पैदल आएका ५८ मजदुरको र्यापिड परीक्षण
बागलुङ : विभिन्न स्थानबाट घर जानका लागि पैदल यात्रामार्फत जिल्ला प्रवेश गरेका ५८ जना मजदुरको कोरोना भाइरस (कोभिड १९) को द्रुत परीक्षण (र्यापिड डाइगोनोस्टिक टेष्ट) गरिएको छ । देशमा जारी लकडाउनका कारण अलपत्र परेका विभिन्न जिल्लामा सञ्चालित योजना आयोजनामा काम गर्दै आएका मजदुरको आइतबार र्यापिड टेस्ट गरिएको हो ।
टेष्ट गरिएका सबैको आरडिटी रिपोर्ट नेगेटिभ आएको बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खानाले जानकारी दिए । पोखरा लगायत जिल्लाकै ग्रामीण क्षेत्रबाट घर जान पैदल आएका मजदुरहरु रोल्पा, रुकुम, मुस्ताङ, ओखलढुङ्गा लगायतका छन् । उनीहरुलाई अहिले सदरमुकाम स्थित आश्रय स्थल र बागलुङ नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई बागलुङ नगरपालिकाले बस्ने खानेको व्यवस्था गरेको छ । पोखराबाट १५ घण्टा लगातार पैदल हिँडेर बागलुङ आइपुगेको रोल्पाका प्रेम बुढाले बताए ।
लकडाउन अनिश्चित र रोजीरोटीको समस्या चरम बन्न थालेपछि पैदल हिँडेका रोल्पा, रुकुमका मजदुरहरुलाई जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय बागलुङको समन्वयमा गृह जिल्लाको सिमानासम्म पुर्याउने तयारी भइरहेको बागलुङका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !