन्। सदैव सपना देख्न र त्यसको स्वर्णिम अनुवादका पक्षमा आक्रामक पैरवी गर्छन्। एउटा लेखकले युगको ढिलाढाला भइसकेको पुर्जा फुस्काएर मानिसहरूलाई दमन, अत्याचार, शोषण, उत्पीडन, गरिबी, अभावबाट मुक्त हुन उत्प्रेरित गर्छन्। अनिँदो पहाडसँगै, पर्खालभित्र र पर्खालबाहिर जस्ता युगचेतना बोकेका पारिजातका उत्कृष्टकृति पढिरहँदा आजको यो निराशा, धोकाधडी, बेइमानी, फट्याइँले बलिदानलाई कुलषित पारेको दिनमा समेत उत्साही, प्रतिबद्ध, प्रतिरोधी बन्न उत्प्रेरित गरिरहेको पाउँछ हरेक पाठकले।
२०१४ सालमा ‘आकांक्षा’का रूपमा पारिजातको पहिलो कवितासंग्रह अघि आउँछ। २०१९-०२२कोे जीवनको शारीरिक तवरले सबैभन्दा कठिनतम दिनहरूमा पारिजातले मृत्युको अँगालोमा, नसोध यो घाऊ, सँगै मरौं, उपायहीन साँझ जस्ता कविता र शिरीषको फूल उपन्यास लेखेको पाइन्छ।हाड-जोर्नीको रेगसँगै क्षयरोग, अल्सर, दमबाट मुक्ति पउन २०२६, ०२९, ०३० र ०३१ म पटकपटक भारत गई शल्यक्रियात्मक उपचार गराए पनि पारिजात स्वास्थ्य असहजताबाट निस्कन सकिनन्। कविता, कथा, उपन्यास, संस्मरण पारिजातले तय गरेको, पार गरेको लेखनको लामो बाटो हो। निस्सार आर्दशवादी, रोमान्टिक, भावुकता, विरह, वेदना, प्रेमयाचना, अस्तित्ववादी, विसंगतवादी, व्यक्तिवादी, एकलेवीर क्रान्तिकारी हुँदै प्रस्ट प्रगतिशील लेखनसम्म पुग्दा पारिजात समकालीन मात्रै नभई नेपाली लेखन शिविरकै प्रतिरोधी चेतनाको मियोकारूपमा उभिएको पाइन्छ।
अवसरवादीहरूको भीडमा, सत्ताले धराप थापेर राखेको टाट्नोमा बाँधिएको दाम्लोमा नारिएर हैसियतअनुसार पद, प्रतिष्ठा, अवसरसामु आफूलाई लिलाम गरिरहेका मानिस बन्नबाट जोगाउन सक्नुले नै पारिजातलाई प्रतिरोधी चेतनाको मियोकारूपमा आदर्शीकृत गरेको पाइन्छ। शारीरिक स्वास्थ्यसमेतका कारणबाट सबैभन्दा बढी अरूबाट सहयोगको जरुरत पर्ने अवस्थामा रहेकी पारिजात, उपचारका कारण आर्थिक रूपले समेत तन्नम बनेकी पारिजातसँग सत्तासँग बेचिनका लागि सबैभन्दा विश्वासिला बहाना थिए। तर उनले ठाडै भनिन्, ‘हात फैलाउनुलाई म अधम मनोवृत्ति ठान्छु(सडक र संघर्ष)। यसको विकल्पमा बरु मलाई मृत्यु प्यारो हुन्छ। मैले मेरो सास फेराइलाई पैसाको थैलीसँग जोख्न सकिनँ, आफ्नो स्वाभिमानलाई कहिल्यै पनि भाँचकुच गरेर तराजुमा राख्न सकिनँ। स्वभावैले म बिक्न नसक्ने, त्यसैले जीवनको कस्तै कठिन परिस्थितिमा पनि म सत्ता पक्षको हातमा बिक्न समर्थ भइनँ। पीडित जनताप्रति असंवेदनशील र निर्दयी निरपेक्ष त म कहिल्यै रहिनँ (पृष्ठभूमि, २०४२)।’
महेन्द्रीय पञ्चायतको जगजगी चलेको दिनमा सग्लो परिचय बनाउन सकेको सार्वजनिक बौद्धिकमध्ये पारिजातबाहेक आफूलाई निर्दलीय पञ्चायतसँग बेच्न बाँकी सग्लो मानिस कोही देखिन्न। जसले निर्दलीय पञ्चायतसामु आफूलाई बेचेनन् या त तिनले आफूलाई ‘बहुदलीय पञ्चायती’ सत्तासँग बेचे या ‘गणतान्त्रिक पञ्चायत’सँग। कसैले प्रज्ञाको नाममा, कसैले रेडियो, टेलिभिजनका नियुक्तिका नाममा, कसैले केही नाममा सत्तासामु आफूलाई लिलाम गरे। एउटा सिंगै जिन्दगी सत्ताको खालमा ननारिईकन गरिखाने धुलामैला मानिसहरूको पक्षमा, देशको समतामूलक विकासको पक्षमा उभिएर निखार्ने लेखक, कवि, कलाकार, बुद्धिजीवीको संख्या गन्न उभिइयो आज भने एउटा हातको औंला पनि गन्न पुग्दैन। र, त्यो गन्तीको सबैभन्दा पहिलो नम्बरमा पारिजात पर्छिन्। त्यसैले त उनी प्रतिरोधी चेतनाको मियोका रूपमा ढाडस बनेर उभिन्छिन् हरेक बागी विचारकहरूका लागि।
०००
धेरैले मदन पुरस्कार प्राप्त कृति ‘शिरीषको फूल’मा सीमित गरेर पारिजातको फराकिलो संघर्ष र प्रगतिशील लेखनमाथि निषेधको तरबार उद्याउँदै रमाउने मोह पालेको देखिन्छ। मदन पुरस्कार पाएकै कारण पारिजातको लोकप्रियतालाई ‘शिरीषको फूल’मा सीमित गर्न चाहनेहरूले बुझ्नुपर्छ पारिजात अघि र पछि पनि मदन पुरस्कार पाउनेहरूथिए, छन्। तर ती एकाध वर्षमै किन विस्मृतिमा पुगे र किन पारिजात भने झन्-झन् पाठकहरूबीच लोकप्रिय लेखकका रूपमा प्रसिद्ध भइरहिन् भन्ने। पारिजातको विचार र व्यवहारको एकरूपता अर्थात् जस्तो विचार उस्तै जीवन बाँच्ने इमानदारी र आदर्श नै उनलाई युगीन लेखकका रूपमा प्रख्याति दिलाउने प्रमुख कारण थियो।
०००
व्यक्तिगत जिन्दगीमा पनि पारिजात इमानदार प्रतीत हुन्छिन्। उनले लेख्ने र बाँच्ने दोहोरो मापदण्डलाई जिन्दगानी चलाउने मेसो बनाउन अस्वीकार गरिन्। कतिसम्म भने कसैसँगको वैयक्तिक अन्तरंग सम्बन्धबारे समेत उनी पर्दाबिनाको खुला जीवन बनेर प्रकट हुन्छिन्। चर्चित कवि भूपी शेरचनसँगको सम्बन्धबारे उनी उल्लेख गर्छिन्, ‘एकदिन यस लोकप्रिय कविसँग घनिष्ठताको चरमविन्दुमा म बाँधिन पुग्छु।’ बहिनी ज्वाइँ निर्मल लामाबारे उनी लेख्छिन्, ‘त्यही दिनहरूमा एउटा शौभाग्यशाली दिन ढुक्दाढुक्दा बल्छी परेजस्तै मेरो हात पर्छ। अनायास निर्मल लामासँग मेरो भेट हुन्छ। लाग्छ सायद म यिनै हिरोको खोजीमा थिएँ। त्यस रात आन्तरिक सुखले विभोर भएर अथवा युगयुगदेखि खोजेको वस्तुलाई पाए जस्तै उन्माद लिएर घरभित्र पस्छु। त्यसरी मिलेका निर्मल लामासँग प्रकारान्तरले बिहे जोडिदिन्छिन् बहिनी सुकन्याको (एउटा चित्रमय सुरुवात)।
