कोरोना जितेर डिस्चार्ज भइन् ६५ वर्षीया महिला

कोरोना जितेर डिस्चार्ज भइन् ६५ वर्षीया महिला

बागलुङ : बागलुङ नगरपालिका ३ गौडाकोटकी ६५ वर्षीया  महिला कोरोना जितेर डिस्चार्ज भएकी छन्। उमेर बढी भएकाले उनलाई संक्रमण देखिँदा  चिकित्सक, परिवारका सदस्य, आफन्त र आम शुभेच्छुक चिन्तामा थिए। 

अझ उनी १५÷१६ वर्ष अघिदेखि दम र प्रेसरको विरामी थिइन्।  वृद्ध आमाले १८ दिनमा कोरोना जितेर घर फर्किन्छिन् भनेर धेरैलाई लागेकै थिएन। तर, कोरोनाबाट आंतकति देश दुनियाँलाई बृद्धावस्थामा पनि उच्च मनोबल भए सहजै जित्न सकिन्छ भन्ने सन्देश दिएर उनी घर फर्किएका छन्। 

चैत १७ गते कोरोना संक्रमण पुष्टि भए पछि होम क्वारेन्टिनमा बसेकी पौडेललाई धौलागिरी अञ्चल अस्पताल ल्याइएको थियो। अस्पतालको आइसोलेसन वार्डमा उपचारत रहे पनि उनमा कोरोनाको यतिका दिनसम्म कुनै आभाष देखिएन। 

‘कोरोना रोगको भन्दा पनि आइसोलेसनमा एक्लै भएकाले दिन कटाउन गाह्रो भो,’ उनले भनिन् ‘परिस्थिति खराब भए पनि मनस्थिति बलियो बनाए कोरोनालाई जित्न सकिने रहेछ।’

आइसोलेसनमा उपचारका क्रममा केहि दिन बसे पछि प्रेसर केही बढेकाले औषधि चलाइएको थियो। बीचमा दात र कान दुख्ने समस्या देखिए पनि अहिले सबै ठिकठाक रहेको उनले सुनाइन्।

कोरोना लागेर विभिन्न देशमा दैनिक मान्छे मरिरहेको एफएम रेडियो, परिवार र आफन्तबाट जानकारी हुँदा मनमा केही डर उत्पन्न भए पनि मर्छु भन्ने कहिल्यै नलागेको उनको भनाइ छ। ‘किनकिन मलाई केही हुँदैन भन्ने लाग्थ्यो, यसलाई जितेरै छोड्छु भन्ने सोच आउँथ्यो’, उनी भन्छिन् ‘यदि कोरोना लागेको छ भने मन बलियो बनाउनुस्, खानपानमा ख्याल गर्नुस्, तातोपानी बढी पिउनुस्।’ कोरोनासँग लड्न उच्च मनोबलसहित दिनमा पाँच लिटरसम्म उमालेको पानी पिउने गरेको उनको अनुभव छ। 

आइसोलेसनमा रहँदा दैनिक बिहान, बेलुका दूध पिउने, नियमित खाना, खाजा खाने गरेको उनको भनाइ छ। खाना, खाजाको व्यवस्था धौलागिरी अस्पतालले निशुल्क उपलब्ध गराएको थियो। खाना, खाजा लिएर नर्स आउने, अवस्था सोधपुछ गर्नु नियमित दैनिकी थियो। 

चिकित्सकहरु भने बेलाबेला आउने र धेरै फोन गरेर सञ्चो बिसञ्चो सोध्ने गरेको उनको भनाइ छ। आफू ठिक भएर घर जाने भए पछि उत्साहित बनेकी उनले कोरोना लाग्यो भनेर सबै टाढिदा पनि साथ दिने स्वास्थ्यकर्मी, चिकित्सक आफ्ना लागि भगवान बनेर सेवा गरेको बताउँछिन्। 

गत चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै बागलुङ आएकी उनलाई चैत १७ गते कोरोना संक्रमण भएको पुष्टी भएको थियो। उनी भन्दा अघि जिल्लामा पहिलो र नेपालमा पाँचौ संक्रमण देखिएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया युवती भने अझै निको भएकी छैनन्। यसले बरु मनमा पिरलो थपिएको उनको भनाइ छ।

 ‘बेल्जियमदेखि काठमाडौं, पोखरा हुँदै बागलुङसम्मै हामी सँगै आएका हाँै, उनी त झन् तरुनी। छिटो निको होला भन्ने सोचेकी थिएँ,’ उनले भनिन्,‘तर अहिलेसम्म अवस्था सामान्य भए पनि निको हुने संकेत नदेखिएको सुन्दा दुःख लागेको छ, ती नानी पनि निको भए म अझ बढी खुशी हुने थिएँ।’ 
एकै अस्पतालमा उपचाररत १९ वर्षीया युवतीको चौथो स्वाब परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ। ६५ वर्षीया महिलाको भने पहिलो र दोस्रो पोजिटिभ आए पनि तेस्रो र चौथो रिपोर्ट भने नेगेटिभ आएको थियो। 

कोरोना संक्रमित निको भए पछि चिकित्सक, स्वास्थ्यकर्मी उत्साहित
धौलागिरी अञ्चल अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ बर्षीया महिला निको भएपछि स्वास्थ्यकर्मी पनि उत्साहित देखिएका छन्। कोरोनाको चौतर्फी सन्त्रास र भय बढिरहेका बेला जिल्लामा कोरोना संक्रमित देखिन साथ अस्पतालमा ल्याउन र उपचार गर्न कठिन मानेका चिकित्सक र स्वास्थ्यकर्मी अहिले उत्साहित देखिएका हुन्। 

निकै जोखिम मोलेर उपचार सेवामा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी वृद्धा आमा निको भएको सूचनापछि कार्यक्षेत्रमा थप उत्साहित बनेर लागेको धौलागिरी अञ्चल अस्पतालका प्रमुख डा.शैलेन्द्र बि पोखरेलले बताए। 

धौलागिरी अस्पताल शुरुमा कोरोना संक्रमित बिरामीको उपचार गर्ने सवालमा केही हिच्किचाहट देखिएको थियो। जसका कारण स्थानीय प्रहरी प्रशासन र धौलागिरी अस्पतालका बीचमा त्यस समय केही दुरी समेत बढेको थियो। सुरक्षित सेवाका सामग्री, पूर्वाधार, उपकरण र जनशक्ति अभावका कारणले शुरुमा उपचारमा केहि समस्या भए पनि अहिले भेन्टिेलटरदेखि आइसीयूको काम समेत अघि बढेकाले अब कोरोना संक्रमितको उपचारमा कुनै समस्या नहुने डा.पोखरेलले बताए।

दम र प्रेसरको समस्या भए पनि ६५ वर्षीया महिलाले उच्च मनोबल र खानपानका कारण कोरोनालाई सजिलै जितेर घर फर्किन लागेको डा.पोखरेलले बताए। अस्पतालबाट डिस्चार्ज गरिए पनि उनलाई केही समय घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरिएको अस्पतालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.