दोलखामा अलपत्र १ सय ५८ मजदुर घर पठाइयो
दोलखा : लकडाउनको कारण काम, माम र दाम नपाएर दोलखाको विभिन्न स्थानमा अलपत्र परेका मजदुरलाई बस चढाएर घर पठाइएको छ ।
भीमेश्वर नगर आसपासमा रहेका तथा जिल्लाका विभिन्न स्थानबाट हिँडेर सदरमुकाम चरिकोट आइपुगेर अलपत्र परेका १ सय ५८ मजदुरलाई सोमबार रोल्वालिङ यातायातको बस चढाएर घर पठाइएको हो ।
लकडाउनको कारण सदरमुकाम आसपासमा अलपत्र परेकालाई भीमेश्वर नगरपालिकाको अगुवाइमा बस चढाएर घर पठाइएको हो ।
जिल्लाको विभिन्न स्थानमा निजी आवास तथा विद्यालय पुर्ननिर्माणको काम गरिरहेका मजदुरहरुलाई घर पठाउने व्यवस्था मिलाइएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । हप्तौँसम्म हिँडेर जाँदा खेप्नु पर्ने दुखले राज्यविहीनताको प्रश्न उठ्न सक्ने भएकोले घर जान चाहने मजदुरहरुलाई संकलन गरेर पठाइएको प्रजिअ शर्माले जनाए ।
गौरीशंकर गाउँपालिका–८, खारेबाट १२ घण्टा हिँडेर चरिकोट आइपुगेका बर्दिया राजापुरका सुरेश थारुले बस चढेर घर जान पाएकोमा सबै सरहरुलाई धन्यवाद भने । करिब १५ दिन लागे पनि हिँडेरै जाने आँटेर सदरमुकाम चरिकोट आइपुगेका बर्दिया राजापुरका मसिराम थारुले भने, ‘बस चढेर जान पाइयो, दोलखालाई धन्यवाद ।’
प्रतिक्रिया दिनुहोस !