०००
‘प्रगतिशील कविता, लेख आदि सम्पादकलाई मिल्क्याइदिने र प्रगतिशील प्रतिबद्धता पूरा भयो भनी आफू खुसुक्क गल्लीभित्र भाग्ने कवि कलाकारहरूको परिपाटी विजयशील जनपक्षीय साहित्यिकइतिहासको एउटा सेयर किन्ने चलाकी मात्र हो (जनचेतना, २०४१, असार, २१)’ भन्ने पारिजातले जिन्दगीलाई नै आन्दोलनका रूपमा समर्पित गरिन्। प्रगतिशील लेखनलाई नारा र वाद भनेर लोकरिझ्याइँको खेतीगर्नेहरूलाई पारिजातले जवाफ दिइन्, ‘‘वाद’ भनेपछि डराउनु हुँदैन। वादसँग डराउनु पनि एउटा वाद हो। ऊभित्र एउटा वादले काम गरिरहेको हुन्छ। वादहरू दुइटा छन्-एउटा प्रगतिवाद र अर्को यथास्थितिवाद। यथास्थितिवाद निरन्तर प्रगतिशील, गतिशील प्रकृतिलाई रोकेर राख्न चाहन्छ (दृष्टिकोणसँगको अन्तर्वार्ता)। साहित्य बन्नका निम्ति कृतिले युगको सन्देश बोकेको हुनुपर्छ। साहित्य बन्नका लागि कृतिले व्यक्तिलाई होइन, समाजलाई आफ्नो वृत्त बनाउनुपर्छ। समाज निरपेक्ष नायकको कल्पना कुनै पनि लेखकले गर्न सक्दैन। शब्दसँगको परिचय, व्याकरणको ज्ञान रवाक्य रचनाको क्षमताले मात्र साहित्यकार बन्न सकिने होइन। आफ्नो यूगको, आफू बाँचेको समाजको, सामाजिक अन्र्तद्वन्द्व, समाजभित्रको वर्ग संघर्ष, वर्गहरू बीचको आपसी गठजोड, नयाँ र पुरानोबीचको संघर्ष र निर्माण तथा विनाशबीचको संघर्षलाई बुझ्ने र त्यसलाई कलात्मक अभिव्यक्ति दिने क्षमता भएको मानिस साहित्यकार बन्न सक्छ। पुस्तक बढी बिक्नु, पाठकहरूको स्नेहपत्रहरू प्राप्त हुनु सफलताको परिचायक हो भन्नेहरूसँग म बढी नै असहमत छु (वेदनाका लागि मुरारी अर्यालसँगको कुराकानी)।’
मानिसलाई केवल यौन, उपभोग, मैथुनको सारांश मानेर आजपनि लेखनलाई तिनै उपभोग÷उपभोक्तावादी चेतका साथ कागजको दुरुपयोग गर्दै ‘सेलिब्रिटी’ बन्न लामबद्धहरूको सूची कम्ती अत्यासलाग्दो छैन। युवाहरूलाई जीवन भनेको प्रेम, यौन, भोग, मैथुन हो भन्ने चेतनाले डाम्न प्रतिस्पर्धा गरिरहेकाहरूको आदर्श आज पनि ‘शिरीषको फूल’ हुनु कुनै अन्यथाको विषय होइन। तर, आफूलाई समाजसचेत, समयसचेत, प्रगतिवादमा विश्वास राख्ने भनेर ढोल पिटाएकाहरूको समेत आदर्श ‘शिरीषको फूल’ हुनुले तिनको चेतनाको वास्तविक चेहरा उदाङ्गो पारिदिन्छ।
घोर निराशाको कथा थियो, शिरीषको फूल भनेर पारिजातले नै उल्लेख गरेकी छन्, ‘२०२२ सालतिर मानसिक जटिलता कस्सिँदो थियो। शिरीषको फूल त्यही साल लेखेँ। उपचार गर्दागर्दा नैतिक र आर्थिक रूपले सबैतिरबाट निरूपाय भएकी म अथवा भनौं उपचारको कुनै विकल्प नपाएको मैले जीवनलाई त्यसरी नै लिइदिएँ। एउटा चालु सडक- पुतलीसडक, कोलाहल, भीड र व्यतस्ता। युद्ध गर्दागर्दै हारेर थकित भएकी म, युद्धमा जसको मृत्यु भएन र जो जित्नेहरूसँग बन्दी भएर पनि जान सकेन। गजबले छाडिइन्छु घाइते सिपाही जस्तै। ..यातना खप्न नसकेर क्रमशः पलायन हुँदै जान्छु, निरर्थकता, अर्थहीन र विसंगतितिर। मेरो निम्ति तयार छ एउटा जीवनहीन कालो गुफा, जहाँ मलाई कुण्ठाको गाँस छ र ओढ्नलाई अनास्थाका आवरणहरू।
मलाई मान्छेहरूको माया लाग्न छाड्छ र आफ्नै पनि। म आफ्नो जीवनलाई अभिशाप ठान्न थाल्छु, एउटा यस्तो अभिशाप जोबिना अर्थ मैले भोग्न परेको छ। गुनासोमा कुनै अर्थ देखिनँ र संघर्षमा कुनै अर्थ देखिनँ। आशा, संघर्ष, विश्वास जस्ता मानवीय मूल्यहरू एकएक गर्दै मेरो अघि मर्न थाल्छन् (एउटा चित्रमय सुरुवात)। म मरुभूमिको यात्रा गरिरहेकी थिएँ। मनस्थिति जता छाम्यो उतै रक्ताम्य, जीवन मेरो निम्ति काठको बिछ्यौनामा थियो।’ पारिजातले तिनै दिनमा लेखेकी थिइन्, शिरीषको फूल र त्यसमा अभिव्यक्त भएको थियो उनमा अभिसारित हतासा, निराशा, कुण्ठा, पलायन। त्यसैले त पछिका दिनमा उनले घोषणै गरिन्- ‘शिरीषको फूललाई निस्सार र घोर परपीडक उपन्यास मान्दछु। त्यो विसंगतिपूर्ण, निस्सारता, शून्यवादी, अर्थहीनताले भरिएको उपन्यास थियो जसले समाजलाई उँभो लगाउनु होइन, सक्दो बिगाथ्र्यो। युवा पिँढीलाई बिगाथ्र्यो। त्यसलाई म आफैँले जनविरोधी उपन्यास भनेर घोषणा गरिसकेको छु(छालबाट)।’
शिरीषको फूलमा जीवनलाई निराशा, अपरिमित दुःख, कुण्ठा, हताशा, शून्यता, पलायन, असफलताकारूपमा विम्बित गर्ने पारिजातलाई पछिल्ला दिनहरूमा मानिसको जीवनलाई थिति, व्यवस्था, समाज, समय, रीति फेर्ने सुचालककारूपमा व्याख्या गरिरहेको भेटिन्छ। ‘जीवन असफलता हो, यो जीवन दुर्भाग्य हो, मानिस यसै पनि दुःखी छ, उसैपनि दुःखी छ (शिरीषको फूल)’ भन्ने पारिजात पछिल्ला दिनहरूमा हुँकार गरिरहेकी हुन्छिन्, ‘..विश्वास गर, हाम्रा गालाका चाउरीहरूसँग मुक्तिको इतिहास बूढो हुँदैन। ..तर खस्नुहरूसँग यो सुस्ताउनसक्छ, अल्मलिनसक्छ। ..हामी यहाँ रातो मसीले आउने दिनहरूको कार्यक्रम बनाउन सक्छौं। म मर्छु तिमी बनाऊ, तिमी मर्छौ म बनाउँछु, हामी मर्छौ कोही अरू बनाउँछन्। यो क्रम नै सिद्धिँदैन (पर्खालभित्र र पर्खालबाहिर)। सहनेको दुःख माटो भएर जान्छ। नसहनेहरूको दुःख इतिहास भएर जुर्मुराउँछ (अन्तर्मुखी)।’
