विप्लव समूहबाट कुटिए विद्यार्थी नेता
भोजपुर : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका हतियारधारी समूहबाट विद्यार्थी नेता कुटिएका छन् । भोजपुर बहुमुखी क्याम्पसका स्ववियू सभापति प्रकाशसिं राईसहित दुईजना विद्यार्थी अगुवालाई सो समूहले कुटपिट गरेको पिडितकोआरोप छ ।
गत सोमबार राती षडानन्द नगरपालिका वडा नम्बर २ कुदाककाउलेको तल्लो ताबुमा उक्त समूहले कुटपिट गरेको आरोप छ । कुटपिटपछि अनेरास्ववियूले विज्ञप्ती निकाल्दै घटनाको निन्दा गरेको छ । स्ववियू सभापति राई र अनेरास्ववियू जिल्ला कमिटी सदस्य उत्तराज खड्कामाथि चन्द समूहका प्रकाश गुरुङसहितको समूहले कुटपिट गरेको अखिलका जिल्ला संयोजक ध्रुवराज राईले बताए । प्रकाश गुरुङको घर पनि कुदाककाउलेमै रहेको छ ।
आक्रमणकारीले आफूलाई कञ्चटमा पेस्तोलले हानेपछि नजिकैको प्रहरी चौकीमा आश्रय लिएर पछि घर फर्किएको पीडित राईले बताए । उनका अनुसार साथीको बिरामी आमालाई घर पुर्याउन जिल्ला प्रशासन कार्यालयबाट पास लिएर गएका उनीहरूलाई मोटरसाइकल रोक्न लगाएर कुटपिट गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी नरबहादुर सलामी मगरका अनुसार कुटपिट गर्ने गुरुङ प्रहरीको खोजी सूचीमा रहेका व्यक्ति हुन् । डिएसपी मगरले भने,‘यसअघि पनि निकै आपराधिक घटनामा संलग्न भएको हामीसँग रेकर्ड छ । पक्राउका लागि प्रहरी परिचालन गरेका छौं । ’
प्रतिक्रिया दिनुहोस !