स्वास्थ्य सामाग्री पुर्याएर फर्किए मुख्यमन्त्री
भोजपुर : एक युवकमा कोरोना भाइर (कोभिड-१९) संक्रमण भेटिएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई गृहजिल्ला आएका छन्। कोरोना संक्रमण भेटिएको हतुवागढी गाउँपालिकाको घोरेटारमा मुख्यमन्त्री राई स्वास्थ्य सामाग्री लिएर गृहजिल्ला पुगेका हुन्।
संक्रमणको जोखिमलाई विशेष ध्यानमा राखेर कोरोना परीक्षणका लागि अत्यावश्यक १० थान पीपीई, ४ थान ज्वरो नाप्ने थर्मल गनलगायतका स्वास्थ्य उपकरण लिएर नेपाली सेनाको हेलिकप्टरबाट मुख्यमन्त्रीसहितको टोली शनिबार घोरेटार पुगेको थियो।
गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीँसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले कोरोनाविरुद्ध प्रदेश सरकार लागीपरेको बताए। उनले नआत्तिई आफ्नो ठाउँबाट जिम्मेवारी पुरा गर्न अनुरोध गरे।
मुख्यमन्त्री राईले संक्रमण भेटिएपछि उक्त गाउँपालिका र जिल्लाको पछिल्लो अवस्था बारे जानकारी लिए। उनले स्थानीयलाई लकडाउनको पूर्ण पालना गरेर घरभित्रै सुरक्षित रुपमा बस्न आग्रह पनि गरे।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीलगायत सुरक्षा निकायको टोलीसहित गृहजिल्ला पुगेका मुख्यमन्त्री राई शनिबार नै उदयपुर पुगेका थिए।
प्रतिक्रिया दिनुहोस !