संगठन र सामूहिक संघर्षप्रति विश्वास प्रकट गर्दै पारिजात गरिखाने वर्गलाई अपिल गरिहेकी हुन्छिन्, आफ्ना प्रतिरोधी चेतनामार्फत्, ‘जाली फटाहालाई पोस्ने यो अपराधी व्यवस्थालाई जनताले जरैदेखि नउखेले त के र ? यस्ताहरूलाई बदला लिने तरिका हुन्छ। एक्लै-एक्लै जुधेर हुँदैन, मिलेर जुध्नुपर्छ, समय आउँछ (अनिँदो पहाडसँगै)। ... हूल मान्छेहरूमा विभाजित भएको बेला, मान्छेहरू व्यक्ति-व्यक्तिमा विभाजित भएको बेला कतै युग पछाडि फर्कंदैछ कि जस्तो आभास हुन्छ (परिभाषित आँखाहरू)। ..एकजनाको आहुति चौतारी भएर कुर्न नपरोस् अर्कोको आहुतिलाई। हातेमालो भएर जाऊन् आहुतिहरू। व्यक्ति-व्यक्ति मान्छेहरूमा जाऊन्, मान्छेहरू हूलमा जाऊन् (थपिदिन मनलाग्छ, हूलहरू जनसमुदायमा बदलिऊन्)।’
०००
पीत चेतनाविरुद्धका हर उज्ज्वल भविष्यका लागि, उद्देश्यका लागि हुने आन्दोलन, संघर्षकोविरलै मोर्चा होला, जहाँ स्वास्थ्यले कुँजो बनाएको शरीर घिर्सादै भएपनि पारिजात सामेल नभएकी होऊन्। राल्फा, वेदना, इसासजस्ता सांस्कृतिक आन्दोलनको केन्द्रमा पारिजात रहिन्। नेकपा चौमको भूमिगत राजनीति, अनेमसंघको अध्यक्षता, ०३६ सालको आन्दोलन, ०४६ सालको कालोपट्टी आन्दोलनको अग्रमोर्चा पारिजातले रोजेको संघर्षको बाटो थियो। गरिखाने वर्गका मान्छेहरूका पक्षमा पारिजातले शब्द, विचार र संगठनका माध्यमबाट जसरी आफूलाई अभिसारित गरिन्, त्यसले उनलाई प्रगतिशील लेखन शिविरमा लाग्ने अधिकांश लेखकहरूका प्रिय पारिजात दिदी मात्रै बनाएन, बागी विचार राख्नेहरूको धुरीका रूपमा स्थापित गरायो। वासनामुखी लेखनमा मदन पुरस्कार पाइसकेकी पारिजातले कालान्तरमा नेपाली समाजको समस्यामाथि गम्भीर विमर्श गरिन्। आफ्नाशब्दहरूमा युगचेत भरेर समाजलाई संगठित बन्दै शोषणको फलामे जञ्जीर तोड्न संघर्षको मैदानमा उत्रन र विभेद-अत्याचारको पहाड फोर्न आवश्यक हतियारसहित लामबद्ध हुने चेतना प्रवाहित गरिन्।
