लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : साढे चार हजार विदेशी घर फर्किए

लकडाउनमा ३३ अन्तर्राष्ट्रिय उडान : साढे चार हजार विदेशी घर फर्किए

काठमाडौं : देशभर लकडाउन गरिएको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको अवस्थामा मुलुकको एक मात्र  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिकजसो अन्तर्राष्ट्रिय उडान भएका छन्। 

विश्वलाई सम्पर्क सञ्जालका रूपमा जोड्ने अन्तर्राष्ट्रिय विमानस्थलबाट लकडाउनको अवधिमा ३३ अन्तर्राष्ट्रिय उडान भएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विसं २०७६ चैत १० देखि २०७७ वैशाख १२ गतेसम्म विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले ३३ अन्तर्राष्ट्रिय उडान गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। यी सबै उडान चार्टर्ड र केही कार्गो उडान हुन्। 

प्रवक्ता क्षेत्रीका अनुसार लकडाउनको अवधिमा वैशाख ८ गतेसम्म चार हजार ५३२ विदेशी नागरिक स्वदेश फर्किएका छन्। शुक्रबार मात्रै श्रीलङ्काले आफ्नो श्रीलङ्कन एयरको चार्टर्ड जहाजमार्फत नेपालमा रहेका ७६ विद्यार्थी स्वदेश लगेको थियो। यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको नौ, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को (चार कार्गो र चार उद्धार उडानसहित) आठ, टीटान एयरको तीन, श्री एयरलाइन्सको (सुडान र सिङ्गापुर कार्गो उडान) दुई, बुद्ध एयरको एक र कोरियन एयरको दुई उडान भए। त्यसैगरी भूटानको ड्रक एयर, श्रीलङ्कन, मलेशिया, मालिन्दो, इत्तिहाद, चेक रिपब्लिकन, रोयल फ्लाइट एयर र जर्नी एयरलाइन्सको समान एक–एक उडान भएका छन्। 

यसबीचमा विशेषगरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजील्याण्डलगायतका  मलेसिया, श्रीलङ्का, माल्दिभ्स, रुस, चेक रिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन्। नेपाल पर्यटन बोर्डले सरोकारवाला निकायसँगको समन्वयमा उनीहरुलाई नेपालका विभिन्न गन्तव्यबाट उद्धार गरी काठमाडौँ ल्याउन सहजीकरण गरेको थियो। सम्बन्धित मुलुकका नेपालस्थित दूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आफ्ना नागरिकलाई चार्टर्ड उडान गरी स्वदेश लगेका हुन्।
 
लकडाउनको अवधिमा राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी जहाजले उड्डयन इतिहासकै लामो उडान अष्ट्रेलियाको ब्रेश्वन शहरमा गत चैत १९ गते चार्टर्ड उडान भरेको थियो। त्यस्तै चैत २८ गते जापानको नारितामा उडान भरेको थियो। भारतको नयाँदिल्ली र बङ्गलादेशको ढाकामा पनि निगमको न्यारोबडी जहाजले उडान भरेको थियो। चीनको ग्वाङ्जाओमा निगमका वाइडबडी जहाजले चार कार्गो उडान गरेको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। आन्तरिकतर्फ पनि लकडाउनको अवधिमा उल्लेख्य सङ्ख्यामा कार्गो र उद्धार उडान भएका छन्।  आन्तरिकमा १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायकले उडान गर्छन्।  कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा कोभिडको सङ्क्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ। पछिल्लोपटक वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको थियो। वैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान स्थगन गरिएको छ। आन्तरिक उडान पनि स्थगन भएका छन्।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले चैत १० देखि लागू हुने गरी चैत ९ गते नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाएको थियो। समितिले पछिल्लोपटक वैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.