पारिजातको लेखन कसरी निराशावादी व्यक्तिवाद, मैथुनकेन्द्रित उपभोक्तावादबाट फड्को मारेर व्यक्तिकेन्द्रित अराजकतावाद, एक्लेवीर क्रान्तिकारिता र त्यसबाट गुणात्मक फड्को मारेर सामाजिक यर्थाथवादी÷प्रगतिवादी धारमा दौडिएको छ भन्ने बुझ्न ‘शिरीषको फूल’, ‘महत्ताहीन’, ‘आदिम देश’, ‘बैंसको मान्छे’,‘तोरीबारी, बाटा र सपनाहरू’, ‘अन्तर्मुखी’, ‘परिभाषित आँखाहरू’, ‘उसले रोजेको बाटो’,‘पर्खालभित्र र पर्खालबाहिर’, ‘अनिँदो पहाडसँगै’ क्रमशः पढ्नुपर्छ। थपमा ‘आकांक्षा’, ‘पारिजातका कविताहरू’, ‘आदिम देश’, ‘सडक र प्रतिभा’, ‘बोनी’, ‘साल्गीको बलात्कृत आँसु’, ‘वधशाला आउँदाजाँदा’ले पनि त्यसको तस्बिर देखाउँछ।
प्रगतिवादी लेखक, समालोचक निनु चापागाईले उल्लेख गरेजस्तै पारिजातमा २०२५ सालसम्म मृत्युन्मुखी निराशावादी, पलायनवादी, विसंगतवादी, व्यक्तिकेन्द्रित अराजकतावादीलेखन धाराले संक्रमण गरेको पाइन्छ (मूल्यांकन)। ‘शिरीषको फूल’, ‘महत्ताहीन’, ‘आदिम देश’ले ती धारको प्रतिनिधित्व गर्छ। ‘बैंसको मान्छे’ले पारिजातमा विकसित नवचेतनाको संकेत गर्छ भने ‘तोरीबारी, बाटा र सपनाहरू’ले पारिजातको लेखनमार्फत उनमा विकसित विचार निमार्णको स्पष्ट फड्कोलाई प्रतिनिधित्व गर्छ। ‘सडक र प्रतिभा’ कथासंग्रह पारिजातको निस्सार आदर्शवादी मोडबाट प्रगतिवादी मोडमा प्रकट हुने पानीढलोकारूपमा देखिन्छ। ‘एउटा चित्रमय सुरुवात’, ‘साल्गीको बलात्कृत आँसु’, ‘उसले रोजेको बाटो’, ‘पर्खालभित्र र पर्खालबाहिर’, ‘अनिँदो पहाडसँगै’ जस्ता कृतिहरूले पारिजातको लेखनमारुढ भएकोप्रगतिवादी, सामाजिक यथार्थवादी धारको प्रतिनिधित्व गर्छन्। ‘अनिँदो पहाडसँगै’, ‘तोरीबारी, बाटा र सपनाहरू’को साहित्यिक स्तर ‘शिरीषको फूल’को स्तरभन्दा कम छैन।
उसले राजेको बाटो, पर्खालभित्र र पर्खालबाहिर, अनिँदो पहाडसँगैले विषालु वर्तमानलाई निर्खान संगठित संघर्षको अपिल मात्रै गर्दैन, सामाजिक यथार्थको रंगीन चित्रसमेत पेस गर्छ पाठकलाई। गरिखाने वर्गका मानिसहरूको आँसु, पसिनाप्रतिको अगाध प्रेम, शोषक र कजाइ खाने वर्गका कामचोर, पसिनाचोर, अवसरवादी प्रवृत्तिप्रति चरम घृणा, आक्रोश र त्यसविरुद्धको संगठित प्रतिरोधको पैरवी ‘अनिँदो पहाडसँगै’ ‘पर्खालभित्र र पर्खालबाहिर’ जस्ता कृतिको संकथन हो।
०००
पारिजातको निधन २०५० वैशाख ५ गते भयो। त्यसको दुईवर्षपछि सुरु भएको हिंसात्मक विद्रोहका अगुवाहरूले पलायनको बाटो राजेको पनि डेढ दशक पुगिसक्यो। पारिजातले लेखेका यी हरफहरू भने त्यो विद्रोहमा सामेल कतिका हकमा हुबहु लागू हुन्छ, ‘उसले क्रान्तिको आवश्यकतालाई वीर पूजाको आवश्यकता ठानी।.. यसरी कसैले क्रान्तिलाई ठोसबाट सुरु गरे भने कसैले भ्रमबाट सुरु गरे (अनिँदो पहाडसँगै)।’ पारिजातले लेखनमार्फत् ऐलान गरेको विद्रोहमा सामेलहरूले पलायनको बाटो राजेपछि पनि समयको विषालु वर्तमानको तस्बिर भने हुबहु उनले लेखेकै बेहालत अवस्थामा टक्क अडिएको छ, ‘समाज एउटा सनकी पैसावालको शोरुम भइसकेको छ। ..इतिहास शिथिल भैसकेकै कहाँ छ र ? आज पनि त पिठ्यूँमा बन्दुक दागेर जमातका जमात निमुखाहरूलाई शासकहरूले मार्न लगाइरहेका छन्, कहिले राष्ट्रको नाउँमा कहिले महत्वाकाक्षांको नाउँमा(अनिँदो पहाडसँगै)।’
‘क्रान्ति’को बाटोबाट यताको समयमा टाउको गन्ने व्यवस्थामा आएका कतिलाई पारिजातका यी हरफहरूले कति जोडदार रूपमा हल्लाउला, यदि आज पनि ऊ इमानको फिरफिरे कमिज उनेर चिसा हिउँदहरूमा पनि अविचलित उभिएको छ आफ्नो विश्वासमा भने, ‘हामी हिँड्दाहिँड्दैखेरिका बलिया हातेमालोहरू छाडेर यहाँ आएका थियौं, आँखाभरि महान् सपनाहरू बोकेर। हामी जान्दथ्यौं र सोच्दथ्यौं ठाउँ-ठाउँमा छाडेको आगोका फिलिङ्गाहरूले एउटा विकराल रूप लिनेछ र एकदिन ढुंगा गलाउनेछ यस आगोले। ..क्रान्तिलाई केही नारा र केही आवेशहरूमा सिध्याएर युगको एउटा सानो ठेक्का किन्ने साथीहरू जीवन लुटेर बसेका छन् यही देशमा। (पर्खालभित्र र पर्खालबाहिर)।’ त्यसरी सपनाका खातिर, गरिखानेहरूको दिन उजिल्याउने आश्वासनका खातिर झुत्रेझाम्रे मानिसहरूलाई जीवनको न्यौछावर गर्न लगाउने अमुक मानिसहरूलाई अमुक मानिसहरूले ‘क्रान्तिको नायक’ घोषणा गर्दै ‘हनुमान चालिसा’ छपाएको डेढ दशकमै ती कथित नायकहरू आफ्नो समयको सबैभन्दा अवसरवादी खलनायकमा दर्ज भइरहेको बखत पारिजातका यी हरफहरू फेरि जोडदार विद्रोह बोल्छन् निडर बनेर, ‘हामीलाई व्यक्तिगत महिमाहरूभन्दा एउटा सग्लो परिवर्तित इतिहास चाहिन्छ। आगो लगाइदेऊ तिम्रो व्यक्तिगत महिमालाई, हामीलाई तिम्रो महिमा होइन तिम्रो सक्रियता चाहिन्छ। समूहको साझा इतिहास हो यो साथी (पर्खालभित्र र पर्खालबाहिर)।’
फेरि पनि पारिजात आफ्नो समयका जनसाधारणहरूलाई सचेत गराउँछिन्, जो आज पनि उत्तिकै सान्र्दभिक बनिदिन्छ, ‘यो व्यवस्थाले तिमीसँग दुइटा काम गर्नसक्छ, एक, यसले तिमीलाई खुला बजारमा किन्छ र बेच्छ। दुई, यसले छलेर तिम्रो हत्या गरिदिन्छ। यी दुई विकल्पभन्दा परतिर यदि जीवन टुगिँदैन भने त्यो फराकिलो कार्यक्रम हाम्रो हो, तिम्रो हो। मानिलेऊ, यी विकल्प तिम्रा दुई मुठ्ठीभित्र छन्। सोच र बाहिर आऊ ....(पर्खालभित्र र पर्खालबाहिर)।’
Twitter: @gaunkomanchhey